Everest Times

अन्योलमा एनआरएन अमेरिकाको निर्वाचन, भट्ट भर्सेज पन्त राजनीतिको घान

गैर आवासीय नेपाली संघ(एनआरएन), अमेरिकाले मार्च १९ मा सदस्यता वितरण सम्पन्न गरे पनि निर्वाचन भने तोकिएको मितिमा हुनेमा शंका पैदा भएको छ । निर्धारित योजना अनुसार सदस्यता वितरणपछि गठित सदस्यता छानविन समितिले ३१ तारिखमा निर्वाचन कमिटिलाई जिम्मा दिनु पर्ने थियो । तर यो सम्भव नहुने भएको छ । यतिखेर न्यायिक कमिटिले बोर्डलाई दिएको पत्रको कारण विवाद लम्बिदै गएका कारण तोकिएको समयमा निर्वाचन नहुने हो कि भन्ने अन्यौल बढेको हो । बोर्डले पछि थप गरेका कुनै पनि सदस्यलाई निर्वाचनमा भोट हाल्न दिनु नमिल्ने र समितिमा रहेका राजनीतिमा सक्रिय दुई जना पनि हटाउनु पर्ने माग न्यायिक कमिटीले गरेको छ ।
यता बोर्ड भने ३ हजार सदस्यको मत अधिकार खोस्न नहुने अडानमा छ । एनआरएन अमेरिकाले मे को २० र २१ मा निर्वाचन गर्ने कार्यक्रम तय गरिसकेको छ । तर, चुनावी कार्यक्रममा क्रमशः ढिलाइ हुदैं गएको छ । प्राविधिक समस्या देखाई सदस्यता वितरणमासमेत केही दिन थपिनु पहिलो ढिलाई भयो । अहिले बोर्ड र न्यायिक कमिटीबीच अर्को द्वन्द्व चलेको छ । जति विवाद बढ्दै जान्छ, त्यति तोकिएको दिन निर्वाचन हुने सम्भवना पनि कम हुदै जाने देखिन्छ । यतिखेर कमिटी आफ्नो अडानमै बसे बोर्डले साधारण सभा गर्ने अन्तिम अस्त्र प्रयोग गर्ने देखिन्छ । यसो गरेमा निर्वाचनको मिति सार्नु पर्ने देखिन्छ । बोर्डलाई ग्लोबल सम्मेलन अगावै निर्वाचन गराउनुपर्ने बाध्यता छ । यसअघि हुन सकेन भने थप अन्योलता सिर्जना हुने देखिन्छ ।
यतिबेला कमिटी र बोर्डको द्वन्द्वलाई मिलाउन बोर्डका उपाध्यक्ष कृष्ण पोखरेलको संयोजकत्वमा ५ सदस्यीय समितिले न्यायिक कमिटीलाई मिलाइदिनु भनेर अनुरोध पत्र लेखेका छन् । ‘यतिखेर संस्था जोगाउनतिर लाग्नु हामी सबैको कर्तव्य हो भनेर हामीले न्यायिक कमिटीसँग अनुरोधको लागि पत्रचार गरिसकेका छौ,’ उपाध्यक्ष पोखरेलले भने, ‘सदस्यता वितरणमा म्याद नथपु भनेर मैले पनि बोर्डको बैठकमा नोट अफ डिसेन्ट लेखेको हो तर बोर्डको बहुमत सदस्यले गरेको निर्णयलाई मैले पनि मानें र अब सबैले मान्नैपर्छ ।’
राम्रो हुदै गएको सस्थामा भएको केही कमि कमजोरिलाई लिएर राजनीति गरिराख्नु भन्दा पनि मिलेर अघि बढ्न हामीले न्यायिक समितिलाई सकारत्माक जवाफको लागी गत मंगलबार वेलुकी १२ सम्ममा पर्खेको थियो तर उनीहरुले अप्रिलको १ तारिख ओपन हेरिङ राख्ने भनेपनि २ तारिखसम्म केही निर्णय गरेन ।
न्यायिक कमिटी एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र क्षेत्रीको कार्यकालमा बाल्टिमोरमा भएको साधारणसभामा गठन भएको हो । गत मार्च २१ तारिखसम्म कार्यकाल रहेको यो कमिटी अर्को व्यवस्था नभएकोले तदर्थ कमिटीको रुपमा रहेको बोर्डले जनाएको छ । कमिटीमा कानुन व्यवसायीहरु दुर्गा भुर्तेल, गिरिजा गौतम र यज्ञ नेपाल रहेका छन् । बोर्डले बनाएको ३ हजार सदस्यहरुको मतधिकार खोस्ने काम न्यायिक कमिटिले गरेमा चाडै विशेष साधारण सभा बोलाएर अर्को न्यायिक समिति गठन गर्ने योजना रहेको बोर्डले जनाएको छ । यस पटक न्यायिक कमिटिलाई रविन बज्राचार्यले बोर्डले सदस्यता वितरणको म्याद थप गर्नु गलत भएकोले पछि बनेका सदस्यहरुले मत हाल्न दिन नहुने र छानवीन समितिमा राजनितिक व्यक्तिलाई राखेकोमा हटाउनु पर्ने भनी उजुरी हालेका थिए । उनकै उजुरीको आधारमा न्यायिक कमिटिले यो कदम चालेको हो । न्यायिक कमिटिमा रविनले उजुरी हालेको केही दिनपछि विआर लामाले पनि म्याद थपपछि बनेका सवैले मतदान गर्न पाउनुपर्छ भनी अर्को उजुरी दिएका थिए ।
‘निर्वाचन गराउनु हाम्रो जिम्मेवारी हो म्याद थपपछिका सबै सदस्यहरु विधानभित्र बनेकोले उनीहरुको मतअधिकार अन्य सदस्यको बराबार हुनुपर्छ भनेर न्यायिक कमिटिलाई हामीले पुन विचारका लागी आग्रह गरिएको थियो’ बोर्डको डाइरेक्टर सुर्य लम्सालले भने—‘न्यायिक कमिटिले खुल्ला सुनुवाईको क्रममा आइतबार ४ घण्टाको बैठकमा बसेर पनि खासै केही निर्णय भएन ।’ उनका अनुसार कानुन व्यवसायी भुर्तेलको ल अफिसमा भएको सुनवाईमा बोर्डको तर्फबाट उपाध्यक्ष बन्दना कोइराला, कृष्ण पोखरेल, सुर्य लम्साल, विष्णुमान प्रधान गोमा सेन र हरिसचन्द्र हमाल थिए । उनीहरुसँगै न्यायिक कमिटिबाट दुर्गा भुर्तेल र गिरिजा गौतम थिए भने उजुरी हाल्नेहरु रविन बज्राचार्य र उनका श्रीमतिसंगै विआर लामा र केही साधारण सदस्यहरु पनि सहाभागी रहेको लम्सालले बताए ।

एनआरएनलाई ७ मुद्दा

एनआरएन अमेरिकाको यस अघिको निर्वाचनमा पराजित केही सदस्यहरुले अदालतमा अहिलेसम्म ७ वटा मुद्दा हालेको बोर्डले जनाएको छ । शुरुमा निर्वाचनमा कसले कति मत पायो भनेर हेर्न मुद्धा हालेका थिए भने हालै यो कमिटि खारेज गरेर नया कमिटिले निर्वाचन गर्नुपर्छ भनेर टेनिसीमा पुन मुद्दा हालेको बोर्डले जनाएको छ । दुई वर्षभित्रमा एकपछि अर्को गरी अहिलेसम्म ७ वटा मुद्दा खेपीसकेको एनआरएन अमेरिकाले करिब २० हजार डलर भन्दा बढी खर्च गरिसकेका जनाएको छ । यस्तै मुद्दा थप्दै गयो भने अझै कति खर्च हुने हो थाहा छैन बोर्डका एक सदस्यले बताए । अमेरिकामा नेपालीको संस्थामा यसरी मुद्दा हाल्दै जान थाल्यो भने भोलि यो संस्थाको अस्तित्व कहा पुग्ने हो भनेर कसैले सोचेको छैन ।

बोर्ड र कमिटी मिलेर जाँदा राम्रो

–खगेन्द्र क्षेत्री,पूर्व अध्यक्ष एनआरएन अमेरिका

न्यायिक कमिटीले सबैभन्द पहिला संस्थाको सदस्यहरुको रुचिलाई प्रथामिकताको साथ हेर्नुपर्छ । कमिटीमा उजुरी परेपनि चुनाव नजिकिदैं रहेको अवस्थामा बोर्डलाई अप्ठयारोमा पार्ने कामहरु गर्नु हुदैन । संस्थालाई कसरी बलियो बनाउने भन्ने न्यायिकको जिम्मेवारी पनि हो । यदि संस्था तलमाथि गएको खण्डमा लाई कमिटीलाई दोष जानेछ । कमिटीमा उजुरी गरेमा सुनुवाई गर्नुपर्छ । बोर्डले पनि जिम्मेवारीपूर्वक विधानसम्मत ढंगबाट काम गर्नुपर्छ । संस्थामा कसैले पनि मनपरी गर्न पाउदैन । विधि र विधानसँगै सवैको भावनालाई कदर हुने किसिमको कामहरु गर्नुपर्छ । संस्थामा गलत कुराहरु भएको खण्डमा मुद्दा लागेपनि पारदर्शिता हुने गर्दछ । यतिखेर एनआरएन अमेरिका अघि बढेको अवस्थामा न्यायिक कमिटी र बोर्डबीच विवाद गरेर होइन कसरी हुन्छ मिलेर जाने सोचका साथ संस्थालाई अघि बढाउनुपर्छ ।

संस्थालाई मार्ने काम नगरौं

-सोनाम लामा, क्षेत्रीय संयोजक

सदस्यता वितरण सके लगतै म र उपसंयोजक एसी शेर्पालाई टेक्सास निवासी व्यवसायी पासाङ लामा र गौरी जोशीले टेक्सासमा बोलाए । त्यहा पुगेपछि उनीहरुले आइसिसीको विधान र नियमवालीबारे सोधे । आइसिसीको विधान र नियमवालीमा एनआरएन एनसिसीमा अध्यक्ष पदमा उठ्न एक कार्यकाल काम गरेको हुनुपर्ने जानकारी दिए । त्यसपछि गौरी जोशीले आफु पनि निर्वाचनमा अध्यक्षको प्रत्यासी भएकोले आइसिसीको दुबै प्रतिनिधिले विज्ञाप्ती निकाल्न आग्रह गरेका हो । उनीहरुको आग्रहकै कारण विज्ञाप्ती निकालेको त कहिल्यै नसोचेको विवादहरु सञ्चार माध्यममा आउन थालेपछि निकै खल्लो भयो । हामीले संस्थालाई माया गरेपछि फेरि संस्थालाई नै मार्ने काम गर्नुहुदैन । जसरी हुन्छ अब निर्वाचन गरी आइसिसीको अधिवेशनमा धेरै भन्दा धेरै प्रतिनिधिको सहाभागिता जनाउन पर्दछ ।

एनआरएन आइसिसिमा भट्ट भर्सेज पन्तको राजनीति

एनआरएन अमेरिकामा मात्र होइन एनआरएन केन्द्रमा पनि अबको नयाँ नेतृत्व चयनको लागि ठुलो राजनीति सुरु भएको छ । अमेरिकामा केही दिन अगि क्षेत्रीय संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पाले एनआरएनको केन्द्रीय कार्यविधि सञ्चालनबारे प्रेस विज्ञाप्ती जारी गरेका थिए । उनीहरुको विज्ञाप्तीले संस्थाको अध्यक्षमा उम्मेदवार दिनेको हकमा एक कार्यकाल काम गरेको हुनुपर्ने उल्लेख गरेका थियो । त्यसको तीन दिनपछि आइसिसीको महासचिव डा बद्री केसीले अमेरिकामा एनआरएन सन २००६ देखि दर्ता भएको आधिकारिकताबारे अर्को विज्ञाप्ती ज।री गरे । आइसिसीबाट दुई किसिमले भइरहेको यो विज्ञाप्ती बाजीले दुई खेमाको राजनीति स्पष्ट देखिन्छ ।
यतिखेर अमेरिका धेरै सदस्य बनेको मुलुक भएकोले केन्द्रको ध्यान अमेरिकातिर सोझिएको छ । आगामी नेतृत्वका लागि एनआरएन अध्यक्ष शेष घले नजिक रहेका भुवन भट्टलाई अध्यक्ष बनाउनमा घले लागेका देखिन्छन् भने उपेन्द्र महत्तो नजिक रहेका कुमार पन्तलाई अध्यक्ष बनाउन महतो लागी परेको केन्द्रका एक सदस्यले बताए । आगामी नेतृत्वमा कसलाई लैजाने भन्नकै लागि अहिले विश्वका विभिन्न मुलुकहरुमा सदस्यता बनाउनेहरुको लहड चलेको छ । एनआरएन केन्द्रमा महतो र घलेले आआफनै किसिमको छवी बनाएकोले उनीहरुको सोच अनुसारको आ आफनै समूहहरु यस अघिदेखिनै बनेका छन् । त्यहीअनुसार अहिले विश्वका विभिन्न मुलुकमा पनि त्यही किसिमको समूह बनेका छन । यी समूहले यसपटक पनि विगतमा जस्तो जसले बढी खर्च गर्न सक्छ उसैले जित्ने अनुमान गर्दै आएका छन् । अमेरिकामा पनि एनआरएनको अध्यक्ष डा केशब पौडेल शेष घले समर्थकका रुपमा देखिन थालेपछि कुमार पन्तले गौरी जोशीलाई आन्तरिक रुपमा सहयोग गर्दै आएको छ । त्यसो त गौरीकै विरुद्धमा आरसी र डिआरसीले प्रेस विज्ञाप्ती जारी गरेको भनी कुमार पन्तको अगुवाईमा केन्द्रले विज्ञाप्ती निकालेको एक केन्द्रीय सदस्यले बताए ।

प्रतिकृया दिनुहोस्