Everest Times

प्रवासी मञ्चको नेतृत्वमा प्रभु

प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो साधारण सभाले प्रभु थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । एमाले पार्टीको भातृ संगठनको रुपमा स्थापित मञ्चको अधिवेशनमा थापाले ८५ मत प्राप्त गरी जनक रानालाई पराजित गरेका हुन् । रानाले ५६ मत प्राप्त गरेका थिए ।
अधिवेशनमा १ सय ६३ मतमध्ये १ सय ४३ मत खसेकोमा २ मत बदर भएको थियो । अध्यक्षमा निर्वाचित मेरिल्यान्डका निवासी थापा मञ्चका निवर्तमान महासचिव हुन् भने टेक्सासका राना मञ्चका संस्थापक सदस्य हुन । त्यस्तै कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ७७ मतसहित टेक गुरूङ निर्वाचित भएका छन । उनका प्रतिद्वन्द्वी प्रितिसागर खत्रीले ६४ मत प्राप्त गरेका थिए । क्षेत्रीय उपाध्यक्षमा टेक्सासकी ६४ मतसहित यमुना भट्टराई विजयी भइन् । उनका प्रत्यसासी सुशील क्षेत्रीले १९ मत प्राप्त गरे । महासचिवमा ७६ मत प्राप्त गरी न्युयोर्कका राधाकृष्ण देउजा विजयी भए । देउवाका प्रतिस्पर्धी शंकर पन्तले ६३ मत पाएका थिए ।


यसैगरी उपमहासचिवमा कृष्णराज लामिछाने ९४ मत ल्याएर विजयी भए । कोषाध्यक्षमा हेमन्त भेटुवाल ८४ मतका साथ विजयी भए । सहमतिमा नयाँ नेतृत्व चयनका लागि नेपालबाट आएका एमाले नेताहरू र अमेरिकामा रहेका अगुवाहरूले प्रयत्न गरे पनि सम्भव भएको थिएन । मञ्चको दोस्रो साधारण सभा शनिबार बाल्टिमोरमा सम्पन्न भएको थियो । एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले उदघाटन गरेको कार्यक्रममा एमाले नेताहरू युवराज कार्की र खगराज अधिकारीसमेत अतिथिका रूपमा सहभागी थिए । कार्की अमेरिका विभाग प्रमुख हुन । न्युयोर्कमा भएको प्रथम अधिवेशनमा उपाध्यक्षबाहेक अन्य सबै पदमा निर्विरोध नेतृत्व चयन भएको थियो । मञ्चका अन्य पदाधिकारी र सदस्यहरु भने निर्बिरोध भएका थिए ।

प्रतिकृया दिनुहोस्