६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

सेलो नाटक महोत्सवको दोस्रो दिन : ताचेमा र ङाला फ्रेङबा धोङला टा मञ्चन


३ असार २०७५, आइतबार  

0
Shares

काठमाडौं । सेलो नाटक महोत्सवमा आइतवार दुईवटा नाटक मञ्चन भयो । सयौं बर्षअघि तिब्बतमा नुन लिन जाँदा तामाङ र तिब्बतीबिच भएको युद्ध समेटिएको लोकनाटक ‘ताचेमा’ र बुद्धचित्त मालाको बोटलाई संस्कृति र परम्परागत ज्ञानको प्रतीकको रुपमा उभ्याइएको कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’ शिल्पी थिएटरमा मञ्चन भएको हो ।

गोपाल फ्युबाले संयोजन गरेको ‘ताचेमा’ धादिङ जिल्लाको प्रचलित लोक नाटक हो । रातो बस्त्रधारी तिब्बती सेना र सेतो ब्रस्त्रधारी तामाङ सेनाबिच भएको युुद्ध, त्यसपछि अन्तिममा मिलेमतो भएर सगुन राखेको सन्दर्भ नाटकमा छन् । दुबै पक्ष मिलेपछि नुनसँग अन्न साटेर तामाङहरु तिब्बतबाट फर्किन्छन् ।

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको प्रस्तुति रहेको नाटकमा रोशन फ्युबा, मनोज लोप्चन, सिंग बहादुर तामाङ प्रकाश तामाङ, सन्देश तामाङ सुभ सन्तोश तामाङ, बिकल तामाङ, मुस्कान तामाङ, डिम्पल तामाङ रेशा तामाङ र बिनिता तामाङले अभिनय गरेका थिए ।

त्यस्तै कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’ले भने पितृप्रतिको सम्मान, समर्पण र उनीहरुको मुल्यबोधको सौन्दर्य प्रस्तुत गरिएको थियो । बसन्त चौधरीको नेपाली कविता ‘मेरो बोधिबृक्ष’को तामाङ रुपान्तरणलाई शान्ति वाइवाले नाटकको रुपमा निर्देशन गरेकी हुन् ।

बुद्धचित्त मालाको रुखलाई पुर्खा, संस्कृति र परम्परागत ज्ञानको प्रतीकको रुपमा प्रस्तुत गरिएको नाटकमा चारैतिर छरिएर गएका सन्तानहरु अन्त्यमा आफ्नो बुबा–आमा (संस्कृति) सम्झेर फर्किन्छन् । नाटकमा शान्तिस“गै सोनाम लामा, निशा पाख्रिन र सन्तोष तामाङले अभिनय गरेका थिए । नाटक निर्देशकहरुलाई प्रमुख अतिथि काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्यले मायाको चिनो प्रदान गरेका थिए ।

नाटक मंचन अघि ‘तामाङ रंगमंचको अवस्था’बारे भाषाविद अमृत योन्जनले कार्यपत्र पेश गरेका थिए । उनले तामाङहरु लोकनाटकमा धनी भएपनि आधुनिक रंगमंचमा बल्ल पाइला चाल्न थालेको बताए । काठमाडौं महानगरपालिकाको सहकार्यमा प्रतिष्ठान र सेलो फाउन्डेशनले गरेको महोत्सवको तेस्रो दिन सोमबार एक कार्यपत्र, एक आधुनिक नाटक र एक लोक नाटक प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३ असार २०७५, आइतबार  ८ : ०५ बजे