६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

‘नेप्टे’ सुटिङमा ढिँडो र सुकुटी, तर्साउने धम्पुसको जुकाः पूर्णिमा लामा, नायिका


२० चैत्र २०७४, मंगलबार  

0
Shares

पूर्णिमा लामा फिल्म क्षेत्रमा प्रवेश गरेको तीन वर्ष भयो । ‘रेलिमाई’ बाट फिल्मी क्षेत्रमा डेब्यु गरेकी उनले आफू अभिनित फिल्म पर्दामा हेर्न भने धेरै समय कुनुपर्‍यो ।

पखाईको फल मिठो भन्ने उक्ति सही नै देखियो उनको लागि । यही चैत र वैशाखमा मात्रै उनी अभिनित ४ वटा फिल्म हलहरुमा लाग्दैछ । हिरोज, चैत २३ मा, नेप्टे चैत ३० मा, बन्धन वैशाख २१ मा र बबी वैशाखमै रिलिज हुने मितिको पर्खाईमा रहेको छ । दोलखा चरिकोटकी २६ वर्षे यी नायिका अहिले नयाँ फिल्मको स्क्रिप्टमा पनि व्यस्त छिन् ।

हिरोज फिल्म रिलिज हुने दिन नजिकिदै गर्दा उनी भने नेप्टेबाट धेरै ‘नोटिस’ भएकी छिन् । अपोजिटमा स्टार नायक दयाहाङ राई पाएकाले पनि खुसी छिन् पूर्णिमा । यसै सन्दर्भमा उनै नायिका पूर्णिमा लामासँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः

नेप्टेमा दयाहाङसँग अभिनय गर्ने मौका पाउनुभएको छ, यहाँसम्मको यात्रा कसरी तय गर्नुभयो ?
म फिल्म क्षेत्रमा आएको तीन वर्ष भयो । अहिलेसम्म पाँच वटा फिल्ममा अभिनय गर्ने मौका पाएँ । रेलिमाई त प्रदर्शन भइसक्यो । यही फिल्मबाट मैले डेब्यु गरेकी हुँ । रेलिमाईबाटै बक्स अफिस २०७३ मा सर्वोत्कृष्ट नवनायिका सगरमाथा अवार्ड पाएँ ।

सगरमाथाको आधार शिविरमा आयोजना गरिएको उक्त अवार्ड विश्वकै उच्च स्थानमा गरिएको अवार्ड कार्यक्रम हो । गिनिज बुकमा नाम पनि लेखिएको छ । त्यसपछि हिरोज निर्माण गरेकी छु । यो नेप्टेभन्दा पहिले नै रिजिल हुदैछ । फिल्म क्षेत्रमा ३ वर्ष भएपछि दुःख गरेकी छु । त्यसैले फिल्म मेकरहरुमा नोटिस भएर हुनसक्छ । मेरो काम देखेर हुनसक्छ । दयाहाङ दाईसँग नेप्टेमा काम गर्ने मौका पाएँ ।

दुईवटा फिल्मको रिलिज डेट सँगसँगै परेछ, कसरी यस्तो भयो ?
मेकिङको हिसाबले ‘हिरोज’ मेरो पहिलो फिल्म हो । यो नेप्टेभन्दा अघि नै बनेको थियो । यसैले पनि समय अलिकति सँगसँगै पर्न आएको हो ।

 

हिरोज र नेप्टेमा के फरक पाउनेछन् दर्शकले ?
हिरोजमा करिश्मा मानन्धर, जयकिशन बस्नेत, संजोग राणा, कमली वाइबा, मुकेश ढकाल, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतले अभिनय गर्नुभएको छ । शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्म जय लक्ष्मी फिल्मको ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् । फिल्मको निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । मैले आफैले पहिलोपटक बनाएको फिल्म भएकाले यो धेरै राम्रो नहुन पनि सक्छ । तर म आफैलाई भने धेरै राम्रो बनेको छ जस्तो लाग्छ ।
नेप्टेमा नेप्टी बनेकी छु । चारजना हिरोले मलाई मनपराउछन् । रोहित रुम्बा, अर्जुन गुरुङ, बुद्धि तामाङ र दयाहाङ राई मेरो अपोजिटमा हुनुहुन्छ । नेप्टे बेग्लै स्वादको छ । नेपाली मौलिक कथामा बनेको कथा पक्कै पनि सबैले मनपराउनुहुन्छ भन्ने लागेको छ ।

सुटिङमा सुख बढी हुने रहेछ कि दुःख बढी ?
नेप्टे धम्पुसमा सुटिङ भएको हो । ३० दिनको सेड्युल थियो । त्यहाँ त्यति नै दिन बसियो । पानी परेपछि जुका आउने त्यो डरलाग्दो थियो । त्यहाँ बस्दा ढिँडो र सुकुटी खाइयो । काममा दुःख त हुन्छ नै । त्यही दुःखमा रमाइयो । निकै हिडेर सास्ती पाइयो ।
हिरोज आफ्नै मेकिङ भएकोले धेरै दुःख भयो । सानो काममा पनि फिल्मको काममै संलग्नबाट तीनचार पटक दोहो¥याउने काम गरे । पैसा फसाउने काम पनि गरे । पछि थाहा पाए । यसैले पनि धेरै समय लाग्यो ।

फिल्म क्षेत्रमै लाग्ने सोच कहिलेबाट बनाउनुभयो ?
चरिकोटमा जन्मेर एसएलसीसम्म गाउँमै पढे । लिंकन कलेजबाट स्नातक सकाएपछि बाहिर पढ्न जाने प्रयास गर्दै थिए । त्यो सफल भएन । पहिलो सामाजिक क्षेत्रमा रुचि थियो । बुवा आमाले नर्स बनाउन चाहनुभएको रहेछ । सात कक्षा हुदै जापान गएकी थिए । सामाजिक काममा लागेर । सामाजिक सेवाकै क्रममा विभिन्न देश पुगें । मिस एन्जल हुँदा मारुनी नाच देखाएको थिए । त्यही बेला मिडियामा नोटिस भएछु । त्यसपछि मलाई स्क्रिनले तान्यो ।

कतिको गाह्रो रहेछ यो क्षेत्र ?
पहिले त मुभि भन्ने के हो थाहा थिएन । ट्यालेन्ट शोबाट यता तानिएपछि बल्ल यसबारे बुझ्न थाले । कथा पढेर, अरुको अभिनय हेरेर काम गर्ने प्रयास गरें ।

फिल्मी क्षेत्रमा प्रवेश त भयो । तर, जहाँ पनि टिक्न गाह्रो हुने रहेछ । शिक्षा, भाषा, बोलाई नै हेर्ने रहेछन् । तामाङहरु अलि घमन्डी हुन्छ भनेर सोच्ने रहेछ । तर काम गर्दै गएपछि थाह काम दिनेहरुले चिन्न थाले ।

यही क्षेत्रमै निरन्तरता दिनुहुन्छ कि अरु कुनै योजना बनाउनुभएको छ ?
हिरोज सकेपछि अर्को मुभि पनि गर्ने योजना बनाएकी छु । एक वर्ष अघिदेखि कथा हेरिरहेकी छु । काम पनि धमाधम पाएकी छु । कतिले फिल्मी क्षेत्रमा गालामा रस छाउन्जेल टिकिन्छ भन्छन् । होला केही समय अघि यस्तो । तर अहिले त ‘क्यारेक्टरवाइज’ काम हुन्छ । अलि बुढी भएपछि दिदीको रोल पाउला, आन्टीको रोल पाउला । गाला चाउरिदाँ आमाको रोल पाउला । त्यसैले यही क्षेत्रमा निरन्तर दिन्छु ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलबार  ७ : १२ बजे