६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

दालमा कालो देखिएकै हो ?


५ पुस २०७४, बुधबार  

0
Shares

– ङिमा पाख्रिन

न्युयोर्क – संसारभर छरिएका तामाङहरु आ–आफ्नो ठाउँमा संगठित हुनु खुशीको कुरा हो । न्युयोर्कमा पनि तामाङ सोसाईटी अफ अमेरिकाको शाखा गठन सूचनाले जति खुशीको सन्देश बाँडेको छ, उत्तिकै दुःख र सन्देह पनि प्रवाह गरेको छ । तामाङ सोसाईटी अफ अमेरिकाको सामाजिक सञ्जाल फेसबुकको आधिकारिक पेजमा प्रेषित सूचनाले यस्तो स्थिति पैदा गरेको हो । उक्त सुचना यतिबेला ‘विधी र प्रक्रिया पुराईएन भने राम्रो कामको पनि नकारात्मक टिप्पणी र सन्देश जान्छ’ भन्ने भनाईको अब्बल उदाहरण बनेको छ ।

यही डिसेम्बर २४ तारिखमा क्विन्सस्थित शेर्पा किदुगको सभाहलमा शाखा गठन गर्न लागेको जनाउँदै सोसाइटीको फेसबुक पेजमा सूचना राखेको छ भने सोसाईटीका पुर्व महासचिव बुध्दिमान तामाङको नेतृत्वमा तीन सदस्यीय एक निर्वाचन समिती समेत गठन गरेको अवस्था छ । यसरी निर्वाचन समिति बनाउनका लागि तामाङ सोसाइटी अफ अमेरिकाको विधानमा कुनै पनि प्रावधान तोकिएको देखिदैन । विधान नै संसोधन नगरी निर्वाचन समिति बनाईएकोमा न्युयोर्कका तामाङ समुदाय सशंकित बन्नुपर्ने अवस्था छ ।

सबैलाइै विदितै छ, तामाङ सोसाईटी अफ अमेरिकाको थप एक शाखाको रुपमा न्युयोर्कमा पनि शाखा गठन गर्न लागिएको हो । यसअघि कनेक्टिकेट, लस एन्जल्स, टेक्सास लगायत राज्यहरुमा गठन भैसकेका छन् । अरु राज्यहरुमा भन्दा न्युयोर्कमा फरक प्रक्रिया अपनाउन खोजिनुको भित्री कुरा अहिले तत्काल प्रकटमा नआएपनि कालान्तरमा ‘पानी माथि आफै तैरिने’ कुरामा संभवत: दुईमत हुने छैन । तर, त्यतिञ्जेलसम्म संस्थाभित्र भने अवैधानिक एवं गैरप्रजातान्त्रिक संस्कारको विजारोपण भैसकेको हुनेछ र त्यस्तो प्रवृत्ति तामाङ समाजको भावनात्मक एकतामा बाधक बन्नेछ ।

तामाङ सोसाईटी अफ अमेरिकाको बिधानमा शाखा गठन गर्नेबारे केहि उल्लेख छैन । यसरी शाखाहरु गठन गर्दा सोसाईटीको बिधानमा संसोधन अनिवार्य हुन जान्छ । यही मत राख्नुहुन्छ सोसाइटीका संस्थापक अध्यक्ष सुवास लामा र पुर्व अध्यक्ष एवं संस्थापक महासचिव राम तामाङ । संस्थाको मुल कानून भनेको विधान नै हो । विधानको कुनैपनि धारामा नटेकीकन हुने जस्तोसुकै गतिबिधि स्वत: गैरकानूनी ठहरिन्छ । हामी पक्कै पनि ढुंगे युगमा छैनौं र अमेरिका जस्तो विकसित र अग्रगामी मुलुकमा बस्ने हामी तामाङहरुले गर्ने यस्ता कार्य बाँकी दुनियाँकै लागि पनि हाँस्यास्पद हुनुहुँदैन ।

तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत बर्ष जनवरीमा सम्पन्न उत्तर अमेरिकी तामाङ सम्मेलन तयारी सभाबाट पारित बुँदा अनुसार बिभिन्न राज्यमा तामाङ संगठनहरु स्थापना गर्न पहल भएको सोसाईटीका अध्यक्ष एवं उत्तर अमेरिकी तामाङ सम्मेलन आयोजक तदर्थ समितीको संयोजक शान्त थोकर बताउनु हुन्छ । उत्तर अमेरिकी तामाङ सम्मेलनको तयारी सभाबाट पारित निर्णय बुँदा २ मा तामाङ सोसाईटी अफ अमेरिकाले तत्काल न्युयोर्क लगायत बिभिन्न राज्यहरूमा च्याप्टरहरु गठन गर्ने र संगठन स्थापना भईसकेका राज्यहरुको स्थानीय संस्थाको नाम परिवर्तनको लागि गृहकार्य गरिने भन्ने समेत उल्लेख गरिएको छ । बिधीपुर्वक च्याप्टरको गठन गर्न तामाङ सोसाईटी अफ अमेरिकाको बिधान संसोधन नभइसकेको अवस्था भएकाले तत्काल दुईवटा मात्रै विकल्पमा जानुपर्ने देखिन्छ– बिधान संशोधन गरेर या तदर्थ समिती गठन गरेर ।

अहिले यी दुबै प्रक्रिया विपरित निर्वाचन समिति बनाएर निर्वाचनको सुचना समेत जारी गरिएको छ । उक्त निर्वाचन समिती बिधी सम्मत नभएको सोसाईटीका पुर्व अध्यक्ष भरत लामा र पुर्व उपाध्यक्ष फुर्वा घिसिङको पनि भनाई छ । उत्तर अमेरिकी तामाङ सम्मेलन आयोजक तदर्थ समितीका सदस्य–सचिव लक्यान लामा भने न्युयोर्क लगायत बिभिन्न राज्यमा हुने च्याप्टरको गठन उत्तर अमेरिकी तामाङ सम्मेलनको मर्मसँग गाँसिएको हुनाले आपसी समझदारीमा सम्पन्न गरी सम्मेलनबाट मार्ग प्रशस्त गर्नु पर्नेमा जोड दिनुहुन्छ । अरु राज्यमा गठन गरेको भन्दा फरक तरिकाले न्युयोर्कमा शाखा बनाउन गरिएको निर्वाचन कमिटीको गठन प्रकृया नै बैधानिक नदेखिएको युवा पुस्ताका दिपेन्द्र लामाको पनि दावी छ । अहिले अध्यक्षका प्रत्यासी बनेका प्रेम थोकर र छेवाङ तामाङले पनि यतातिर ध्यान दिनुपर्ने देखिन्छ ।

यसको अलिकति पृष्ठभुमिमा जान चाहन्छु । निर्वाचन समितिको सुचना प्रवाह हुनुभन्दा अघिल्लो दिन प्रमुख निर्वाचन आयुक्त बुध्दीमान तामाङसँग पंक्तीकारको छलफल भएको थियो । उहाँले प्रष्टरुपमा भन्नुभएको थियो– ‘कि विधान संसोधन हुनुपर्छ, कि तदर्थ समिति बनाएर अघि बढ्नुपर्छ ।’ तर, एकाएक कसरी निर्वाचन सम्बन्धी सूचना प्रवाह भयो ? र कुन चाहिँ अदृष्य कारणले विधान कुल्चेर अघि बढ्ने स्थिति पैदा गरायो ? सबैभन्दा गम्भीर प्रश्न यहीं हो ।

हुन सक्छ, कसैको मनसायमा कुनै खराबी नहोला । तर, विधी र प्रक्रिया पुराईएन भने राम्रो काममा पनि शंका पैदा हुन्छ । तामाङ सोसाइटी अफ अमेरिकाको न्युयोर्क शाखा गठनमा यतिबेला ‘जरुर दालमे कुछ काला है’ को स्थिति भने पैदा भएको छ । के साँच्चिकै दालमा कालो देखिएकै हो ? न्युयोर्कका तामाङ समुदायबिच खुल्ला डिस्कोर्स हुनु जरुरी छ । बिधीसम्मत प्रकृयाको परम्परा बसाल्दा असल ईतिहास निर्माण हुन्छ । किनकी तामाङ सोसाइटी अफ अमेरिका हामी सबैको साझा संस्था हो ।

स्मरण रहोस्– ‘हाम्रा साना दुःखले आर्ज्याको संस्था हैन, सबैलाई चेतना भया ।

प्रकाशित मिति : ५ पुस २०७४, बुधबार  ५ : १४ बजे