भव्यताका साथ मनाइयो २५ औं आदिवासी दिवस

August 9, 2019

काठमाडौं । आज २५ औं विश्व आदिवासी दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । हरेक अगष्ट ९ मा मनाइने आदिवासी दिवस यसपटक भने आन्दोलनका रुपमा मनाएको छ । लोकसेवा आयोगले विज्ञापनमा आरक्षण हटाएको विरोध गर्दै आएको आदिवासी जनजातिले त्यसलाई आज पनि निरन्तरता दिएको हो ।

नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपबाट शुरु भएको र्‍याली माइतीघरमा पुगेर सभामा परिणत भयो । सभामा विभिन्न समूदायका नेताहरुले सरकारको आलोचना गर्दै आरक्षणको सुनिश्चितता गर्न माग गरे ।

साँस्कृतिक झाँकीसहित शुरु भएको र्‍यालीमा आदिवासी जनजातिको उल्लेख्य उपस्थिति थियो ।

विश्व आदिवासी दिवसलाई ‘आदिवासी भाषा’ भन्ने विश्वव्यापी नारासहित ‘पहिचान सहितको संघीयता र स्वायत्तता/स्वशासनका लागि संविधान संशोधन हाम्रो साझा अभियान । २५औँ विश्व आदिवासी दिवसको सन्दर्भमा समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन ।।” भन्ने मूल नाराको साथ महासंघलगायत सम्बद्ध संस्थाहरुले आज प्रदर्शन गरे ।

आदिवासी जनजातिले सांस्कृतिक झाँकी, बाजागाजा र परम्परागत हातहतियारहरू सांकेतिक रुपमा प्रदर्शनसहित देशैभर समान प्रतिनिधित्व सहितको राज्य निर्माणका लागि समानुपातिक समावेशी संरक्षण तथा आरक्षण बचाऔँ आन्दोलनको रुपमा मनाइएको महासंघका अध्यक्ष जगत बरामले बताए ।

सम्बन्धित समाचार