१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

खुसी हुने सुत्र आफैसँग हुन्छ–खम्ट्रोल रिम्पोचे


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

‘मान्छेको जीवन धेरै महत्वपूर्ण छ । यो जीवनमा कसैको कुभलो चिताउनु हुन्न । सकिन्छ, सहयोग गरौं, नसके पनि बाधा नपु¥याउँ’ ग्यल्वाङ दोखाम्पा खाम्ट्रोल रिम्पोचेको प्रवचन हो यो । न्युयोर्क आइपुगेका बेला रिम्पोचेले जीवनबारे यसरी व्याख्या गरेका हुन् ।

नेपाली, तिब्बती र अंग्रेजी भाषाको माध्यमबाट प्रवचन दिदैं रिम्पोचेले चार आर्य सत्यलाई पनि विशेष व्याख्या गरेका थिए । जीवनमा आफूलाई आइपर्ने दुःख आफैले निम्त्याएको हुनाले आफैले निम्ताएको दुःखकष्ट समाधान स्वयंले गर्न सकिने रिम्पोचेको भनाइ रहेको छ । बौद्ध दर्शनको उच्च अध्ययन गरेका रिम्पोचेको प्रवचनले न्युयोर्कमा रहेका विभिन्न हिमाली समुदायलगायत अन्य समुदायले जीवनलाई नजिकबाट चिन्ने र बुझ्ने मौका पाए ।
हिमालयन कम्युनिटीको र लिभ टु लभ इन्टरनेसन नामक संस्थाको निमन्त्रणमा न्युयोर्क आइपुगेका रिम्पोचे भूकम्पले क्षतिग्रस्त जिल्ला सिन्धुपाल्चोकको बस्तीबस्ती पुगेका थिए । रिम्पोचेको नेतृत्वमा भएको शान्ति पदयात्रामा जिल्लाका भूकम्पपीडितलाई उत्साह प्रदान गर्ने कार्य गरिएको थियो । मानव जीवनलाई सही मार्गमा डो¥याउने महत्वपूर्ण प्रवचनसँगै सामाजिक र वातवारण संरक्षणको कार्यबाट चिनिएका रिम्पोचेसँग एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले उनको धार्मिक यात्रा र समाजसेवाबारे कुराकानी गरेका थिए । यसै कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।

न्युयोर्कमा के कार्यक्रमको सिलसिलामा आउनुभयो ?

न्युयोर्कमा धेरै हिमालय बुद्धिष्ट समुदाय भएको मैले थाहा पाएँ । धेरै समुदायलाई म राम्ररी चिन्दछु । उहाँहरुले मलाई न्युयोर्कमा बौद्ध धर्मसम्बन्धी प्रवचनको लागि निम्तो दिनुभएको थियो । त्यसैले यहाँसम्म आइपुगें ।

बौद्धधर्म दर्शनको अध्ययनमा कहिलेबाट सुरु गर्नुभयो ?

पाँच वर्षको उमेरमा दर्जिलिङको गुम्बाबाट धार्मिक शिक्षामा प्रवेश गरेको हुँ । त्यसपछि विभिन्न गुम्बाहरुको महत्वपूर्ण बौद्ध शिक्षा लिदैं यहाँसम्म आइपुगेको छु ।

बौद्ध धर्म शान्तिको मार्ग भनिन्छ, आज मानिसहरु शान्तिका लागि भौतारिरहेका छन्, वास्तविक सुखशान्ति कसरी मिल्छ, बताइदिनुहोस न ?

मान्छेसँग पैसा भएपनि, ज्ञान भएपनि, मनमा शान्ति छैन भने कहिल्यै सुखी हुदैन । मनमा शान्ति छैन भने तपाई न्युयोर्कमा होस या काठमाडौंमा, जहाँ पुगेपनि जीवन सुखी हुदैन । त्यसैले सबैभन्दा पहिला मनमा शान्ति हुनुपर्छ । मनभित्र शान्ति भएमा मात्र सबैतिर सुख प्राप्त हुन्छ । त्यस्तै हामीले भित्र र बाहिर शान्ति ल्याउने कोसिस गर्नुपर्छ । यो संसारमा मान्छेले पाइने सुख र दुःख पनि आफ्नै कारणले हुने भएकोले जहिले ख्याल गर्नुपर्छ । तपाईंको मन आफैले बुझ्न सकेन भने अरु मान्छेले तपाईको मन बुझेर खुसी बनाउन सक्दैन । अरुले क्षणिक रुपमा खुुसी बनाएपनि वास्तविक खुसी आफैले बनाउनुपर्छ ।

हालै भूकम्पले क्षतिग्रस्त क्षेत्रमा शान्ति पदयात्रा गर्नुभएको थियो, कस्तो रह्यो यात्रा ?

नेपालमा भूकम्प गएको सुन्ने वित्तिकै हामी काठमाडौंमा रहेको हाम्रो गुम्बामा गयौं । त्यहाँ गएर हामीले हाम्रो गुम्बामार्फत भूकम्पमा परी निधन भएकाहरुको नाममा पूजा ग¥यौ । भारत, भुटानसँगै यसपटकको पदयात्राको क्रममा हामी सिन्धुपाल्चोकमा पुग्यौ । धेरैजसो गाउँमा गएर हामीले ‘लिभ टु लभ’ नामक संस्थामार्फत आर्थिक सहयोग ग¥यो । औषधी र खानेकुरा पनि वितरण गरियो । सिन्धुपाल्चोकको पदयात्रामा जाँदा भूकम्पमा परी परिवारजन र सम्पत्ति गुमाएकाहरुसँगै बस्ने मौका मिल्यो । उहाँहरुको वास्तविक पीडा बुझ्ने अवसर मिल्यो । सबैले भूकम्पपीडितलाई सहयोग गर्नुपर्ने देखियो ।

तपाईहरुको पदयात्रा खस के–का लागि थियो, ती ठाउँका मानिसहरुले के पाए र के पाउनेछन् ?

भूकम्पमा परिवारजन गुमाएकाहरुको एक किसिमको तनाव हुन्छ । उनीहरुको मनमा उत्साह भरेमा तनावबाट मुक्ति पाइन्छ । हाम्रो एउटा उद्देश्य यो तनावबाट मुक्ति दिनु थियो । अर्को उद्देश्य मृतकको नाममा पूजा गर्नु थियो । यी दुबै उद्देश्य पुरा भयो । हाम्रो यात्रा यो सँगै यस भेगको अध्ययन गर्नुथियो । हामीले यात्रामा दुःखहरु देख्यौ । अबका दिनमा ती क्षेत्रहरुमा हामी सहयोगका लागि सक्दो पहल गर्नेछौं ।

तपाईंको अबको योजना सुनाइदिनुस न ?

अबको हाम्रो योजना भनेको वातवारण संरक्षण गर्ने हो । यसअघि हामीले भारतमा प्लास्टिकको कारणले वातवारणमा परेको प्रभावलाई मध्यनजर राखेर प्लास्टिक हटाउन अभियानमा लाग्यौ । अब हाम्रो अभियान मानव जीवनमा पानीको आवश्यता छ । हिमालय क्षेत्रमा भइरहेको जल सफाई र संरक्षणको लागि विभिन्न योजनाहरु बनिरहेको छ । त्यसैमा हामी काम गर्दैछौ । भूकम्पले क्षतिग्रस्ट लाङटाङमा अर्को वर्ष जाने योजना बनाएका छौं । त्यस्तै वाग्मती सफाइका लागि कार्यक्रम सञ्चालन गर्ने योजनाबारे पनि छलफल हुदैछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ६ : ५८ बजे