रक्तदान गर्न न्युयोर्कदेखि अफ्रिका पुग्दाका कठिनाई र सफलता : अर्जुन मैनालीको अनुभव

September 18, 2019

अर्जुन मैनाली- 

पृथ्वीको भुमध्य रेखामा रहेको अफ्रिका महादेशको करिब मध्य भागमा छ संसारकै गरिब देश कंगो । प्राकृतिक स्रोतको हिसाबले त्यहा भएका खनिजहरु निकाल्ने हो भने २४ ट्रिलियन युएस डलरभन्दा बढी हुने अनुमान गरिएको छ । तर, उपनिवेशवाद, दासत्व, र भ्रष्टाचारले यो देशलाई सबैभन्दा गरिबमा परिणत पारेको छ ।

द्वितिय विश्व युद्धदेखिका हत्या हिंसा अझै रोकिएका छैनन् । जनसंख्या करिब ९ करोड र वार्षिक बजेट ७८ बिलियन अमेरिकी डलर छ । प्रतिव्यक्ति कमाई वार्षिक ८७० अमेरिकी डलर । नेपालको जनसंख्या ३ करोड र वार्षिक बजेट ८४ बिलियन अमेरिकी डलर । प्रतिव्यक्ति आम्दानी वार्षिक ९१९ अमेरिकी डलर छ । विश्वकै धनी देश संयुक्त राज्य अमेरिकाको जनसंख्या ३२ करोड र वार्षिक बजेट २० ट्रिलियन अमेरिकी डलर छ । यहा प्रतिव्यक्ति आम्दानी ६२ हजार अमेरिकी डलर छ । अहिलेको हवाइजहाजको बाटोअनुसार अमेरिकाको न्यूयोर्क बाट कंगो पुग्न २० घण्टा लाग्छ भने नेपालबाट १६ घण्टा लाग्छ ।

हरेक बर्ष अफ्रिका महादेशमा करीब छ लाख गर्भवती र सुत्केरी महिलाहरुको अत्यधिक रक्तश्रावका कारणले मृत्यु हुने गरेको छ । त्यस्ता बिरामीहरुले सजिलै रगत पाउन सकेका छैनन् । कुपोषण, विभिन्न रोग लागेका कारण धेरै जसो रक्तदान गर्न सक्ने अवस्थाका छैनन् । बाँकी रहेका केही स्वस्थ खालका युवा रगत दिन डराउँदा रहेछन् । अझ ‘मेरो शरीरको रगत अरुलाई किन दिने ?’ सोच्दा रहेछन् । केहीले दीइ हाले पनि ‘सित्तैमा किन दिने ?’ सोच्दा रहेछन् । अब मैले विकासित देशहरुमा साबिकको भन्दा कम रक्तदान हुन नदिने र अल्पविकसित देशहरुमा रक्तदान बृद्धि गर्नु पर्छ भन्ने लाग्यो । त्यसले अमेरिका, युरोप, अस्ट्रेलियाका युवालाई रक्तदान गर्न लगाइ रहें । अफ्रिकी देशहरु मलावी, युगान्डा, इथियोपिया, रुवान्डामा गएर आफ्नै रगत दान गरी केहीलाई भए पनि बचाउन प्रयास गरें । त्यहाँका युवाहरुमा स्वफुर्त रक्तदान गर्न उत्प्रेरणा गरेँ । अफ्रिकाकै कंगोमा संसारकै पहिलो उच्चतम मातृ मृत्युदर छ । त्यस्तै दोस्रो उच्चतम शिशु मृत्युदर छ ।

महिलालाई धेरै दुःख छ । बलिया पुरुषहरुले आफ्नो स्वार्थका लागि महिलाहरुको इच्छा विपरित दासी, बलात्कार, यौन शोषण गर्दा रहेछन ।
कंगोको यस्तो अवस्था थाहा पाएपछि सेप्टेम्बर ११, २०१९ मा त्यहाँ पनि गएर रक्तदान गरौँ भन्ने मनमा आयो । तीन महिना अगाडिमात्रै रुवान्डामा गएर रक्तदान गरेको थिएँ । रगत नै नपाएर संसारका कुनै पनि कुनामा कसैले पनि जीवन गुमाउनु नपरोस भन्ने मेरो चाहना । त्यसले आफ्ना व्यक्तिगत चाहनाहरुलाई थाँती राख्दै आफुभन्दा पनि धेरै टाढाका दुखीलाई सहयोग गर्न मलाई मन पर्छ । तर २०÷२२ घण्टा टाढा गै रक्तदान गरेर फर्किनु मेरो शरीरको लागि पनि हितमा छँदै छैन । मलाई एकदमै बाध्यताले त्यहा गएर रक्तदान गर्नु परेको जस्तो भयो । सधैं हर्यास ! सधैं प्रेसर ! यो मेरो कस्तो इच्छा हो ? यो मेरो कस्तो चाहना हो ? तमाम मेरा आफ्ना दुःख र समस्यालाई वास्ता नगर्दै आफुलाई सम्हालेँ ।

कंगोमा गएर रक्तदान गर्ने मेरो योजना अमेरिकि सरकारलाई जानकारी गराएँ । अमेरिकि सरकारले आफ्नो नागरिकहरुलाई कंगोमा तत्काल नजान र गैइ हाले पनि साबधानी अपनाउन सुचना जारी गरेको रहेछ । कंगोमा राजनीतिक द्वन्द्व, जातीय द्वन्द, लुटपाट, अपहरण, चोरी, हत्या जस्ता हिम्सा हुदो रहेछ । बीस वर्षको अबधिमा ५४ लाखले अकालमै जीवन गुमाइ सकेका रहेछन् । अझ एचआईभि एड्स, झाडापखला, औलोको पनि उत्तिकै जोखिम रहेछ । मेरा सहकर्मीले कंगोमा जानु भनेको आत्महत्या गर्न जानु जस्तै हो भनेका थिए ।

विश्व स्वास्थ्य संगठनले कंगोमा इबोला रोग धेरै नै बढेको भन्दै अन्तर्राष्ट्रिय संघसंस्थाको ध्यानाकर्षण गराएको एक हप्तामै कङगोमा इबोला रोगको महामारीलाई नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्य मन्त्रीले आफ्नो पदबाट जुलाई २३, २०१९ मा राजीनामा नै दिएका रहेछन । यस्तो थाहा पाए पछि जुलाई २५, २०१९ मा न्युयोर्कस्थित कंगोको कन्सुलेटमा भिसाको लागि निवेदन दिएँ । त्यतिखेर मसँग न्युयोर्क देखि कंगोमा जानआउन हवाइजहाज टिकट थिएन । बस्नको लागि होटेल बुक पनि गरेको थिएन । त्यसैले मेरो निवेदन स्विकृत भएन । मैले त्यहाँका अधिकृतलाई ‘तपाइले मेरो पासपोर्ट राम्रोसँग हेर्नु त भयो नि ?’ सोधेँ । मैले अमेरिकन पासपोर्ट छ भनेर फुर्ती लगाउने कुरा पनि भएन । विगत ६ बर्षमा १६ देशमा रक्तदान उत्प्रेरणा गराउन जाँदा लिएका भिसा र छापहरुले भरिएर पासपोर्टमा दुई पेजमात्र बाँकी थिए । म आफ्नै खर्चमा त्यहाँ गएर रगत दान गर्छु, रक्तदान गर्न उत्साह जगाउँछु भन्दा पनि भिसा नै दिएनन् । हैन! उनिहरुलाई आफ्ना बिरामी जनताहरुका बारेमा चिन्ता छैन भने पनि मलाई चाहिँ के को मतलब नि’ सोच्ने कुरा नै भएन ।

केही आर्थिक सहायता पाउन ‘गोफन्डमी’ कार्यक्रममा मेरो कुरा राखें । साथीहरुले सहयोग पनि गर्न थाल्नु भयो । गोफन्डमार्फत जम्मा ९९७ डलर सहयोग गर्नु भएको छ। चाहिने रकम जुट्ने भएपछि साथी टीका ढकालसँग क्रेडिट कार्ड लिएर टिकट र होटेलको कोठ बुक गरेँ ।

मैले कंगोका युवाहरुलाई रक्तदान गर्न हौसला दिन आउँदै छु भन्दा केही व्यक्तिहरुले मलाई शंकाको दृष्टिले हेरेछन् । कङ्गो, किसनगानीकी युवती जिता अंवाङगाले म त्यहाँ गएपछि कुनै संबेदनशील योजना गर्दै हुनुहुन्छ कि भनेर सोधिन् । सुरुमा त्यहाको रक्त संचार सेवाको संयोजक चेरुबिन बोङगोलाई पनि त्यस्तै भान भएछ । उनले भिसाको लागि सिफारिस गर्न सक्दिन पनि भनेका थिय ।’ तपाईंहरुले मेरोबारेमा ठुलै भ्रम पाल्नु भएको रहेछ’ म विशुद्ध रक्तदाता हुँ भनेँ । रक्तदान अभियन्ता भएको विश्वास दिलाउन निकै समय खर्चिनु प¥यो । त्यसपछि मेरो सबै कुराकानीबारे माथिल्लो निकायमा पठाएछन् । त्यहाबाट निम्न ईमेल पाएँ ।

पुन जुलाई २६ मा युपीएस (भोली पल्टै पुग्ने गरी) बाट कंगोको कन्सुलेट कार्यालय, न्युयोर्कमा उपरोक्त निमन्त्रणासहित भिसाको लागि निवेदन गरें । कंगो कन्सुलेटले मेरो पासपोर्ट एक महिना राखेर अगस्ट २८ मा भिषा नै नलगाइकिन फिर्ता गरे । भिसा नपाए पनि म हतोत्साहित भईनँ । अफ्रिकाका धेरै देशहरुमा पनि रक्तदान उत्प्रेरणा गर्नु नै छ । अगस्ट ३० मा केन्या देशमा रक्तदान उत्प्रेरणा गर्न जान रिपब्लिक अफ केन्याको कन्सुलेट कार्यालय, न्युयोर्कमा भिसाको लागि नेबेदन गरेँ ।

मार्च १५, २०१९ मा केन्या रेडक्रस सोसाइटीका महासचिव अब्बास गुलेटले केन्यामा वार्षिक पाँच लाख युनिट रगत चाहिनेमा करिब आधा मात्रै उपलब्ध हुने गरेको छ भनेका थिए ।

यस्तो थाहा पाएपछि केन्यामा रक्तदान उत्प्रेरणा गर्न जाने सोच बनाएँ । त्यहाकी एक रक्तदाता ऐशा डफल्लासँग केन्यामा रक्तदान उत्प्रेरणा कार्यक्रम गर्न योजना राखेँ । उनले आफ्ना साथीहरु र रक्त संचार सेवासँग मेरो इच्छा पुर्‍याइनँ ।
केन्याको राष्ट्रिय रक्त संचार विभाग तथा मानव अङग प्रत्यारोपणका प्रमुख डा फ्रिदा ए गोवेडीले ‘केन्यामा रक्तदान संस्कृति बढाउन तपाईंको

उपस्थितिले ठुलो विशालता महसुस गर्न सक्दछौँ’ भन्दै मलाई आतिथ्य गर्न उत्साहित भएको बताएका थिए । अगस्ट २९, २०१९ का दिन केन्याका स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सेवाका लागि महानिर्देशक डा जे वेकेसा मासाबीले केन्यामा रक्तदान अभियानमा भाग लिन मलाई आमन्त्रित पत्रमा ‘तपाईंको उपस्थिति र सहभागिता स्वैच्छिक गैरपारिश्रमिक रक्त दाताहरूलाई नियमित रूपमा रक्तदान गर्ने संस्कृति दिन प्रोत्साहित गर्नेतर्फ लक्षित छ । तपाईंको उपस्थितिले सम्भावित दाताहरुलाई ज्यान बचाउन रक्तदानको भावना ग्रहण गर्न उत्प्रेरित गर्दछ’ भनेका थिए । त्यति भएपछि सेप्टेम्बर ३ मा केन्याको भिसा पाएँ ।

मैले लिएको कंगो जाने टिकटमा हवाइजहाज करिब दुई घण्टा केन्यामा रोकिएर त्यहा केही उत्रिने र केही चढ्ने हुनुहुने थियो । त्यसैले म त्यही टिकटबाट केन्यामा ओर्लिन्छु भन्ने मनसायले एअरपोर्ट गएँ । तर एअरपोर्टमा मलाई त्यो टिकटबाट हवाइजहाज यात्रा गर्न पाइनँ । मैले केन्याका रक्तदाताहरुको संस्था केही सहयोग गर्छु र आफ्नो दैनिकी खर्चको लागि छुट्याएको रकम १,०१६ डलरबाट पुन अर्को टिकट किनेँ । कस्तो अचम्म भयो भने, पहिलेको टिकटमा भएको जस्तै मिति र समय भएको यात्रा तालिका नै उल्लेख भएको नयाँ टिकट पाएँ । यहाँनेर म ठगिएँ । म बेखर्ची पनि भएँ । १२ हजार किलोमिटरको दुरीको १५ घण्टाको हवाइयात्रा भरी मेरो मन रोयो । तर म हतोत्साहित भईनँ ।

नैरोबी, केन्याको एअरपोर्टमा मलाई स्वागत गर्न केन्याकी सर्बा्धिक महिला रक्तदाता एैसा र पुरुष रक्तदाता अल्फा स्वागत गर्न आउनु भएको रहेछ । उहाँँहरुसँगै म सिधै त्यहाँको रक्तसञ्चार सेवामा गएँ । आधा घण्टा जति कुरा गरेपछि म नजिकैको होटेल हिलपार्कमा गएँ ।

केन्याको रक्त सन्चार सेवामार्फत स्वास्थ्य मन्त्रालयले म रक्तदान नै गर्न भनेर न्युयोर्कदेखि नैरोबीमा आउने थाहा पाएपछि सरकारी अधिकारीहरूले पनि विशेष चासो राखेका रहेछन् । किनभने उनीहरुले मेरो लागि त्यहाँ बसिन्जेलसम्म एउटा कार र ड्राइभर उपलब्ध गराएका थिए । त्यसदिन बेलुका एनआरएन केन्याको पदाधिकारीहरुले मेरो लागि आयोजना गर्नु भएको रात्रि भोजमा सहभागी भएँ । वहाँहरुलाई आफ्नो अनुकुलमा सानै भएपनी रक्तदान कार्यक्रम गर्न अपिल गरें । विश्वव्यापी रुपमा मेरो रक्तदान अभियानको काम र कुरा बारेमा जानकारी गराएँ ।

केन्याको स्वास्थ्य मन्त्रालयले मेरो लागि बिशेष कार्यक्रम नै बनाएको रहेछ । सम्भाबित रक्तदाता उपस्थित हुने समय, म कार्यक्रममा पुग्ने समय, केन्याकी सर्वाधिक रक्तदाता महिलाको मन्तब्य, केन्याको सर्वाधिक पुरुषको मन्तब्य, मेरो मन्तव्य, स्वास्थ्य मन्त्री (क्याबिनेट सेक्रेटरी) सिसिली कारीउकीको मन्तव्य, उपस्थित भएका हरुले मसँग फोटो खिच्ने समय, संचारमाध्यमसँग अन्तरवार्ता र मेरो रक्तदानको समय निर्धारण गरेको थियो । अझ उनीहरुले म रक्तदान नै गर्न भनेर अमेरिकादेखि केन्यासम्म आउन लागेको भनेर राष्ट्रिय पत्रिका ‘डेली नेसन’ मा अघिल्लो दिनमा समाचार नै छापेका रहेछन् ।

भोलिपल्ट बिहान १० बजे राष्ट्रिय अभिलेख मैदान, नैरोबीको प्राङणमा आयोजित कार्यक्रम स्थलमा पुगें । सयौँ सर्वसाधारण र सम्भावित रक्तदाताहरुको उपस्थित रहेको थियो । ठीक ११ बजे मन्त्रीको आगमन भयो । लाइनमा म भन्दा अगाडि स्वास्थ्य मन्त्रालयका दुईजना वरिष्ठ पदाधिकारीहरु हुनुहुन्थ्यो र म तेस्रो नम्बरमा उभिएको थिएँ । लाइनमा उभिएकाहरुसँग हात मिलाउँदै मन्त्री म उभिएको ठाउँमा आइपुगेपछि ठक्क उभिन ‘तपाइलाई केन्यामा स्वागत छ, तपाईं सर्वाधिक रक्तदातासँग भेट गर्न पाउँदा धेरै खुशी लागेको छ, तपाईंले हाम्रो देशमा रक्तदान बढाउन साझेदारिको काम गर्नुभयो, अब मन्चतिर जाउँ’ भनिन् ।

मन्त्रीले भनिन्, ‘हाम्रो देशमा पनि स्वयमसेवी रक्तदानको सँस्कार बसाउनु पर्छ, यस्तो अवस्थामा रक्तदानको क्षेत्रमा उल्लेखनिय काम गरेका विश्व प्रख्यात रक्तदाता अर्जुन मैनालीको अनुभवले हाम्रा केन्याली जनताहरूलाइ रक्तदान गर्न थप उत्साह मिल्नेमा विश्वस्त भएकी छु ।’
मैले बोल्ने क्रममा विश्वभर रगतकै अभावमा कसैले पनि जीवन गुमाउनु नपरोस भन्दै यो स्वयंसेवी रक्तदान अभियान लिएर आज तपाईंहरु सामु रक्तदान नै गर्न भनेर न्युयोर्कदेखि आएको बताए । त्यसपछी उपस्थित ब्यक्तिहरुले ताली बजाएर स्याबसी व्यक्त गरे । मैले ६ वटै महादेशका १६ वटा देशमा गएर रक्तदान गरी सकेको छु, केन्या मेरो १७ औँ देश हो ।

लगत्तै प्रमुख अतिथी मन्त्री रिवन काटेर कार्यक्रम उद्घाटन गर्न मलाई पर्खी राख्नु भएको रहेछ, उहाँले मलाई तानेर रिवन काट्दा संगै राख्नु भयो । रक्त संचार सेवाकी निर्देशक डा फ्रिदाह गोवेदीले रक्तदान गर्न स्वास्थ्य परीक्षण गर्न लगिन् । बिध्युतिय उपकरणबाट मेरो रक्तचाप परिक्षण गर्दा एक अंकले बढी भयो । ला ! अब रक्तदान गर्न नपाउने भएँ भन्ने चिन्तामा परेँ । स्वास्थ्य परिचारिकाले पुन परिक्षण गरिन् । बल्ल तल्ल स्वास्थ्य परिक्षण पास भएँ । रगत दिने मेचमा मलाई सुताएपछी मेरो पाखुरा हेर्न मन्त्री आँफै आफ्नु भयो । बिगतमा रक्तदान गर्दा सुइ घुसारेको ठाउँमा हेर्दै स्पर्स गर्नु भयो । सायद वहाँलाई यत्तिका पटक रगत निकाल्दाको पाखुरा कस्तो होला जान्ने उत्सुकता थियो कि! मैले रक्तदान गरी सकेपछि मन्त्री आफ्नो मन्त्रालय जानु भयो । करीब १ बजे तिर रक्त संचार सेवाका पदाधिकारी साथ म पनि दिवा भोज गर्न गएँ । एउटा करीब दुई पाउ जतिको सिङैगै माछा र ढिडोँ खाएँ । फेरी एक घण्टा जती रक्तदान भई रहेको ठाउँमा बसेँ । हरेक रक्तदाताहरुलाई भेट गर्दै रक्तदान गर्नुभएकोमा धन्यवाद छ भनेँ । पाँच छ जनाले त ’तपाईंको रक्तदान अनुभवले म त साह्रै प्रभावित भएँ अब म पनि बर्षको चार पटक रक्तदान गर्छु’ भने । रक्तदान गर्न साना साना केटीहरु पनि आएका थिए ।

करिब ४ः ३० बजेतिर ‘मन्त्रीले वहाँकै कार्यालयमा बोलाउनु भएको छ’ भन्दै रक्तसन्चार सेवाको पदाधिकारीले मलाई मन्त्रालयमा लिएर गए । मन्त्रालयमा सानो सेरोमनी कार्यक्रम राखिएको रहेछ । स्वास्थ्य महानिर्देशक डा जोन मससबी, प्रमुख सल्लाहकार डा प्रशादलगाएत संचार क्षेत्रका प्रतिनिधिहरु र अन्य गन्यमान्यहरु उपस्थित रहेको थियो । म आउने समाचारले सायद युवाहरुको राम्रो उपस्थित भएको होला भन्ने मलाई लाग्यो । मन्त्रीले ‘अमेरिका देखी यहाँसम्म आएर रक्तदान बढाउन साझेदारी गर्नु भएकोमा धन्यवाद छ,’ भनिन्, ‘यस्तो अवस्थामा रक्तदानको क्षेत्रमा उल्लेखनिय काम गरेका मैनालीको अनुभवले हाम्रा केन्याली जनतालाई रक्तदान गर्न थप उत्साह मिल्नेमा विश्वस्त भएकी छु,’ भनिन् । मन्त्रीले ‘रक्तदानको तपाईंको योगदानको उच्चतम कदर गर्दछौ भन्दै’ प्रशंसा–पत्रले सम्मान गरेकी थिइन् । मेरो रक्तदान उत्प्रेरणा अभियानले अफ्रिकामा धेरै जनालाई रक्तदान गर्न उत्साहित बनाउन म सफल भएको छु जस्तो लागेको छ ।

भोलि पल्ट बिहान पृथ्वीको बिच भाग भुमध्ये रेखामा जाने योजना बनाइ सुतेँ । बिहान ७ बजे डा फ्रिदाहले फोनबाट ’तपाइको जि बि एस टेलिभिजनमा एक बजे अन्तरबार्ता तय भएको छ’ भनिन् । अजकल्टो समयमा कार्यक्रम थपिएकोले घुम्न जान सकिएन । टि भि मा अन्तरवार्ता दिएपछि पाँच बजे रक्त संचार सेवाकी निर्देशकको कार्यालयमा गई पुरै तीन दिनको समिक्षा गर्‍यौ । त्यसपछि ती निर्देशक र त्यहाँकी सर्वापधिक रक्तदाता ऐशाले मलाई एअरपोर्टमा ७ बजे पु¥याइ दिनु भयो । हवाइजहाजमा जान बोर्डिङ पास लिएपछि अध्यागमन अधिकारीको टेबलमा बोर्डिङ पास र पासपोर्ट दिएँ । एअरपोर्ट भित्रका पसलमा बेच्न राखेका समाचार पत्र ‘पिपुल डेली’ मा मेरो समाचार देखेँ । एक प्िरत लिएर म १०÷५५ बजेको जहाजबाट शुक्रबार बिहान ७ बजे सकुसल न्युयोर्क आइ पुगेँ ।

सम्बन्धित समाचार