१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बुद्धहरु नेपालमै जन्मेका हुन्ः नेपाल बुद्धहरुको पवित्र भूमि हो


११ मंसिर २०७४, सोमबार  

0
Shares

आङदावा शेर्पा

हालै सामाजिक सञ्जालमा बौद्ध धर्म गुरु दलाई लामाले बुद्धको जन्मस्थानबारे दिनुभएको अभिव्यक्तिले नेपालीहरु र बौद्ध धर्मावलम्बीहरुको मनमा तरंग उत्पन्न भएर धेरै नकारात्मक टिकाटिप्पणीहरु भएका छन् । दलाई लामा बौद्ध धर्मको महायान शाखा अन्तर्गत तिब्बती महायानको गेलुक सम्प्रदायको प्रमुख एवं भारतमा निर्वासित हुनु भएको बौद्धधर्मका अध्यात्मिक नेता हुनुहुन्छ । शाक्यमुनि सिदार्थ गौतम बुद्धको जन्म नेपालमा भएको होइन भनी दिनु भएको दलाई लामाको अस्वाभाविक अभिव्यक्तिले नेपालीहरुको मनमा चोट पर्न गएकोले नेपालीहरु तथा बौद्ध धर्मावालम्बीहरुलाई दुःख लाग्नु स्वभाविक छ ।

लेखक

दलाई लामा जस्तो महान धर्मगुरुबाट शाक्यमुनि सिदार्थ गौतम बुद्धको जन्म सम्बन्धमा यस प्रकारको अभिव्यक्ति आउनु हामी सबैको निम्ति दुःखद विषय भएपनि उहाँप्रति नकरात्मक टिप्पणी गर्दैमा वा गाली  गरेर मात्र समाधान हुन नसक्ने भएकोले शाक्यमुनि सिदार्थ गौतम बुद्धको जन्मभूमि लुम्बिनी नेपालमा भएकोले उहाँको अभिव्यक्तिलाई सच्याउन आवश्यक छ । ऐतिहासिक तथ्य, पुरातत्विक अध्ययन, अनुसन्धान र उत्खननबाट प्राप्त पुरातत्विक प्रमाणहरुको आधारमा शाक्यमुनि सिदार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएकोले संयुक्त राष्ट्रसंघको युनेस्कोले विश्व सम्पदा सूचीमा सुचिकृत गरेको हुदाँ परम पुज्य दलाई लामालाई उहाँले दिनुभएको अभिव्यक्तिलाई सच्च्याएर शाक्यमुनि सिदार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो भनी बौद्ध जगतमा पथ प्रदर्शन गर्न म यसै लेखमार्फत हार्दिक आग्रह गर्दछु ।

नेपाल प्रचीन समयदेखि नै बौद्ध धर्म, शिक्षा, संस्कृति र सभ्यताको केन्द्रको रुपमा रहेको छ । नेपालका विभिन्न स्थानहरुमा बौद्धमार्गीहरुको पवित्र एवं प्रसिद्ध ऐतिहासिक तीर्थस्थलहरु रहिआएका छन् । प्रचलित वंशावलीहरुमा शाक्यमुनि सिदार्थ गौतम बुद्ध अगाडिका महा मानव बुद्धहरु, विपश्वी बुद्ध, शिखी बुद्ध, विश्वभु बुद्ध, कनकमुनी बुद्ध, क्रुकुछन्द बुद्ध आदि बुद्धसँग स्वयम्भुनाथको प्रसंग जोडिएको पाइन्छ । प्रथम महामानव बुद्ध विपश्वी बुद्धले नागदहमा  एक कमलको बीज रोपे र सो बीजबाट कमलको फूल उत्पन्न भएर त्यही स्वयम्भु अवतरित भएर स्वयम्भु महाचैत्य निर्माण भएको स्वयम्भु पुराणको कथनमा पाइन्छ ।

इसापूर्व २४९ मा मध्य भारतका सम्राट अशोक आफ्ना धर्मगुरु उपगुप्तसहित आफ्ना राज्यभिषेकको बीसौं वर्षमा शाक्यमुनि सिदार्थ गौतम पवित्र जन्मस्थानको तीर्थयात्रा गरेर अशोक स्तम्भ निर्माण गरेका थिए । नेपालको लुम्बिनीमा रहेको अशोक स्तम्भ नै शाक्यमुनि सिदार्थ गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्म भएको प्रत्यक्ष र अकाट्य प्रमाण हो । शाक्यमुनि सिदार्थ गौतम बुद्ध भन्दा अघि नेपालको कपिलवस्तु जिल्लाको गोपीहवामा क्रुकुछन्द बुद्धको जन्म भएको र कपिलवस्तु जिल्लाकै निग्लिहवा कनकमुनि बुद्धको जन्म भएको भनी सम्राट अशोकले स्थापना गरेको ढुंगाको स्तम्भले बुद्धहरु नेपालमा जन्म भएको प्रमाणित गरेको छ ।

क्रमश:

 

लेखक लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार  १० : ५५ बजे