महिला लेखकलाई हेप्ने र आरिस गर्ने धेरै छन्: अनुपम रोशी

January 20, 2018

साहित्यकार अनुपम रोशीका उपन्यासहरु कुमारी आमा, नाङगो मान्छे र कालो छायाँ प्रकाशित छन् । हालै उनको चौथो कृति कथा संग्रह मध्यान्तर पनि बजारमा आएको छ । बिएन पुस्तक संसारले यसलाई बजारमा ल्याएको हो । किताब बजारमा आएसँगै रोशी चर्चामा छिन् ।

सामाजिक यथार्थवाद, यौन र महिला केन्द्रित मुद्दा उठान गरेकाले पनि उनलाई एकथरीले यौन साहित्य र महिला साहित्यमा कलम चलाएकी भनेर आरोप लगाउने गरेका छन् । २०७४ का लागि युवा वर्ष मोती पुरस्कार समेत पाएकी उनी छोटा कथा र कवितामा पनि कलम चलाउँछिन् ।

हालै प्रकाशित मध्यान्तर प्रमोशनको लागि उनी देशका विभिन्न सहरहरु पुग्दैछिन् । यसै कथासंग्रह र उनको लेखनबारे एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः

 

चौथो कृतिको शीर्षक पहिलेका कृतिहरुभन्दा शालीन राखिनुको केही कारण ?

मलाई मेरा सबै कृतिहरुका शीर्षक शालीन लाग्छन् । विषय र घटना अनुसार नाम राखिन्छ । यसअघिका नांगो मान्छे, कुमारी आमा पनि विषयअनुसार शालीन नै थिए । यसमा कुनै कारणको आवश्यकता हुदैन ।

गरम विषयमा उपन्यास लेख्दै आउनुभएको थियो, यसपटक नरम विषयमा कथा लेख्नुभयो, कथामा केले तान्यो तपाईंलाई ?
गरम र नरम भन्ने कुरामा मलाई विश्वास छैन । त्यो मानिसको दृष्टिकोण मात्र हो । आख्यान लेख्ने भएकाले कथाहरु पनि लेखिएकै थिए । आफू नजिक घट्ने घटनाक्रमले नै कथा लेखाए ।

लेखन भोगाई पनि भनिन्छ, मध्यान्तरमा तपाईका भोगाइहरु कति प्रतिशत छन् ?
भोगाइ भन्दा पनि अनुभूतिको पाटो हो मध्यान्तर । यसमा मेरा भन्दा पनि समाजका घटनाहरु समावेश छन् ।

अनुभवभन्दा बाहिर पुरुषको प्वाइन्ट अफ भ्युबाट लेख्न कतिको मुश्किल हुन्छ ?
जो आफु होइन त्यसको प्वाइन्ट अफ भ्यूबाट लेख्नु सामान्य कुरा होइन । तर अध्ययनले त्यसलाई पनि बुझ्न र लेख्न सघाउछ । मनोविज्ञान बुझ्ने मानिसले त्यस विषयमा लेख्न सक्छन् ।

पुरुषहरु पनि पीडित हुन्छन्, ती विषयहरुलाई तपाईंलाई कतिको मतलब लाग्छ ?
म मानिसको जैविक अस्तित्वको विषयमा सोच्ने गर्छु । जहाँ पुरुष र महिला दुवैको अस्तित्व समान हुने गर्छ । मानवीयताका नाताले पनि सबैको आस्तित्व समान हुनु पर्ने मेरो बुझाई छ ।

मध्यान्तरका केही कथाहरुमा पुरुषलाई शोषकको रुपमा प्रस्तुत गर्नुभएको छ, तपाईले यसबाट दिन खोज्नुभएका सन्देशहरु केके हुन् ?
पुरुषलाई होइन समाजमा रहेका विकृत मानसिकताहरुलाई मैले प्रस्तुत गरेकी हुँ । यसमा पुरुषलाई मात्र हो भनेर बुझ्नु उचित नहोला । समाजिक रुपमा देखिएको विभेद र पितृसत्ताको आडम्बर नलेख्ने कुरा भएन । सन्देश भन्दा पनि जीवनचक्रलाई अनुभूत गराउन खोजिएको हो ।

कृति प्रचारका क्रममा पोखरा पुग्दा तपाईंले आफ्नो लेखनमा यौन मनोविज्ञान जोडिने बताउनुभएको थियो, के यो साँचै हो, यौन मनोविज्ञान साहित्य सबैभन्दा बढी बिक्ने भएकोले रोज्नुभएको हो ?
यहाँ फेरि पनि त्यही कुरा दोहो¥याउनु पर्ने भो । यौन भनेको जीवन हो । जीवनमा जसरी यौन छ त्यसरी यौन लेखिएको छ । बिक्ने र बिकाउने कुरा भन्दा पनि यथार्यसँगको साक्षतकार गरिएको हो ।

विगतमा तपाईंका किताब बजारमा आउँदा विमोचनका केही दिनसम्म बजारमा गरमागरम कुरा हुन्थ्यो, त्यसपछि सेलाइजान्थ्यो, अरु लेखकका कृतिको नियति पनि त्यस्तै हो कि तपाईको मात्र ?
यो एकदम गलत कुरा हो । विगतमा मेरा कृतिहरुको शुरुमा कुनै चर्चा नै भएनन् । तर अहिले ती कृतिहरु खोजी खोजी पढिँदैछन् । कुमारी आमा, कालो छायाँ, नांगो मान्छे, आज झन धेरै खोजिन थालेको छ । हल्लाले होइन कृतिले आफै बनाएको बजार हो मेरो । अरुको चै म भन्न सक्दिनँ ।

महिला सर्जकहरु कमैमात्रमा छन्, त्यसमा पनि धेरैले त विभिन्न आरोप खेप्नुपर्ने हुन्छ, यस्ता आरोपहरु आउँदा लेखनमा कतिको बाधा आउँछ ?
सबै भन्दा ठूलो आरोप भनेको महिलाले लेख्न सक्दैनन् भन्ने हो । यो पूर्णतया सत्य होइन । बरु महिलाले लेखेका कृती पढ्न हेला गरिएको हो । बाधा त निकै नै छ । किनकी महिलाहरुको लेखन अझै पनि संघर्षको फेजमा छ । प्रतिष्पर्धा त छ नै । साथमा हेपाह र आरिस पनि उत्तिकै छ ।

सम्बन्धित समाचार