१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अमेरिकामा बन्दुक आतंक गम्भीर चुनौती


२० चैत्र २०७४, मंगलबार  

0
Shares

बीके नेवा

गएको फेब्रुअरी १५ मा अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा भएको गोलीकाण्डमा शिक्षक र विद्यार्थी गरी १७ जना मारिएपछि बन्दुुक नियन्त्रण गर्नुपर्ने आवाज फेरि चर्कोरुपमा उठेको छ । राजधानी वासिङ्टन डीसीलगायत आठ सय स्थानमा लाखौँको सङ्ख्यामा विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै बन्दुक नियन्त्रण गर्न माग गरेका छन् । यो घटनापछि ट्रम्प प्रशासनले बन्दुकमा प्रयोग गरिने बम्प स्टक(एक प्रकारको अत्याधुनिक उपकरण)लाई अवैधानिक घोषणा गरेको छ । स्वचालित बन्दुकमा प्रयोग गरिने त्यस्तो उपकरण अर्ध स्वचालित बन्दुकमा जडान गरेपछि धेरै गोली भण्डारण गर्न मिल्नुका साथै त्यसबाट मिनेटमै सयौँ राउन्ड फायर गर्न सकिन्छ । सेमी असल्ट राइफलहरुमा प्रयोग गरिने यस्ता बम्प स्टकका कारण अमेरिकामा सामूहिक गोलाबारी हुने गरेको छ । गत वर्ष लस भेगासमा यस्तै उपकरण जडित राइफल प्रयोग गरेर सामूहिक गोलाबारी भएको थियो जसमा ६० जनाको ज्यान गएको थियो ।

 

लेखक

अमेरिकाको क्यालिफोर्नियास्थित एक सामाजिक गृहमा दुई वर्षअघि स्थानीय मुसलमान दम्पतीले अन्धाधुन्ध गोली प्रहार गरी १४ जनाको हत्या गर्नुका साथै २१ जनालाई घाइते बनाएको घटना पछाडिको रहस्योद्घाटन सँगसँगै अमेरिकाभर ठूलो आतंक छायो । हत्याकाण्डमा संलग्न दम्पती इस्लामिक उग्रवादी समूह आईएस स्टेटका अनुयायी भएको खुलासा भएको छ । सो हत्याकाण्डलगत्तै उनीहरु प्रहरीको कारबाहीमा मारिएका छन् । आईएस स्टेटले आफ्नो आग्रहमा अमेरिकामा आक्रमण गरेको भन्दै दुवैजना आफ्ना सहिद भएको दावी गरेको छ । उसको यो दावीबारे अनुसन्धान गरिरहेको अमेरिकी सङ्घीय जाँच व्युरो एफबीआईले दुवैजना इस्लामिक उग्रवादी विचारबाट प्रभावित भई सो आक्रमण गरेको प्रमाण फेला परेको बताएको छ ।

सो हत्याकाण्डबारे कडा टिप्पणी गर्दै तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी भूमिमा आक्रमण गर्ने कुनै पनि संगठनलाई ध्वस्त पारेर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आक्रमणकारी दम्पती इस्लामिक उग्रवादी सोचबाट प्रभावित भएको बताउँदै यस्तो खाले सोचबाट प्रभावित भई आतंकवादी क्रियाकलापमा संलग्न नहुन अमेरिकाबासीलाई आग्रह गर्नुभयो ।

सो घटनालाई लिएर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया हत्याकाण्ड आतंकवादी आक्रमण भएको भन्दै यस्तो आतंकबाट अमेरिकालाई जोगाउन मुसलमानहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने अभिव्यक्ति दिनुभयो । सो घटना हुँदा उहाँ रिपब्लिकन पार्टीकातर्फ राष्ट्रपतिको उम्मेदवार हुनुहुन्थ्यो । उहाँले यो विषयलाई आफ्नो चुनावी मुद्दा बनाउनुभयो । ट्रम्पको यो अभिव्यक्तिले अमेरिकामा बस्ने सम्पूर्ण मुसलमानलाई दुःखी बनायो । उनीहरुले ट्रम्सको यो अभिव्यक्तिले जातीय तथा धार्मिक विभेद र द्वन्द्व बढाउने भन्दै दुःख व्यक्त गरे । यस्तो अभिव्यक्ति मुसलमान समुदायमाथिको अपमान हो भन्दै अमेरिकाका विभिन्न राज्यमा विरोध प्रदर्शनसमेत भए । उता अरब लिगले पनि ट्रम्पको अभिव्यक्तिले विश्वभरका मुसलमानको अपमान गरेको भन्दै खेद व्यक्त गरेको थियो ।

क्यालिफोर्निया गोलीकाण्डमा संलग्न मुसलमान दम्पती २९ वर्षीय शैयद रिजवन फारुक र उनकी २८ वर्षीया पत्नी तसफिन मलिक किन आईएस स्टेटका आतंकवादी गतिविधिप्रति आकर्षित र प्रभावित भए भन्नेबारेमा एफबीआईले थप अनुसन्धान गर्दैछ । अमेरिकामा त्यहाँका नागरिकको आत्मसुरक्षाका लागि बन्दुक राख्न पाउने संवैधानिक अधिकारको व्यवस्था गरिएको छ । यो अधिकारको दुरुपयोग हुँदा बन्दुक नै अहिले सार्वजनिक सुरक्षाका लागि गम्भीर चुनौती बनेको छ । बन्दुकधारीले त्यहाँका स्कुल, व्याम्पस, अस्पताल, सामाजिक संस्थामा बारम्बार अन्धाधुन्ध गोली प्रहार गरी सामूहिक हत्या गर्ने र धेरैलाई घाइते बनाउने क्रम बढ्दै गएको छ । बन्धुकधारीको आक्रमणबाट त्यहाँ वर्सेनि हजारौ निहत्था मानिसको ज्यान जानुका साथै हजारौँ घाइते हुने गरेका छन् ।

बन्दुकको दुरुपयोग रोक्न अमेरिकी सरकारले विभिन्न कदम चाल्दै आए पनि सफलता पाउन सकेको छैन । अठारौँ शताब्दीदेखि नै बन्दुकको दुरुपयोग गरी बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दै सामूहिक हत्या गर्ने क्रम सुरु भएको हो । अमेरिकाका ५० वटै राज्यका बासिन्दा बन्दुक आतंकबाट पीडित छन् । बन्दुक व्यक्तिको हातबाट हटाएर राज्यको नियन्त्रणमा लिनुपर्छ भन्ने बहस हुँदै आएको पनि छ । तर यसले सार्थक रुप लिन सकेको छैन । आत्मसुरक्षाका लागि बन्दुक राख्न पाउनुपर्छ भन्नेहरुको जमात ठूलो छ । एफबीआईका अनुसार त्यहाँ २८ करोड ३० लाख बन्दुक निजी व्यक्तिका हातमा रहेका छन् । निजी व्यक्तिले बन्दुक राख्न पाउने भएकाले वर्सेनि यस्ता बन्दुकको उत्पादन र बिक्रीवितरण पनि उल्लेख्य रुपमा हुने गरेको छ । त्यहाँ बन्दुकको ठूलो आर्थिक कारोबार हुने भएकाले सो कारोबारमा संलग्न व्यक्ति तथा समूह साथै बन्दुकका पारखीका कारण बन्दुक नियन्त्रण गर्ने कार्य त्यहाँ असम्भवजस्तै बनेको छ ।

पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो दुई कार्यकालमा बन्दुक आतंक नियन्त्रण गर्न निकै प्रयास गर्नुभयो । उहाँले संविधानमा संशोधन गरी नयाँ कानुन नै बनाएर बन्दुक नियन्त्रण गर्नुपर्छ भनी संसद्का दुवै सदनमा बहससमेत गराउनुभयो तर सफलता पाउन सक्नुभएन । उहाँले बन्दुक नियन्त्रण गर्न नसक्नु आफ्नो दुई कार्यकालको सबैभन्दा ठूलो असफलता भएको बताउनुभयो । बन्दुकको दुरुपयोग रोक्न पनि नसक्ने र व्यक्तिका हातमा रहेका बन्दुक राज्यले नियन्त्रण गर्न पनि नसक्ने अवस्था विद्यमान रहेकाले बन्दुक व्यवस्थापन अमेरिकी सरकारका लागि सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ ।

अमेरिकाका सबै राज्यमा सर्बत्र सर्वसुलभ ढङ्गले उपलब्ध बन्दुकको दुरुपयोग गरी आफ्नो अभिष्ट पूरा गराउन आतंकवादी तथा अतिवादी समूह यसमा खेल्ने सम्भावना बढेको छ । अन्तर्राष्ट्रिय आतंकवादी सङ्गठन अल कायदाले अमेरिकी नागरिकलाई नै अन्धभक्त बनाई सेप्टेम्बर ११ को आतंकवादी आक्रमण गराएको पृष्ठभूमिमा पछिल्ला दिनमा आईएस स्टेटले क्यालिफोर्नियामा बन्दुकधारी दम्पतीलाई अन्धभक्त बनाएर हत्याकाण्ड गराएको छ । आईएस स्टेटले त्यहाँ बन्दुकधारीलाई आफ्नो अनुयायी बनाएर यस्ताखाले ठूला ठूला आतंकवादी आक्रमण गराउनसक्ने सम्भावना बढेको छ ।

त्यसैले अमेरिका र आम अमेरिकी जनताको सुरक्षाका लागि बन्दुकको सही व्यवस्थापन गरी बन्दुकधारीलाई आतङ्वmवादीको प्रभावमा पर्न नदिन विशेष कदम चाल्नुपर्ने र यसकालागि सबै एकमत हुनुपर्ने बेला आएको छ । बन्दुक आतंक बन्द गर्नका लागि हतियार व्यवस्थापन नै उपयुक्त विकल्प हो ।

बन्दुक आक्रमणबाट सामूहिक रुपमा मारिनेक्रम नरोकिएपछि बम्प स्टकलाई गरिएको अवैधानिक घोषणाले केही हदसम्म काम गर्नसक्छ । तर प्रत्येक नागरिकलाई बन्दुक राख्न पाउने अधिकार दिएसम्म बन्दुक आतंक रोक्न सजिलो छैन ।

विश्वको समृद्ध र महाशक्ति राष्ट्र अमेरिकाका लागि बन्दुक आतंक सुहाउँदो विषय होइन । बन्दुक आतंकले आतंकवाद नियन्त्रण हुन सकेन । अमेरिकामा बसोबास गर्ने प्रत्येक नागरिक बन्दुक आतंकबाट तर्सित छन् । शान्त र सभ्य समाजका लागि बन्दुक आतंक सुहाउने विषय होइन । यसलाई जसरी पनि रोक्नुपर्छ । राष्ट्रपतिको उम्मेदवार बन्दा ट्रम्पले बन्दुक आतंकको पछाडि मुसलमान समुदायकोमात्र हात रहेको अभिव्यक्ति दिँदा उहाँको ठूलो आलोचना भयो । वास्तवमा यो विषय निकै जटिल र गम्भीर छ । जाति र धर्म विशेषलाई आरोपित गर्दा समस्या झन् भयावह हुनसक्छ । त्यसैले बन्दुक आतंकको जड पत्ता लगाउनु आवश्यक छ ।

यो आतंक रोक्ने हो भने निजी व्यक्तिलाई बन्दुक राख्न पाउने संवैधानिक अधिकार हटाउनुपर्छ । यसका लागि संविधान नै संशोधन गर्नुपर्छ । यदि अमेरिकी संसद्ले चाहने हो भने त्यो असम्भव छैन । पूर्व राष्ट्रपति आबोमाले त संविधान संशोधन गर्ने प्रयास गर्नुभयो सफल हुनुभएन किनभने त्यतिबेल संसद् प्रतिपक्षको नियन्त्रणमा थियो । अहिले संसद्को दुवै सदनमा राष्ट्रपति ट्रम्पको बहुमत छ । बन्दुक नियन्त्रण गर्ने विषयमा रिपब्लिकन सिनेटरहरु तयार हुने हो भने डेमोक्रेटिक पार्टीका सिनेटरहरु तयार भइसकेको अवस्था छ । राष्ट्रपति ट्रम्पले यो कदम चाल्नु भयो भने अकालमा बन्दुक आतंकबाट हजारौँ अमेरिकीहरु जोगिने छन् ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलबार  ६ : २८ बजे