सिद्धार्थ गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन, थप प्रमाण

May 13, 2018

 -आङदावा शेर्पा-

प्राचीन कपिलबस्तु राज्य वर्तमान नेपालको मध्यपश्चिम तराईमा अवस्थित थियो । प्राचीन कपिलबस्तु राज्यको राजधानी शहर हालको नेपालको कपिलबस्तु जिल्लाको तिलौराकोटमा पर्दछ । प्राचीन कपिलबस्तु राज्यको राजदरबार वर्तमान कपिलबस्तु जिल्लाको तिलौराकोटमा रहेको धार्मिक, ऐतिहासिक र पुरातात्विक उत्खननको आधारमा पुष्टि भैसकेको छ ।

प्राचीन कपिलबस्तु राज्यको राजा शाक्य बंशीय शुद्धोधन थियो । प्राचीन कपिलबस्तु राज्यदेखि पूर्वतिर हालको नवलपरासी जिल्लाको देवदह र रामग्राम क्षेत्रमा कोलिया वंशको राज्य थियो । प्राचीन कपिलबस्तु राज्य र कोलिया राज्यकोबिचमा मैत्रीपूर्ण सम्बन्ध भएकाले प्राचीन कोपिलबस्तुको राजा शुद्धोधनको विवाह कोलिया राज्यको राजकुमारी मायादेवीसँग सुसम्पन्न भएको थियो ।

लेखक

भविष्यमा आफ्नो राज्यलाई बलियो र शक्तिशाली बनाउनको निम्ति बुद्धिमान, बलवान एवं सुयोग्य उत्तराधिकारीको चाहना राखी राजा शुद्धोधन र रानी मायादेवीले देवी देवताहरूको पूजा आराधना गर्दै आए तापनि बीसौं वर्षसम्म उनीहरूको सपना पूरा हुन सकेका थिएन । एक दिन बिहानै मायादेवीले सपनामा ६ वटा दाँत भएका सेतो ठूलो हात्ती आफ्नो दयाँतिर नजिकमा आएर सुँडले स्पर्श गरेपछि माया देवीलाई मनमा अत्यन्तै खुशी भएर आनन्दित भएको राजा शुद्धोधनलाई सुनाएका थिए । त्यस बेलाका मानिसहरूले सपनामा देखिएको घटनाहरूलाई भगवानले मानिसलाई दिएको सन्देश मानिन्थ्यो । त्यसैले राजा शुद्धोधनले विभिन्न विद्धान ब्राहमणहरुलाई बोलाएर मायादेवीले देखेको सपनाको अर्थ बताउन सभा बोलाएका थिए ।

सभामा उपस्थित ब्राहमणहरुले मायादेवी गर्भवती भएको बताएका थिए । साथै मायादेवीको गर्भमा पुत्र रहेको र भविष्यमा उनी अत्यन्तै बुद्धिमानी भएर सारा संसारलाई उपकार गर्ने छ भनेका थिए । ब्राह्मणहरुको भविष्यवाणी सुनेर मैले यसैको निम्ति पूजा आराधना गर्दै आएकोले भविष्यमा अत्यन्तै शक्तिशाली र सुयोग्य शासक हुने छ भन्दै राजा शुद्धोधनले खुसी व्याक्त गरेका थिए ।

एक जना जेठो ब्राहमणले यदि उनी शासक हुन चाहे भने उनी शक्तिशाली राजा हुनेछन् र शासन गर्न चाहेनन् भने उनी ठूलो महात्मा हुनेछन् तर यो उनी आफैमा निर्भर रहने छ भने । ब्राह्मणको भविष्यवाणी सुनेर राजा शुद्धोधन दुखित भए पनि आखिर म नै त उसको पिता हु यो शाक्य वंशको गौरव राख्नका निम्ति उचित निर्णय लिने छ भन्दै सभा विसर्जन गरेका थिए ।

सभा विसर्जनपछि सबैभन्दा कान्छो ब्राह्मण कोण्डानाले त्यस बालकको एउटा मात्र मार्ग देखेको देखेको हुँदा किन राजा शुद्धोधनलाई भविष्यमा त्यस बालक शक्तिशाली राजा वा महात्मा हुन्छ भनी जेठो ब्राह्मणलाई प्रश्न गरेका थिए । यो कुरा राजा शुद्धोधनलाई नभनेकोमा खुशी व्याक्त गर्दै जे हुनु पर्ने हो भएर नै छाड्छ र कसैलाई मद्दत पुग्दैन भने सत्य कुरा नबोल्नु असल हुने भनी जेठो ब्राहमणले जवाफ दिए ।

त्यस बेलाको समयमा पहिलो बच्चा माइतीमा जन्म दिनु पर्ने राज खानदानको परम्परा भएकाले मायादेवी आफ्ना बहिनी प्रजापति, सेवक र सुसारेहरुसहित कपिलबस्तुबाट बच्चा जन्माउनको निम्ति माइतीको घरतर्फ प्रस्थान गरेका थिए । ईसापूर्व ६२३ बैशाख पूर्णिमाको दिन मायादेवी माइतीको घरतर्फ यात्रा गर्ने क्रममा बिच बाटोमा पर्ने लुम्बिनीमा पुग्नसाथ मायादेवीलाई प्रसव वेदना सुरु भयो । धार्मिक ग्रन्थ र जनश्रृति अनुसार मायादेवीले सिद्धार्थ गौतमलाई जन्म दिने बेलामा ज्यादै आश्चर्यजनक घटनाहरू भएको बताइन्छ । आकाशमा चारैतिर इन्द्रेणी लागेको थियो । आपसमा शत्रुता भएका मानिसहरू एक अर्कामा अंकमाल गर्नु पुगे ।

मानिसहरूमा खुशी, दया, करुणा र आनन्दको अनुभूति भएका थिए । उत्तरको हिमालय पहाडका गूफाहरूमा तपस्या गरिरहेका ऋषि मुनिहरूले संसारमा नयाँ सभ्याता र खुशीका साथ उत्साहित भएको महसुस गरे । हुन त धेरै वर्ष पहिले दिपंकर बुद्धले शाक्यमुनि बुद्धको जन्म शाक्य वंशमा हुने भविष्यवाणी गरेका थिए ।

हिमालय पहाडमा तपस्या गरिरहेका ऋषि मुनिहरूमध्ये आशित ऋषिले ध्यान दृष्टिबाट यो संसारमा आश्चर्यजनक अति विशिष्ट बालकको जन्म हुने देखिएका थिए । मायादेवीलाई प्रसव वेदना शुरु हुनसाथ साल वृक्षको हाँगा निहुरिएर मायादेविलाई सहारा दिएका थिए । यही साल वृक्षको हाँगामा मायादेवीले दाहिने हातले समाते पछि सिद्धार्थ गौतमको जन्म भएको थियो । मायादेवीले सिद्धार्थ गौतमलाई जन्म दिनसाथ आकाशबाट मन तातो पानीले मायादेवी र नवजात शिशुलाई स्नान गराएर देवताहरूले पुष्प वृष्टि गरी स्वागत गरेका थिए । मायादेवीले नुहाएको त्यस स्थानमा रहेको पोखरीलाई पुस्करिणी भनिन्छ ।

लुम्बिनीमा मायादेवी मन्दिर नजिकमा रहेको पवित्र पोखरीलाई सन् १९९६ मा अशोक स्तम्भ पुनः पत्ता लागेको एक सय वर्ष पुरा भएको शतबार्षिकी कार्यक्रमको अवसरमा  पोखरीको पानी सुकाएर पोखरी सफा गर्दा त्यस पोखरीको फेदमा दुईवटा पानीको मुहान पत्ता लागेको थियो ।

सिद्धार्थ गौतमको जन्म भएको थाहा पाउनसाथ राजा शुद्धोधन अत्यन्त खुशी भएर नवजात शिशुलाई कपिलबस्तु राज्यमा स्वागतको विशेष तयारी गरेका थिए । कपिलबस्तु राज्यको युवराजलाई स्वागत गर्न टाढाबाट धेरै मानिसहरू जम्मा भएर आएका थिए । उत्तरको हिमालय पर्वतमा तपस्या गरी रहेका अशित ऋषिले आफ्ना ध्यानदृष्टीबाट सिद्धार्थ गौतमको जन्म भएको थाहा पाउनसाथ उनी पनि नवजात शिशुको दर्शन गर्न कपिलबस्तु आइपुगेका थिए । राजा शुद्धोधनले नवजात शिशु जन्मेको पाँचौ दिनमा बिशेष कार्यक्रमसहित न्वारानको कार्यक्रम राखेको थियो । नवजात शिशुको नामकरणको निम्ति ८ जना ब्राम्हाणहरु आमन्त्रण गरेका थिए । नवजात शिशुको नाम सिद्धार्थ राखियो । पाली भाषामा सिद्धार्थको अर्थ आफ्नो लक्ष्य पुरा गर्न सक्ने व्यक्ति जनाउँछ ।

अशित ऋषिले सिद्धार्थ गौतमलाई दर्शन गर्नसाथ बालकको अनुहारमा सुनौलो प्रकाश चम्किएको र सबै असल गुणहरूले मुक्त भएको अर्थात त्यस बालकमा बत्तीस लक्षणको गुणले युक्त भएको पाए । राजा शुद्धोधन र रानी मायादेवीले सिद्धार्थलाई अशित ऋषिको पाउमा राख्न खोज्दा अशित ऋषिले अस्वीकार गर्दै यो बालक भविष्यमा महान महात्मा हुने भएकाले सिद्धार्थको पाउमा मैले ढोग्नु पर्छ भने ।

केही मानिसहरूले यो बालक भविष्यमा अत्यन्तै शक्तिशाली शासक हुने बताएकोमा किन महात्मा हुन्छ भनी राजा शुद्धोधनले अशित ऋषिलाई सोधेका थिए । अशित ऋषिले यो बालक कुनै दिन राजा भन्दा पनि धेरै शक्तिशाली हुन्छ भनी आँशु झार्दै रोएका थिए । अशित ऋषि रोएको देखेर मायादेवीले आश्चर्य मानेर उनी रुनुको कारण जान्न चाहिन् ।

सिद्धार्थ गौतम महान महात्मा हुने समयमा म जीवित नहुने भएकाले उहाँको शिक्षा लिनबाट म बाञ्चित हुने भएकोले दुख लागेर रोएको अशित ऋषिले बताएका थिए । सिद्धार्थ गौतमले २९ वर्षसम्म कपिलबस्तुमा बिताएका थिए । त्यसपछि मानव जीवनलाई दुखबाट मुक्ति दिनको निम्ति ज्ञानको खोजीमा राजदरबार परित्याग गरी सन्यासको जीवन बिताएको ६ वर्षपछि वैशाख पूर्णिमाकै दिनमा सिद्धार्थ गौतमले बौद्धगयामा बुद्धत्व प्राप्त गरे । सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म आफूले प्राप्त गरेको ज्ञानको प्रचार गरी ८० वर्षको उमेरमा वैशाख पूर्णिमा कै दिनमा भारतको कुशीनगरमा महापरीनिर्वाण हुनु भएको थियो ।

  क्रमशः

 

-लेखक लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव हुन् ।

सम्बन्धित समाचार