अमेरिकी सपना

June 23, 2019

  • अग्नि साम्पाङ राई-

सपना सामान्य आँखाले देखिने बस्तु बिल्कुल होइन । समात्न कम्ति गाह्रो छैन । आँखा चिम्लेपछि देखिने सपना प्रायःले आपतविपतमा देख्ने गरिन्छ । त्यसैले पनि सज्जन मस्तिष्कले समात्न सक्दैन । सपना पछ्याँउन चाही छाडेको हुदैनौं । समात्न नसके के चाही गरिने चीज हो त सपना ? सायद सपना पुरा गर्ने चीज त होला । अब फेरी पुरा चाही कसरी गर्ने त ? अल्मलिदैमा पुस्ता पगाल्ने जाति नै मानव हौं । सपनाको बारेमा उत्तर अधुरै राखेर जीवन पुरै विताउँनु एक मज्जैको सँस्कार बनेको छ । यो मज्जा सबैभन्दा बढी हामी नेपालीले लिएको छौं ।

सपनाकै कारण ‘प्रवासी’ शीर्षक पाएका हामी लाखौं नेपालीहरु अमेरिकामा पनि असरल्लै छौं । सपना चाही समात्यौं कि पुरा गर्‍यौं त ? प्रश्नहरु आफै जिंग्रिङ्ग उभिन्छ । बल प्रयोग गरी सपना समात्न मिल्ने हो भने, हामी हरेक प्रवासी नेपालीहरुको घरमा कम्तिमा एकथान सपना सुनको पिंजडामा हुन्थ्यो । सजीव सपना हुँदाको कुरा हो यो । होइन भने लक स्मिथको लकरभित्र बन्दी हुन्थ्यो । हामी नेपालीहरु मख्ख परेर अन्तरिक्षको बसाई गरिन्थ्यो । जीतेरै पाउने भए हरेकको हातमा शिरुपाते हुन्थ्यो र समाती सकिन्थ्यो । हामी डरलाई समेत भागाउन सक्ने, त्यो जाबो सपनाको के कुरा । तर, सपना भौतिक वस्तु नहुनुको बहाना राम्रैसँग हामीले तर्क दिन्छौं र भन्छौं— भनेको कहाँ सबै पाईन्छ र !

त्यसो भए भनेको पुर्‍याउन चाही के गर्नुपर्छ ? कसैले सोध्दैनौं कसैलाई । किन भने हामी सबै नेपाली साह्रै तगडा छौं । कोही एकभन्दा कोही अर्को कमजोर नै छैनौं । तँपाईलाई अचम्म लाग्ला कसरी भनेर । मलाई नि न्यूयोर्क बस्न थालेपछि अलि ज्यादा थाहा हुन थाल्यो । नेपालको तिर्सना मेटाउने न्यूयोर्कले चाहिनेभन्दा अलि धेरै नै थाहा दिँदा भने अलि चिन्ता नि लागेको छ । तर नशा लागेको जँड्याहा जस्तै भन्नु मन लाग्छ— ‘आँऽऽऽ आज त हो । यो त हो । यति त हो । भोलिदेखि त बाऽऽऽ कोष पर बस्छु ।’ कान समाउँदै, अलिकति जिब्रो टोक्दै र टाउको हल्लाउँदै कसम खाने म जस्तै सयौं छन् ।

मैले त अमेरिकाको बारेमा सुनेको हल्ला र अमेरिकादेखि आऊँजाऊँ गर्ने जानअन्जान व्यक्तित्व देखेर नै आकर्षित भएको हुँ । त्यो व्यक्तित्वमा विकासेपन, धनाढ्यता र सुखिलोपन प्रष्टै देखिन्थ्यो । म बबुरो पनि मानवीय असन्तोष जनाउँदै सम्पन्नता र सुविधाको खोजीले यहाँसम्म डोहोरिएँ । ‘के त्यो सबैचीज भेटेँ ?’ यहाँनेर आफैले सोंधिहिडेको लाजै मर्दो प्रश्नहरु चाही— ‘के मैले अहिले जे गरिरहेको छु यसैको लागि यहाँसम्म नेपालदेखि हाँकिएको थिएँ ?’ फेरि लाज पचाउँदै आफैलाई उत्तर दिन्छु— ‘अरुलाई थाहा नहोस्, खासमा उल्टो गर्दै बसिरहेको छु ।’ यथार्थमा, नेपालदेखि परदेश लाग्नुभन्दा बर्षौं पहिलेदेखि ऐशको जीवन र सुखी जीवन अमेरिका पुगेर मात्र सम्भव छ, सोच्ने मैले यहाँ आएपछि रति अनुभव गरेको भए पो ।

घरदेखि निस्कँदैं गर्दा बाबुआमा र आफन्तले आर्शिवाद दिएर बिदा गर्नु भो कि— ‘हाँकेताकेको पुगोस् ।’ आफैं घमण्डिन्थेँ— ‘जुन नजिकको देश हो, कस्तो पुग्दैन त नि । सपना फल्ने देशमा भव्य पुग्छ । अब पुग्दैछ । त्यो सपना बास्तविक ठहर तुरुन्तै हुदैछ । अब जीवन सुनैसुनले भरिभराऊँ र जुनको किरणले मधुर प्रकाश दिनेछ र धागोविनाको चंगा जस्तै पुरै आकाश आफ्नो बन्नेछ ।’ त्यो अभिलाषा कम्ता मिठो थिएन । छाती गज्जक फुलेर आवाज गहिरो वजनदार भएको त्यो क्षण अर्कै गर्वको थियो । मनको क्षितिजको हिँडाई र सागरको तहिँराईमा म गुरुत्वाकार्षण विहिन भएर परदेश लागेको सम्झिँदा आफुले आफैलाई चिमोट्दै न्यूयोर्क आईपुगेँ ।

न्यूयोर्कको बसाई एकदिन दुईदिन गर्दै अब गन्नै शरम लागुन्जेल भइसक्यो । गोजी छाम्यो हावा मात्र, दिमाग छाम्यो ताप मात्र, मुटु छाम्यो ठण्डा, समय हेर्‍य नेटो काटेर जीवनको टाकुरा नै पहेलै छ । र पनि, अवस्था जस्तै भएपनि साथीभाईको दुःख चाही छैन । साइजसाइजको छ— सत्र धातु अठार भिरिङ्गी । केही राम्रो काम गर्नलाई मज्जाले सल्लाह गरिहाले केहीदिन साथीभाई नै बिरानो । परदेश हो, आफ्नो दुनो नि सोझ्याउँनै प¥यो । तर, सधैं एकै नाशको जोताईले नि मकैबारीमा धान फल्दैन । एउटाको खुट्टा तान्न हप्तौ खर्चिने युवाहरुले हजारलाई उठाउन एक मिनेट नखर्चिंदा चाही चिन्ता जाग्छ । ‘खै, त्यो युवा सपनाभित्रै पर्दैन कि !’ चिन्ता लिनै बेवकुफी ।

न्यूयोर्कको ज्याक्सन हाईट्स् नेपालीहरुको लागि बिशेष थलो हो । नेपाली खाना, सँस्कार र बोलीको लागि अमेरिकाभरी नै यति पायक ठाऊँ अरु कही छैन । नेपालीले आफ्नोपन पाउने यो ठाऊँ नेपाली वालस्ट्रिट नै भन्दा हुन्छ । तर, खै र पुरै भन्न सकिएको छैन । डायस्पोराको नेपालीहरुको कट्मिरे राजनैतिक अभ्यास र छचल्किँदो बहसले गर्दा रत्नपार्कको याद झलझल पार्छ । कुनै—कुनै नेपाली क्याफेमा त कोही—कोही साथीहरुले नेपालको राज्य सञ्चालन गरिरहेका भेटिन्छन् । यत्रो भयंकर शक्ति प्रस्तुत नगर्दा नि आफ्नो जन्मभूमिले हल्का महशुस गथ्र्यो कि । पुरै नेता र देश एउटा क्याफेबाट चलाउँदैछु भन्ने हामीले डायस्पोरालाई साहस होइन त्रास दिंदैछौं ।

सपनाको खेती लगाइन्छ ठानेर अमेरिका आउने हामीले सपनाको बारी भेटायौं त ? सपना फल्ने चीज हो या बन्ने चीज हो, केही थाहा पायौं ? त्यसो भए सपना समात्यौं या भेट्यौं ? नसमात्दा र नभेट्दा के पायौं र के गुमायौं भनेर केलाउँन चाहदैनौं । बरु कमजोर भावनात्मक बहानामा ज्यादै नेपाल प्रेमको भाषणहरुले नेपाली डायस्पोरालाई अलि कोलाहल बनाइरहेका छौं । यो कति सकारात्मक र नकारात्मक हो भनेर क्षणभर हामी समीक्षा गर्न चुकेका छौं ।

प्रायः न्यूयोर्कमा महिना दिनभित्र कम्तिमा आधा सय नेपाली कार्यक्रमहरु हुन्छन् । यति धेरै कार्यक्रमको प्रतिफल के हो त ? शतप्रतिशत आयोजकहरुको दाबी हुन्छ कि ‘कार्यक्रम भव्य सफल भयो ।’ सफल कार्यक्रम कस्तोलाई भन्ने ? सदस्यहरुको उपस्थितिले कि कार्यक्रमको उद्देश्यानुरुप सर्वसाधारणमा सुचित तथा सकारात्मक असर हुनु ? माघको बेला सोच्नु पर्ने भएको छ । तर, सोच्न हामीलाई रति फुर्सद छैन । किन कि हामी एकार्काकै कुराले जहिल्यै गरमागरम् हुन्छौं । बहसभन्दा विवाद धेर, सल्लाहभन्दा हल्ला धेर, संस्थाभन्दा अध्यक्ष धेरले समाजको अभ्यास अलि चिन्ताजनक छ । कति वरिष्ठ पाहुनाहरुले त मुखै फोरेर भन्ने गरेको सुनिन्छ कि— ‘संघसंस्था अलि घटाउनुस्, हामीलाई निम्ता स्वीकार्न सजिलो बनाउनुस् ।

’एकजना विशिष्ठ व्यक्तिसँग मेरो कुरा भो— ‘नेपाली समाज अमेरिकामा धेरै संघ संस्थाले गर्दा अव्यवस्थित भो कि ! न्यूयोर्क सिटीमा मात्र नेपाली संघसंस्था ७४ वटा पुग्यो ।’ मैले यति भन्न नपाउँदै वहाँले भन्नु भो— ‘कहाँ हुनु १०४ हो ।’ म त त्यसै छक्क परेँ, हामीसँगै रहेका अरु चाही मुखै आँऽऽऽ गर्दै— ‘आँऽऽऽम्मममम हो र !’ भन्दै अरु केके भने खासै मतलब राखिनँ । एकछिन बार्तालाप नै रोकियो । हामी प्रवाशीहरु दोहोरो दायित्व लिएर बसेका समाज हौं । हामी मातृभूमि र कर्मभूमि दुवैसँग सन्तुलित हुनु पर्ने हुन्छ । मतलब, सामान्य नागरिकभन्दा अलि धेर दायित्व बोकेर हिडेका हुन्छौं । धेरै संघसंस्था बन्नुले खासै दह्रो समाज मान्न सकिन्नँ । अनि सपना भुल्ने कर्म पनि गर्नु हुन्न ।

नेपालदेखी अमेरिका आएसँगै झण्डै—झण्डै सपना समात्ने र नजिक—नजिक पुग्ने सज्जनबृन्दको समूह पनि ठुलै छ । विद्वान वर्गको आफ्नै ध्यान, आर्थिक सम्पन्नहरुको आफ्नै व्यस्तता जोहरुसँग फगत गफ दिन समय छैन । क्याफेमा संत्रासपूर्ण बादबिवाद गर्न फुर्सद छैन । ती व्यक्तित्वहरुबाट प्रेरणा लिने र अनुभव लेनदेन गर्नलाई हामीले कहिल्यै सोचेनौं । ठिकैले बाँचेका र गफैले हाँकिएका हामी नाकको तौल खोज्छौं । त्यसैले हाम्रो अलि ठुलो समूह चाहि सतहीमा बग्नेहरु छौं । गर्दैगरेको भन्दा माथि उठेर सोच्ने र गर्ने कुराभन्दा भविष्यको कुरामा सिधैं रेडिमेड जवाफ आउँछ— ‘अब अर्को पुस्ताबाट आफै ठीक हुन्छ ।’ भन्न त भन्ने गर्छौं— अर्को पुस्तादेखि पूर्ण सप्रिन्छ । तर त्यो पुस्ता साह्रै ढिलो हुन्छ । मानौं, ढिलो नहोला, तर उपभोग गर्न नपाउनु ज्याँदै अभाग्य हो । त्यसैले अर्को पुस्ता देखाउनु पराजित र निराशाजनक तर्क हो ।

अमेरिकी सपनाको लागि हामी सबैले यहाँ आउँनु अघिको विगतलाई पल्टाउनु जरुरी छ । अमेरिका आएर भावानात्मक समाजसेवाको नाममा खर्चालु प्रतिस्पर्धा निषेध गर्नुपर्छ । सफल नेपालीगण र समुदायबीचको अन्तक्र्रिया निरन्तर र बाक्लो हुनुपर्छ, जसले पछिल्लो पुस्तालाई प्रेरणा र ज्ञान मिलोस् । आउने पुस्ताको चौतर्फी विकासको लागि हामीले स्थानीय निकायहरुमा उपस्थिति जनाउँनु पर्छ । हामीले आफ्नो मातृभूमिको लागि जसरी लागेको छौं, कर्मभूमि प्रतिको उत्तिकै कर्तव्यनिष्ठ हुने सँस्कार बनाउँनु पर्छ । सँस्कार हस्तान्तरण गर्ने कुरा होइन, स्वतः हस्तान्तरित हुने कुरा हो ।

सम्बन्धित समाचार