६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

नेपालको पर्यटन सम्राट् तथा समाजसेवी आङछिरिङ अब सम्झनामामात्र


२१ फाल्गुन २०७५, मंगलबार  

0
Shares

आङछिरिङ शेर्पा

डेढ दशक अघिको कुरा, त्यतिबेला म कान्तिपुर दैनिकमा आवद्ध थिए । कामकै सिलसिलामा एयरलायन्स सम्बन्धी कार्यक्रममा यति एयरलायन्सको मालिक आङछिरिङ शेर्पासँग भेट भयो । त्यो दिन नेपालको धेरै सफल व्यवसायीहरू भेला भएका थिए । त्यसअघि उहासँग सामान्य चिनजान भए पनि त्यो दिन १० मिनेट जति कुराकानी भयो । त्यही भेटले हाम्रो राम्रो चिनजान भयो ।

त्यसपछिका दिनहरूमा उहाले बेला बेला ‘फुर्सद मिलेमा मेरो अफिस पस्नु है’ भनेर आग्रह गरिरहनु हुन्थ्यो । रिपोर्टिङ नजिकै परेको वेला कहिलेकाही उहाको कार्यालयमा पुग्ने गर्थे । भेटमा ब्ल्याक कफीसंगै समसामयिक कुरामा भलाकुसारी हुन्थ्यो । त्यतिखेर उहाको यति एयरलायन्सको कार्यालय लाजिम्पाटको उकालोमा थियो । असाध्यै व्यस्त उहालाई कार्यालयमै भेट्न धेरै मान्छेहरू आइपुग्थे । जति व्यस्त भए पनि आफूलाई भेट्न कोही आए भित्र बोलाएर आत्मीयता दर्शाउने उहाको बानी थियो । एक दिन म त्यहा पुगेको बेला नेपाली कांग्रेस र एमालेका चर्चित नेताहरू समेत उहालाई भेट्न बाहिर कुरिरहेका थिए । उहाको अगाडीको टेबलमा तीन वटा फोनको लाइन थियो । साथीभाई , आफन्त आएको बेला फोन बजे पनि कुरा नटुंग्याएसम्म फोन उठाउनु हुदैनथ्यो । त्यतिखेर अहिलेको जस्तो धेरै व्यवसायहरू थिएन । आफनो दाइ ल्हाक्पा सोनामले थामसेर्कु चलाउन थालेपछि उहा यति एयरलायन्समै बढी व्यस्त हुन थाल्नुभयो ।

भेटको बेला उहा भन्नु हुन्थ्यो, ‘साथी भाइहरू सम्झेर भेट्न आउछन् ठुलाबडाहरुले जागिर लगाइदिनु भनेर रिक्वास्ट गर्छन्, यस्तै छ जीवन ।’ उहाको कुरा सुनेर घत लाग्यो । जागिरकै लागि सेना र प्रहरीको प्रमुखदेखि प्रधानमन्त्रीसम्मले आफना मान्छेहरूलाई काम लगाइदिन अनुरोध गरिरहेको उहाबाट थाहा पाउदा निकै गौरव लाग्यो । मनमा सोलुको एक शेर्पाको छोराले काठमाडौंमा कम्पनी खोलेर जागिरको लागि त्यो तहको व्यक्तिहरूले अनुरोध गर्नु आफैमा महत्वपूर्ण थियो । मैले पनि उहाको कार्यको गौरव महसुस गरे । हुन पनि सोर्सफोर्सबाट आएको होस वा प्रतिस्पर्धा गरेर जसरी आए पनि उहाको कम्पनीमा काम गर्ने कर्मचारीहरूले कम्पनीको छवि राम्रा बनाएको पाइयो । नेपालमा १२ वर्ष पत्रकारिता गर्दा नेपालको सबैजसो सफल व्यापारीहरूसँग भेट्ने मौका मिल्यो । हरेकको फरक फरक जीवनशैली र विशेषता थियो । त्यस मध्ये पनि फरक विशेषता थियो उहाँको ।

सधै आफनो व्यवसायमै दत्तचित्त उहा प्राय सरल पोशाकमै देखिन्थ्यो । संगत नभएको र चिनजान नभएको मान्छेको हेराइमा उहा घमन्डी लागे पनि संगत गरिसकेपछि उहा मिलनसार र सहयोगी । सबै क्षेत्रको व्यक्तिहरुको आत्मीयता साटने कला उहामा थियो । कुरा गर्दा गर्दै आइडिया निकालेर केही गरौ भन्ने स्वभावको उहासग लाग्ने कतिपय व्यवसायीहरूले पनि धेरै राम्रो सफलता हासिल गरिसकेका छन् । जीवनमा पैसा कमाउनु एउटा हो तर दीर्घाकालिन रूपमा राम्रो आम्दानीको स्रोत कसरी बनाउने भन्नेमा उहाको ध्यान हुन्थ्यो । त्यही सोच अनुरुप ट्रेकिङ, पर्वतारोहण, एयरलायन्स हुदै होटल, रिसोर्टहरुमा उहाले लगानी गरेको व्यवसायहरु सफल भएका छन । हर समय व्यवसाय र हप्ताको एक दुई दिन गल्फमा समय दिन रुचाउने उहा पछिल्लो समय राम्रो समाजसेवीको रूपमा चिनिनु भएको थियो । समाजमा कसैको मर्दापर्दा पुगीहाल्ने उहा कतिपय अन्य कार्यक्रमहरूमा खासै पुग्नु हुन्नथ्यो तर नपुगेपनि सहयोग सहयोग भने दिनु हुन्थ्यो । यति एयरलायन्सको टिकट बेचेको रकमको केही हिस्सा सामाजिक सेवामा सदुपयोग गर्ने उहाको सोच आफैमा महान् छ जुन अरूले गर्न सकेका छैनन् ।

यसको साथै हिमाली जिल्लाहरूमा खाद्यान्न ढुवानी र स्वास्थ्य क्षेत्रको सेवामा उहाको योगदान ठुलो रहेको छ । हिमाली जिल्लाको सेवामूलक अभियानबाट धेरैले सहयोग मिलेको छ । त्यस्ता धेरै राम्रा सामाजिक कार्यहरू गरिसकेर पनि उहा कहिल्यै पनि प्रचारमा आउन चाहनु भएन । एक दिन उहाको समाजसेवाबारे समाचार लेख्नका लागि उहासग कुरा गर्न खोजेका थिए , तर उहाले मान्नु भएन । ‘देशको लागि केही गरौं र दुख पाएकालाई सहयोग गरौं भन्ने हो तर पत्रपत्रिकामा आफनो तस्बिर छापेर प्रचारमा आउन मलाई पटक्कै मन लाग्दैन ।’ कार्यक्रमहरूमा भेट्दा पनि तस्बिर खिच्नमा उहा खासै रुचि राख्नु हुदैनथ्यो । समाजमा राजनीतिक, सामाजिक र आर्थिक जुनसुकै क्षेत्रमा कसैले केही राम्रो कार्य गर्न चाहे सहयोग गर्न उहा अग्रसर भइहाल्नु हुन्थ्यो ।

म अमेरिका आएपछि उहासग मेरो खासै भेट भएको थिएन । पछिल्लो समय नेपालको उत्कृष्ठ व्यवसायीको रुपमा चिनिनु भएको उहासंग गत बर्ष नेपाल जादा भेटने अवसर पाएको थिएन । तर गत फेबररी ७ तारिखको दिन अचानक आफनै हेलिकप्टरमा उहाको निधन भएको खबर सुन्दा निकै स्तब्ध भए । त्यस घटनापछि उहासगको विगतको सम्झनाहरु झलझली आउन थाल्यो ।

मेरो एक दशक कान्तिपुरको पत्रकारितापछि पहिलो नेपाली पत्रकार सगरमाथा आरोहण अभियानमा थामसेर्कु र यतिएयरलायन्सको तर्फबाट उहाले जुन सहयोग गर्नु भएको थियो त्यो अविष्मरणिय छ । कान्तिपुर पब्लिकेसनको १० औं वर्षगाठको त्यो अभियान आयोजक कान्तिपुर र सहआयोजक थामसेर्कु ट्रेकिङ र यति एयरलाइन्स थियो । कान्तिपुरको त्यो ऐतिहासिक वार्षिकोत्सवमा म र सिङ्गो कान्तिपुरकै प्रतिष्ठा उच्च बनाउनमा आङछिरिङ दाइ र उहाको दाइ ल्हाक्पा सोनामको ठुलो योगदान रहेको छ ।

सायद उहाहरुले त्यो सहयोग नगरेको भए मेरो अभियान सफल हुने थिएन होला । म जस्ता कैयौ युवाहरूको सपना पुरा गर्न उहाले अभिभावकत्वको भूमिका निर्वाह गर्नु भएको छ । कैयो युवालाई रोजगारी दिनु भएको छ । धेरैलाई विभिन्न क्षेत्रमा नियुक्तिको लागि सिफारिस गरिदिनु भएको छ । नेपालको हरेक राजनीतिक पार्टीलाई उत्तिकै सहयोग गर्दै आउनु भएको उहा जुनसुकै पाटीको सरकार आए पनि सबैसग उतिकै मिलेर काम गर्नु भएको थियो । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उहाको निधनले मुलुकले ठुलो क्षति र अभाव बेहोर्नु परेको छ । नेपाल र नेपालीको हितमा साथ दिदै आउनु भएको उहाको आत्मा चिरशान्तिको कामना ।

ओम माने पद्मे हुँ:

-लेखक न्युयोर्कबाट विगत १० वर्ष अघिदेखिन प्रकाशन हुदै आएको एभरेस्ट टाइम्स पत्रिकाका प्रधान सम्पादक हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ११ : १९ बजे