यी हुन् नेपाली ब्लड बैंक अर्जुन मैनाली, दान गरिसके ७७ लिटर रगत

May 18, 2017

अर्जुनप्रसाद मैनालीले १ सय ५५ पटकमा ७७ लिटर रक्तदान गरिसकेका छन् । उनले दिएको रगतले ४ सय ६५ को ज्यान बचाउन मद्दत पुगेको छ । यसरी नै उनी सबैभन्दा बढी रक्तदान गर्ने नेपालीको रेकर्ड कायम सफल भएका छन् ।

४८ वर्षे मैनाली नेपाल हुदैं अमेरिकामा उत्साहका साथ रक्तदानमा लागे । काभ्रेमा जन्मेका मैनालीको सेवाको कदर गर्दै हालै विश्व रक्तदाता दिवसको अवसर पारी न्युयोर्क सिटिका मेयरले सम्मान गरेको छ । न्युयोर्क सिटिका मेयर बिल दि ब्लाजिओद्वारा हस्ताक्षरित उक्त सम्मानपत्रमा भनिएको छ, ‘नियमित रुपमा रगतदान गरी मानिसहरुको जीवन बचाउने अभियानमा लागेको तपाईंलाई सम्मान गर्न पाउँदा हामीलाई पनि खुसी लागेको छ ।’

उनलाई प्रेसिडेन्सिल भोलेन्टर्स अवार्ड स्वर्ण पदक, कंग्रेसम्यान, न्युयोर्क राज्यको एसेम्बलीले रगतदानमा दिएको योगदानको कदर स्वरुप सम्मान गरिसकेको छ । यतिबेला मैनालीसँग सम्मानपत्रको चाङ छ । तर, घमण्डले फुलेका छैनन् उनी । कलेज पढ्दा ब्लड डोनरको पुस्तकबाट प्रेरित भएका मैनालीले पहिलोपटक सन् १९८७ अगस्ट २० मा काठमाडौंको विशालबजारमा रक्तदान गरेका थिए । एकपटक गर्भवती महिलालाई रगत अभाव भएको देखेर उनको सोख रक्तदानमा ढल्केछ । ‘सुरुमा रक्तदानबारे केही जानकारी भए पनि दिने खासै सोच थिएन तर मान्छेलाई रगतको आवश्यकता देखेपछि निरन्तर रक्तदान गर्नतिर लागे,’ मैनालीले एभरेस्ट टाइम्सलाई भने, ‘हाम्रो समाजमा रगत दिएपछि कडा परिश्रम गर्नु हुदैन कमजोर हुन्छ भन्ने सोच थियो त्यसलाई प्रष्ट पार्न साइकल यात्रा गरे ।’

त्यो भ्रम र डर त्रास हटाउन मैनालीले मेचीदेखि बुटवल, पाल्पा हुदै काठमाडौं सम्म ३१ दिनमा २२ सय किलोमिटर साइकल यात्रा पुरा गरे । जनचेतना जगाउँदै निरन्तर लामो समय काठमाडौंमा गरेको रक्तदानपछि सन् २००० को नोभेम्बरमा अमेरिका आइपुगे । अमेरिका आउनुअघि मैनालीले नेपालमा ४८ पटक र भारतमा एक गरी ४९ पटक रक्तदान गरेका थिए । त्यसपछि अमेरिकामा पहिलो पटक भर्जिनियाको मरसि अस्पतालमा पहिलोपटक रगत दिए ।
त्यसपछि न्युयोर्कमा संस्थागत रुपमा २००८ को सेम्टेम्बर २५ मा किरात याक्थुङ चुम्लुङले चेन फेडरेसनमा आयोजना गरेको रक्तदान दोस्रो थियो । त्यसपछि सुरु भएको निरन्तर रक्तदान र जनचेतनामुलक कार्यसंगै अर्जुनले अमेरिकाको १४ राज्यमा आफै पुगेर हौसला दिनका साथै अस्ट्रेलिया, लन्डन, मकाउ, क्यानाडा, अमेरिका, मकाउ, बर्मुडा, नेपाल र भारतमा रक्तदान गरिसकेका छन् । साधारणतय मानिसले वर्षमा ६ पटकसम्म मात्र रक्तदान गर्न मिल्ने भएपनि मैनालीले भने अमेरिकामा सबैभन्दा धेरै २०१४ मा १९ पटक र २०१५ मा १७ पटक रक्तदान गरे । उनले यतिका धेरै रक्तदान गरेको जानकारी गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दिइसकेका छन् । मैनालीको पहलमा अमेरिकामा मात्र करिब १० औं हजार नेपालीले रक्तदान गरिसकेका छन् ।

केही वर्ष अगाडी सिटी फिल्डमा आयोजना भएको मेटस खेल प्रतियोगिताको स्कोरबोर्डमा उनको तस्बिर राखेर सम्मान गरेका थिए । उनी रक्तादान नै गर्ने भनेर अमेरिकाको अलस्कादेखि क्यालिफोर्निया, न्युयोर्क, टेक्सासलगायतका १४ राज्यमा पुगेर रक्तदान गर्न हौसला दिने कार्य गर्दै आइरहेका छन् । रक्तदानको साथै उनले नेपालका ५० भन्दा बढी विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
उनी एक छोरा र एक छोरीका पिता हुन् । उनको श्रीमती तारा कोइराला पनि रक्तदाता भएकोले श्रीमानको हरेक कार्यमा सहयोग गदै आएकी छिन् । जहाँजहाँ रक्तदान हुन्छन् अधिकांस स्थानमा गएर आफै गएर रक्तदानमा गर्न हौसला दिन्छिन् । २००८ को सेप्टेम्बर न्युयोर्कबाट उनले सुरु गरेको अभियानले अहिले अमेरिकाव्यापी भएको छ । स्थानीय सरकारले पनि महत्वपूर्ण कार्यको रुपमा लिएको छ ।

रक्तदान गर्ने ठुलो समाजसेवा हो । अमेरिकामा हरेक दुई सेकेन्डमा मान्छेलाई रगत चाहिन्छ । जहाँसम्म अस्पतालमा गएको १० बिरामीमध्ये एक जनालाई रगत अनिवार्य दिनु पर्ने देखिन्छ । वर्षमा ३० मिलियन ब्लड कम्पोनेन्ट चाहिन्छ । करिब ७ मिलियन अमेरिकनले वर्षमा रगतदान गर्छन् । अमेरिकामा ३५ प्रतिशत मान्छे रगत दिन योग्य हुन्छन ।

arjun mainaliनियमित रक्तदान होस भनेर सन् २००९ को जुन १७ मा मैनालीको अध्यक्षतामा न्युयोर्कमा ब्लड डोनर्स अफ अमेरिका दर्ता भएको थियो । उनकै सक्रियतामा विश्वका विभिन्न १९ मुलुकमा रक्तदान कार्यक्रम भएका छन् । उनीहरुलाई पनि संगठित गराउन २०१४ मा फ्लोरिडा राज्यमा मैनालीकै अध्यक्षतामा इन्टरनेसनल नेप्लिज ब्लड डोनर्स स्थापना भयो । ब्लड डोनर्स अमेरिकाकामा अहिले टेक्सासको डा नन्द रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको छ भने इन्टरनेसनल ब्लड डोनर्स, फलोरिडामा अजय सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिती बनेको छ । यी संस्थाहरुले अहिले अमेरिकाव्यापी र विश्वव्यापी रुपमा कार्य गर्न थालेको छ ।

मैनालीसँग रक्तदानबारे गरिएको कुराकानी

मानिसको शरीरमा रगतको मात्रा कति हुन्छ ?

पुरुषको हकमा प्रति किलो ७६ मिलिलिटर रगत हुन्छ । महिलाको हकमा ६६ मिलिलिटर हुन्छ । दैनिक जीवनको लागि ५० मिलिलिटर भए पुग्छ ।

एक जना व्यक्तिले वर्षमा कतिपटक सम्म रगत दिन सकिन्छ ?

नेपाल तथा युरोपमा हो भने वर्षमा ४ पटक मात्र दिने गरिन्छ । तर अमेरिका र क्यानाडामा भने वर्षमा ६ पटकसम्म दिने गरेको छ । तर प्लेटलेट भने वर्षमा २४ पटकसम्म पनि दिन मिल्छ ।

रगत दिएमा कमजोरी हुन्छ भन्छन् नि ? तपाईलाई कस्तो अनुभव भयो ?

सुरुमा धेरैजसोले कमजोरी हुन्छ की भनेर सोच्छन् । तर रगत दिएर कमजोर हुदैन भन्ने मेरो अनुभव रहेको छ । मैले २०१४ मा ६ पटक होल ब्लड र १३ पटक प्लेटलेट गरी १९ पटक रगतदान गरेको छु । त्यतिखेर ९ लिटर र अहिलेसम्म ७७ लिटर रगत बाहिर निकालिसकेको छ ।

arjun-newरगत दिन जादा के कुरामा विशेष ख्याल गर्नुपर्छ ?

खाली पेटमा रगत दिनुहुदैन । पानी प्रशस्तै पिएको हुनुपर्छ । स्वस्थ खानेकुरा खाएको हुनुपर्छ । रगत दिने अघिल्लो राती धेरै मदिरा सेवन गर्नु हुदैन ।

रगत बढाउनका के खानेकुरा उचित हुन्छ ?

कागती, सुन्ताल, टुसा उमारेको गेडागुडीहरु, पालुङगोको सागहरु र रातो मासु खाएमा रगत बढ्ने भएकोले त्यो खानेकुरा खानु उचित हुन्छ ।

रक्तदान गरेका रगतहरु बिरामीसम्म कसरी पुगिन्छ ?

अमेरिकामा रगत संकलन गर्ने संस्थाहरु करिब १५ सय जति छन । ती संस्थाहरुले संकलन गरेको रगत ब्लड सेन्टरले आफनो ल्याबमा विभिन्न थरिको रोगको बारेमा जाच गर्ने गरिन्छ । त्यसपछि स्वस्थ्य भएपछि कम्पोनेन्टहरु छुट्टयाएर अस्पतालको माग अनुसार सम्बन्धीत ठाउमा पठाउने गरिन्छ । त्यही अनुसार विरामीहरुलाई रगत पाउनेछ ।

रगतको समुहहरु कति प्रकार हुन्छन् ?

साधारणतय रगत आठ समुहका हुन्छन् । ए पोजिटिभ, ए नेगेटिभ, बि पोजेटिभ, बि नेगेटिभ, एबि पोजेटिभ, एबि नेगेटिभ, ओ पोजिटिभ र ओ नेगेटिभ हुन्छन । ओ नेगेटिभ रगत समुह भएको व्यक्तिले सवैलाई रगत दिन मिल्ने भएकोले युनिभर्सल ब्लड डोनर्स भन्ने गरेको छ ।

अमेरिकामा रगत दिनेहरुले ध्यान दिनु पर्ने कुराहरु के के हुन् ?

१६ वर्ष उमेर पुरा भएकोले अभिभावकको स्वीकृत लिनु पर्छ । ७५ वर्ष माथिकोले चिकित्सकको स्वीकृत लिनुपर्छ । रगत दान गर्ने गर्ने व्यक्तिको तौला कम्तिमा १ सय १० पाउन्डको हुनुपर्छ । रगतदान गर्ने भएपछि सोधिने करिब ५० वटा जति प्रश्नहरु व्यक्तिगत आचरण र स्वस्थ्य सम्बन्धित हुन्छन् । ती सबै पास भएपछि र शारीरिक परीक्षण गरेपछि मात्र रगत दिन गर्न पाइन्छ । अमेरिकामा रक्तदान गर्नेहरुको हकमा ३ वर्ष बसेको हुनुपर्छ । यदि बीचमा यात्रा गरेमा अर्को एक वर्ष कुर्नुपर्छ । तर अमेरिकाबाट नेपाल गएको बेला काठमाडौं गएर सीधै फर्केको अवस्थामा भने रगत दिन सकिन्छ तर मलेरिया प्रभावित दक्षिण भागमा भ्रमण गरेको हो भने एक वर्ष कुर्नुपर्छ ।

सम्बन्धित समाचार