तीज गीतले नै गायिकाका रुपमा चिनायो-अनिता चलाउने

May 18, 2017

नेपाल तथा विश्वभर बस्ने नेपालीहरुमाझ तीजको रौनक सुरु भएको छ । विशेष गरी महिलाहरुको पर्वका रुपमा हेरिने यो विशेष मौसम तीज गीतकै कारण संगीतमय हुने गर्छ । प्रत्येक वर्ष तीजको रौनक सुरु भएसँगै गायक गायिकाहरुमा नयाँ गीत प्रस्तुत गर्ने होडबाजी नै चल्छ । यो होड्बाजीमा पुराना गायकगायिकाले विगतको निरन्तरतालाई जोड दिन्छन् भने नव गायकगायिका आफूलाई तीज गीतमार्फत स्थापित गर्ने प्रयत्न गर्छन् ।

यही प्रतिस्पर्धामा गत वर्षदेखि प्रवेश गरेकी हुन् अनिता चलाउने । छोटो अवधिमा आफ्नो गायकी क्षमताका कारण चर्चामा आउन सफल भएकी उनी २०६५ सालमा उच्च शिक्षा अध्ययनका लागि मध्यपश्चिमको बर्दियाबाट काठमाडौ आएकी हुन् । रेडियो नेपालबाट दिएको स्वर परिक्षणमा मिलेको सफलताबाट उत्साहित भएर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी उनै अनिता चलाउनेसँग एभरेस्ट टाईम्सका लागि बसन्त खड्काले गरेको कुराकानीको सम्पादित अंश:

तीजको मौसम चलिरहेको छ, गायक गायिकाहरुका लागि यो अलि बढी नै व्यस्त हुने मौसम भन्छन्, तपाईको दैनिकी कसरी चल्दैछ ?
अवश्य पनि, यो समय अलि व्यस्त रहने समय हो । म पनि केही व्यस्त नै छु । यो वर्ष पनि पशुपति शर्मा दाईसँग मिलेर नयाँ तीज गीत ‘झ्याप्पै बरिलै’ निकालेको छु । त्यस्तै तीजकै लागि भनेर स्वदेश तथा विदेशमा समेत विभिन्न स्टेज प्रोगामहरु तय भईसकेका छन् । माल्दिभ्समा कार्यक्रम तय भईसकेको छ त्यस्तै जापानका लागि पनि कुरा भईरहेको छ । त्यसैले तीजको रौनक सुरु भएसँगै केही व्यस्तता बढिरहेको छ ।

तपाई आधुनिक गीत गाएर सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएको थियो तर अहिले लोकदोहोरी तथा तीज गीतबाट चर्चामा हुनुहुन्छ कसरी यस्तो भयो ?
सुरुमा मैले शास्त्रीय संगीत सिकेको थिएँ । त्यसपछि मनोकांक्षा एल्बम मार्फत ‘जति अघि बढेपनि’ बोलको गीत बजारमा आयो । तर पछि तीजको अवसरमा पशुपति शर्मा दाजुसँग मिलेर ‘नाचिदेउ मैयाँ भाचिदेउ कम्मर’ बोलको गीत बजारमा ल्याएँ । उक्त गीतले बजारमा राम्रै चर्चा कमायो । धेरे भन्दा धेरै दर्शक तथा स्रोताहरुले उक्त गीतलाई मनपराईदिनु भयो । पछि मैले गाएका लोकगीतहरुलाई पनि स्रोताहरुले निकै मनपराईदिनु भयो । यसले मलाई शास्त्रीय संगीतको माध्यमबाट भन्दा पनि तीज गीत तथा लोकगीतका माध्यमबाट चिनिने अवसर प्रदान ग¥यो ।
हालै बजारमा आएको तीज गीत ‘झ्याप्पै बरिलै’ यूट्युवमा अपलोड भएको छोटो समयमा नै निकै धैरै भ्यू भइसकेको छ । यसरी दर्शक तथा स्रोताहरुले लोकदोहोरी तथा तीज गीत गाउने गायिकाका रुपमा निकै मन पराईरहनु भएकोमा उत्तिकै उत्साहित छु ।

तपाईले अनौपचारीक कुराकानीमा गायिका नै बन्नु भन्ने लक्ष्य थिएन भन्नुभएको थियो, तर अहिले उदयीमान चर्चित गायिकाका रुपमा स्थापित हुँदै हुनुहुन्छ । यो कसरी सम्भव भयो ?
(हाँसो) वास्तवमा म बर्दियाबाट उच्च शिक्षा हासिल गर्नकै लागि मात्र भनेर काठमाडौ आएकी हुँ । यस क्षेत्रमा लाग्ने मेरो कुनै योजना नै थिएन । त्यसमाथि मेरो पारिवारिक पृष्ठभूमि पनि अध्ययनमय थियो । मेरो परिवारका सवै सदस्यहरु शिक्षित हुनुहुन्छ । त्यसैले मलाई पनि अध्ययनकै लागि प्रोत्साहन गर्नुहुन्थ्यो । मेरो रुचि पनि अध्ययनमै थियो । अझ मेरो रुचि पत्रकारितामा थियो । मेरो प्लस टु पत्रकारिताबाटै हो । हाल आरआर क्याम्पसमा पत्रकारितामै स्नातक तह तेस्रो वर्ष अध्ययन गर्दै छु । अध्ययन पुरा गरेपछि आरजे वा भिजे बन्नुपर्छ भन्ने लक्ष्य थियो । तर २०६९ सालमा रेडियो नेपालमा स्वर परिक्षणको परीक्षा खुलेको केही अग्रजहरुबाट थाहा पाएँ । एकपटक उक्त परीक्षामा सहभागी बनाँै भन्ने लाग्यो र साथीभाईहरुले पनि हौसला दिनुभयो । उक्त स्वर परिक्षणको परीक्षामा एकै पटक पास भएपछि संगीत क्षेत्रमा लाग्ने हौसला जाग्यो । जसले आजको अवस्थासम्म आईपुग्न सहयोग र हौसला मिलिरहेको छ ।
उच्च शिक्षा अध्ययनका लागि काठमाडौ आएकी छोरीको गायिका बन्ने निर्णयलाई परिवारले कसरी लियो ?
अवश्य पनि परिवारले यसलाई सहज ढंगले लिने कुरै थिएन । सुरुमा परिवारलाई बुझाउन निकै गाह्रो भयो । पछि तीज गीत तथा लोकदोहोरी गीतबबाट निकै चर्चा र प्रशंसा पाउन थालेपछि परिवारले पनि सहज रुपमा लिनुभयो । हाल मेरो हरेक प्रयासमा परिवारको पूर्ण साथ र सहयोग मिलिरहेको छ ।

पछिल्लो समय लोकदोहोरी तथा तीज गीतहरुमा शब्द चयनमा लापर्वाही गरेको तथा यस क्षेत्रमा छाडापन भित्र्याईएको भन्दै आलोचना हुने गरेको छ । एउटा गायिकाका रुपमा तपाइले यसलाई कसरी लिनुभएको छ ?
लोकसंगीत भनेको परम्परागत संस्कृति र रितिरिवाजसँग सम्बन्धित विषय हो । त्यसैले यसलाई हल्का रुपमा लिइनुहुँदैन । अर्काे कुरा पछिल्लो समय बजारमा आउने लोकगीतहरु हुन वा तीज गीत नै किन नहोस । परिवारका सदस्यहरु सँगै बसेर हेर्न वा सुन्न नसक्ने शब्द र दृश्यहरु समेटिएका हुन्छन् । यो विकृति बाहेक केही होइन । परम्परागत संस्कृति र मौलिकतालाई बिर्सिएर सांगीतिक क्षेत्रमा भित्रिइरहेको छाडापनलाई मेरो पनि समर्थन हुँदैन । समय र दर्शक स्रोताहरुको माग अनुसार केही परिष्कृत हुन सकिन्छ तर त्यसमा शब्द र दृष्यको चयन गर्दा कम्तिमा समाजले पचाउन सक्ने किसिमको हुनुपर्छ । अन्यथा यसले विकृति मात्र निम्त्याउँछ ।
यो क्षेत्रमा स्थापित हुन र टिकीराख्न के गर्नुपर्छ जस्तो लाग्छ ?
यो क्षेत्रमा आउन र टिकीराख्नका लागि रहरले मात्र हुँदैन । यसकालागि निरन्तरता र लगनशिलता चाहिन्छ । साथै यस क्षेत्रमा बुझेर र सिकेर मात्र प्रवेश गरियो भने पछिका दिनहरु पनि सहज हुनसक्छन् । त्यसैले केही समयको रहरका लागि भन्दा पनि दिर्घकालिन रुपमा सांगीतिक क्षेत्रमा केही गर्ने हिसाबले प्रवेश गरियो भने त्यसले यो क्षेत्रमा स्थापित हुन सहज बनाउँछ । मैले जहिले पनि संख्यात्मक भन्दा गुणात्मक पक्षलाई बढी जोड दिने गरेकी छु । संगीत क्षेत्रमा पनि धेरै गीत गाउने होडबाजी भन्दा पनि जतिसक्दो गुणस्तरिय गीत गाउन सकियो भने त्यसले गायक गायिकाहरुको स्तरलाई माथि उठाउन सहयोग गर्छ । त्यसैले यस्ता विषयमा ध्यान दिनु पर्छ जस्तो लाग्छ ।
अन्त्यमा तपाईले हालसम्म गाएका गीतहरु तथा आगामी दिनका योजनाहरुका बारेमा केही बताइदिनुहोस् न ।
हालसम्म मैले झण्डै १५÷१६ वटा गीतमा स्वर दिएकी छु । त्यसमध्ये केही गीतहरुको नाम लिँदा रामजी खाँडसँगको ‘मेरो मायालाई’, ‘भुनभुन गर्ने भमराले’, ‘बितेका पलहरु’ मैले गाएका केही उत्कृष्ट गीतहरु हुन् । यस्तै आगामी दिनको योजनाको कुरा गर्दा गायिकाकै रुपमा करिअर अघि बढाउने र यसै क्षेत्रमा केही नयाँ गर्ने सोँच छ । साथै अध्ययनलाई पनि निरन्तरता दिने र एउटा स्थापित र चर्चित गायिकाको रुपमा लामो समयसम्म टिकीरहने लक्ष्य छ र यसका लागि आफ्नो तर्फबाट प्रयास जारी राख्छु ।

सम्बन्धित समाचार