भूकम्पमा ४,८० फ्रेन्च पर्यटकलाई उद्धार गरेको थिएँ–आङनोर्बा शेर्पा, ट्रेकिङ व्यवसायी

May 18, 2017

ट्रेकिङ व्यवसायी आङनोर्बु शेर्पालाई हालै फ्रान्स सरकारले सर्वोच्च नागरिक पदवीबाट सम्मानित गरेको छ । अक्टोबर २५ मा नेपालस्थित फ्रेन्च दुतावासमा उनलाई फ्रान्सका राष्ट्रपतिको तर्फबाट राजदूत यिभ कारामोनाले ‘नाइट अफ लिजन अफ अनर’ विभूषण प्रदान गरिएको हो ।
एड्भेन्चर ६००० का कार्यकारी निर्देशकसमेत रहेका शेर्पालाई गोरखा भूकम्पको बेला आफ्ना नागरिकको जीवन रक्षाको लागि खेलेको भूमिकाको सराहना गर्दै फ्रान्स सरकारले सम्मान जनाएको छ ।
कार्यक्रममा राजदूत कारामोनाले भने, ‘तपाईँले आफ्नो परवाह नगरी हाम्रा दाजुभाइ दिदीबहिनीको जीवन रक्षा गर्नुभयो । लगातार परकम्प गइरहँदा पनि तपाईँले हेलिकप्टर चार्टरै गरेर फ्रान्सेली नागरिकहरूको खोज र उद्धार गर्नुभयो र यसका लागि हामी आभारी छौँ ।’
यो पदवी सन् १८०२ मा नेपोलियन बोनापार्टले स्थापना गरेका थिए । यो देशका लागि उल्लेखनीय सेवा गर्नेलाइ फ्रान्सले प्रदान गर्ने सबैभन्दा उच्चा पदवी भएको जनाइएको छ । यसै विषयमा एभरेस्ट टाइम्सले गरेको कुराकानी
तपाईंलाई फ्रान्स सरकारले उच्च पदवीले सम्मान गर्दा कस्तो महसुस गर्नुभयो ?
धेरै खुसी लागेको छ । मलाई भूकम्पको बेला फ्रेन्च नागरिकलाई सहयोग गरेको भनेर यो सम्मान प्रदान गरेको छ । तर, फ्रान्स सरकारले मलाई पहिलेदेखि नै मुल्याङ्कन गरिरहेका रहेछन् । मेरो आफ्नो ट्रेकिङ कम्पनीले विशेष गरी फ्रेन्च बोल्नेहरुलाई फोकस गरी काम गरिरहेको हुनाले पनि मलाई यो अवसर मिलेको हो । भूकम्पको बेला मैले जुन जिम्मेवारी पाएँ, त्यो मेरो पहिलेको कामहरुका कारण हो । भूकम्पमा मैले काम गर्न पाएकै कारण अहिले यो सम्मान मिलेको हो ।
भूकम्पमा फ्रेन्च नागरिकको अवस्था कस्तो थियो ?
भूकम्पको बेला सायद सबैभन्दा बढी नागरिक फ्रान्सकै प्रभावित भएका थिए । दस जनाले ज्यान गुमाए । ४,८० जनालाई मैले नै विभिन्न ठाउँबाट उद्धार गरें । यसमा फ्रेन्च दुतावासको पनि सहयोग थियो । लाङटाङ, गोसाँइकुन्ड, हेलम्बु, गोर्खाजस्ता ठाउँहरुमा पुगेर फ्रेन्च नागरिकको उद्धार गरें ।
पटकपटक पराकम्प गइरहेको हुन्थ्यो, तपाईंले उद्धार गर्नुहुदाँ समूहमा काम हुन्थ्यो कि, एक्लै जानुहुन्थ्यो ?
त्यति बेला टिम बनाउन एकदमै मुश्किल थियो । साथीहरुले परिवारबाट अनुमति नपाउने । आफैलाई पनि परिवारले दबाव दिन्थ्यो, पराकम्पको डरले । त्यसैले मैले यो काम विशेषताः एक्लै गर्न बाध्य भएँ ।
तपाईंलाई पनि डर लाग्यो होला नि ?
सबै दुःख भोगेको त्यो बेला मैले आफ्नो आँखा बन्द गरी बस्न सकिनँ । भूकम्पले क्षतिग्रस्त अधिकांश ठाउँमा म पटकपटक पुगेको थिएँ । मलाई त्यहाँको भौतिक अवस्थाबारे जानकारी थियो । आफ्नो सेवाग्राहीलाई त उद्धार गर्नैप¥यो । सकुशल उद्धार गरेर उनीहरुको देश फर्काउनुपर्ने हाम्रो जिम्मेवारी नै हो । त्यसैले मैले हिम्मन हारिनँ । आफ्नो सेवाग्राही पर्यटकको उद्धारमा पनि खटिए । फ्रेन्च दुतावासले विभिन्न ठाउँमा फसेका फ्रेन्च नागरिकको बारेमा सबैभन्दा अघि मलाई नै जानकारी दिन्थ्यो । यसैको आधारमा म काममा लागें । काम गर्दा डर भन्ने कुरा त्यसै हराउँदो रहेछ ।
तपाईंलाई यो सम्मान फ्रान्सको राष्ट्रपतिले प्रदान गर्ने व्यवस्था हुदों रहेछ, तर, राजदुतबाटै लिनुभएछ, फ्रान्समा पुगेर त्यहाँको राष्ट्रपतिबाट ग्रहण गर्ने योजना बनाउनुभएको थियो कि ?
फ्रेन्च सरकारको प्रतिनिधि यहाँको दुत हुनुहुन्छ । उहाँको हातबाट पाउनु नै राष्ट्रपतिको हातबाट पाउनुसरह हो । त्यसैले मैले फ्रान्स नै पुगेर सम्मान ग्रहण गर्ने कुनै योजना बनाइनँ ।
ट्रेकिङ व्यवसायबाहेक तपाईंको अरु क्षेत्र के को हुन् ?
म पेसागत रुपमा अन्तराष्ट्रिय माउन्टेन गाइड पनि हुँ । धेरैपटक हिमाल आरोहण गरेको छु । धेरैलाई सगमाथाको चुचुरोमा पु¥याएको छु । स्की खेल्छु । नेपालमा स्कीको सम्भावना धेरै छ । यसको पनि प्रचारप्रसार गर्नुपर्छ भनेर लागिरहेको छु ।
नेपालमा स्की खेललाई प्रवद्र्धन गराउन कसरी सम्भव होला ?
खप्तड, मुस्ताङतिरको यसका प्रचुर सम्भावना छन् । तर, भौतिक सुविधा छैन । यसका लागि सरकारले पूर्वाधारहरु बनाइदिनुपर्छ । युरोपअमेरिकातिर केबलकार चढेर स्की खेल्न जान्छन् । यहाँ पनि केबलकारको व्यवस्था भए स्की खेल्नेहरुको ओइरो लाग्नेछ ।
तपाईंको आगमी योजना केकस्ता छन् ?
मेरो विशेष योजना केही छैन । नियमित काम गर्छु । सिजनमा ट्रेकिङ व्यवसायदेखि हिमाल आरोहणसम्मको काम गरिन्छ । फूर्सद भएमा गल्फ खेलिन्छ ।

सम्बन्धित समाचार