Everest Times

चौध वर्षपछि शुक्लाफाँटामा गैंडा भित्र्याइयो

भीमदत्तनगर । चौध वर्षपछि कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ मानिएको एकसिङ्गे गैंडा भित्र्याइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएको एउटा भाले शुक्लाफाँटामा सोमबार भित्र्याइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । उनका अनुसार यसअघि १४ वर्षपहिले पनि शुक्लाफाँटामा चारवटा गैँडा स्थानान्तरण गरिएको थियो ।

“करिब डेढ दशकपछि पाँचवटा गैँडा ल्याउन लागिएको छ,” उनले भने ।

एघारवटा गैँडा रहेको शुक्लाफाँटामा पहिलो चरणमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्टराईको रोहवरमा निकुञ्जको रानीताल क्षेत्रमा उक्त भाले गैँडा छाडिएको छ । चारवटा पोथी गैँडा ल्याउने प्रक्रियामा छ ।

गैँडाको सङ्ख्यामा वृद्धि गर्न र फरक फरक क्षेत्रमा गैँडालाई मिसाउने उद्देश्यअनुरुप उक्त कार्य थालिएको हो । गैँडा सार्ने निर्णय सरकारले दुई वर्षअघि गरेको ढकालले बताउनुभयो । त्यतिवेला गैँडा सार्ने क्रममा खटिएको शुक्लाफाँटाको हात्तीलाई गैँडाले आक्रमण गरेको थियो ।

प्रतिकृया दिनुहोस्