१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

गिरी र नेपाललाई वाशु शशी पुरस्कार: शर्मा र जोशीलाई सम्मान


१४ चैत्र २०७४, बुधबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

वासु शशी स्मृति परिषद्ले चार जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। परिषद्ले आज काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक कार्यक्रम गरी वरिष्ठ कवि एवं आख्यानकार कृष्ण जोशीलाई “वासु शशी साहित्य सम्मान–२०७३” र वरिष्ठ साहित्यकार रमा शर्मालाई “वासु शशी साहित्य सम्मान–२०७४” प्रदान गरेको हो।

यसैगरी कवि एवं आख्यानकार गोविन्द गिरी प्रेरणालाई “वासु शशी साहित्य पुरस्कार–२०७३” र साहित्यकार डा. सैलेन्दुप्रकाश नेपाललाई “वासु शशी साहित्य सम्मान–२०७४” प्रदान गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले पुरस्कार हस्तान्तरण गरेका हुन्। सम्मान र पुरस्कारको राशी १५ हजार रहेको छ।

वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८२ औं जन्मजयन्तीको अवसर पारी सम्मान तथा पुरस्कार प्रदान गरेको परिषदका सचिव प्रद्युम्न जोशीले जानकारी दिए। वरिष्ठ साहित्यकार यादव खरेलले वासु शशीबारे मन्तव्य राखेका थिए। त्यसैगरी सम्मानितको तर्फबाट रमा शर्मा र डा सैलेन्दुप्रकाश नेपाल आफ्नो धारणा राखे। सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा २०१० मा वसु शशीले रचना गरेको कविता रमा शर्माले सुनाएकी थिइन्।

जोशीका उपन्यास ‘मृत्यु दोहोरिन्छ म बाँचे भने(२०१९), सार्वजनिक प्रशासन आधुनिक अध्ययन (२०३६), विसङ्गत स्वरहरू (गीति–कवितासङ्ग्रह–२०३६), असम्मत सम्मत (उपन्यास–२०५१), पोखरी भित्रको शताव्दी (कवितासङ्ग्रह–२०५१), काठमाडौं वरिपरि (उपन्यास–२०५६), आगो समुन्द्रः पानी समुन्द्र (कवितासङ्ग्रह–२०५८), चित्रदंश (कवितासङ्ग्रह–२०५४) ज्यामीपत्नीको घोषणा (कवितासङ्ग्रह–२०६९) इभिनिङ ड्युटि (कवितासङ्ग्रह–२०७४), एक दर्जन सम्पादन सहित झण्डै दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन्।

यसैगरी साहित्यकार शर्माले नेपाली भाषा साहित्यको क्षेत्रमा विगत पाँच दशकदेखि निरन्तर योगदान दिंद आएकी छन्। शर्माका महेन्द्रमाला (भाग–२, २०२९), केही चिन्तन (समालोचनासङ्ग्रह–२०४८), मोतीराम परिक्रमा (२०५०), भावनाका थुँगाहरू (२०६२) र झण्डै डेढ दर्जन साहित्यिक कृति सम्पादन सहित प्रकाशित छन्।

कवि प्रेरणा विगत चार दशकदेखि अनवरत रुपले नेपाली भाषा साहित्यक्षेत्रमा निरन्तर योगदान दिंदै आएका छन्। उनका उपन्यास सुतेको समुन्द्र–(कथा सङ्ग्रह–२०३४), अन्तराल्र–(कथा सङ्ग्रह–२०४६), उत्खनन (उपन्यास–२०४६), स्वप्नकथा जारी छ (कवितासङ्ग्रह–२०४९), पाखण्डपर्व–(उपन्यास–२०५०), अचानक एक दिन (कवितासङ्ग्रह–२०५३), फेरो (यात्रा संस्मरण–२०५३), अन्तिम खाडल (उपन्यास–२०५३), मात्र एक रात (कवितासङ्ग्रह–२०५३), यात्रा अनन्त (यात्रासंस्मरण–२०५५), पाउली बुलु (निबन्धसग्रह–२०६०), गुडबाई अमेरिका(यात्रासंस्मरण–२०६२¬, गन्तव्य गणबहाल (कथासङग्रह–२०७३) र एक दर्जन सम्पादन सहित झण्डै साढे दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन्। प्रेरणा भने अमेरिकामा रहेका कारण कार्यक्रममा उपस्थित भएनन्।

साहित्यकार नेपाल विगत चार दशकदेखि अनवरत रुपले नेपाली भाषा साहित्यक्षेत्रमा निरन्तर योगदान दिंदै आएका छन्। उनका प्रेमपुजा (गीति काव्य–२०२९), नमिता–सुनिता (गीति काव्य–२०४३), कल्पनाकुसुम (खण्डकाव्य–२०४४), विन्देश्वरी –खण्डकाव्य २०४१), कामना (उपन्यास–२०४१), वेदना बोल्छ (लामो कविता–२०४२), दिग्बोध (खण्डकाव्य–२०४३), जुनू (महाकाव्य–२०४८), झुल्केघाम (बालगीत–२०४९), जानकी विरह (खण्डकाव्य–२०५३), अनामिका (महाकाव्य–२०६०), अनुसन्धान र सम्पादन सहित झण्डै दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन्। कार्यक्रम परिषद्का अध्यक्ष रसिकको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार  ८ : १९ बजे