तीन शेर्पा कलाकारको चार एल्बम सार्वजनिक

April 2, 2018

काठमाडौं । शेर्पा म्युजिक वल्डको ब्यानरमा पहिलो पटक शेर्पा समुदायका कलाकारहरूले चार वटा एल्बमको विमोचन गरेको छ । शनिवार निर्देशक तथा कलाकार आङङिमा शेर्पा कुङगाको सगुन गजल संग्रह र आमा नेपाल, नव गायक फुर्वा शेर्पाको हिमाली गाउँ र कर्मा पहाडी शेर्पाको शेर्पाज सोलो एल्बम विमोचन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, विशेष अतिथि आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पा, शेर्पा कलाकार संघका अध्यक्ष डिजे ङवाङ शेर्पाले संयुक्त रूपमा एल्बमको विमोचन गरेका थिए ।

शेर्पा भाषामा निर्माण भएको चलचित्रबाट समुदायसँगै आदिवासी चलचित्र जगतमा आफ्नो नाम लेखाउन सफल कलाकार आङङिमा शेर्पा कुङगा एल्बम गजल संग्रह सगुनमा शेर्पाका शब्द तथा स्वर साथै चर्चित गायिका मेलिना राई ,गायक शिव परियार, मिङमा शेर्पालगायतका कलाकारहरूको स्वर रहेको छ भने संगीत राजेश थापाको रहेको छ ।

त्यस्तै दोस्रो एल्बम आमा नेपालको शब्द संगीत तथा स्वर आङङिमा शेर्पा कुङगाको रहेको छ । एउटा गीतमा भने चर्चित गायक आसुशेन लामाको संगीत रहेको छ । नव गायक फुर्वा शेर्पाको एल्बम हिमाली गाउँमा तीन ओटा गीतमा शब्द र संगीत, स्वर आङङिमा शेर्पा कुङगा र गायक फुर्वा शेर्पा आफैको रहेको छ ।

त्यस्तै कर्मा पहाडी शेर्पाको शेर्पाज सोलमा शब्द कर्मा पहाडी शेर्पाको रहेको छ भने दुई ओटा गीतमा संगीत आङङिमा शेर्पा कुङगा साथै कर्मा पहाडी आफैको रहेको छ ।

विमोचन एल्बमका अधिकांश गीतमा म्युजिक एरेन्ज भने म्युजिक एरेन्जर पवन वाङ लामाको रहेको छ । विमोचन कार्यक्रममा अतिथिहरूले एल्बमको शुभकामना साथै आगामी दिनमा पनि यस्तो गीत संगीत बजारमा ल्याउन सके नेपाली संस्कार संस्कृति त्यसमा पनि जातीय संस्कृति सदैव जीवन्त रहने बताए ।

कार्यक्रममा चर्चित कलाकार मेलिना, आसुशेन लामा, कुशल थुलुङ लिम्बु, सोनाम शेर्पा, डि.जे छेवाङ शेर्पा सँगै शेर्पा समुदायका चर्चित गायक दावा के शेर्पा, गोन्पो शेर्पा,र्‍याप गायक छाङपा शेर्पा,आङ तन्जि शेर्पा ,मोडल जाङमु इन शेर्पा,एरिन तामाङ छिरिङ कुन्शल शेर्पाले आफ्नो प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन दिएका थिए । कार्यक्रममा चलचित्र टिन्छेन फामाको सहयोगीहरूलाई सम्मानसमेत गरेको थियो।

सम्बन्धित समाचार