Everest Times

epaper-18

पिक्चरमा आफ्नै अभिनय हेरेर भावुक भएँ

thakuri

काभ्रे जिल्लाका होक्से, पाँचखाल, ज्याम्दी, जैसीथोक, महादेवस्थान, मेच्छे र कुन्ताबेसी गाविसलाई मिर्गौला व्यापारीले मुख्य गन्तव्य बनाएका छन् । सामान्यतया एक लाख २० हजार रुपैयाँमा एउटा मिर्गौला किनबेचको सहमति हुन्छ, तर भारतका अस्पतालमा मिर्गौला झिकिसकेपछि एजेन्टले भनेजति पैसा नदिने र उल्टै कुटपिट गरेर पठाउने गरेका छन् । भारतीय गल्लीमा कुटाई खाएर मुस्किलले बचाएर ल्याएको पैसाले कुनै पनि परिवारको उन्नति भएको छैन । बरु जुवा र मदिराको लतले दुर्गति नै भएको छ । यही कथामा ‘पिक्चर’ बनेको छ । र, ‘पिक्चर’बाट डेब्यु गरेकी छिन् अभिनेत्री आइसा ठकुरीले ।
सडक नाटकबाट अभिनय थालेकी आइसाले यसअघि पनि केही फिल्म खेलिसकेकी छिन् । तर, ती फिल्मको नाम उनले बताउन चाहिनन् । डेब्यू फिल्मबारे कसैले सोधे उनी ‘पिक्चर’ को नाम लिन्छिन् । ‘फिल्मले दर्शकहरुलाई यसरी बाँधेर राख्छ कि उहाँहरु हलबाट सोच्दै निस्कनुहुनेछ,’ आइशाले सुनाइन्, ‘पूरै युनिटले नै यति धेरै मिहिनेत गरेका छौँ कि, सबैको आशा पनि यही फिल्ममा अडेको छ ।’
फिल्मको अडिसनबारे चन्द्र नेपाली (फिल्मका मुख्य कलाकार) बाट सुनेपछि उनी पनि अडिसनमा गइन् । त्यहाँ लाइन लामै थियो, १८÷२० जनासँगै उनले पनि अडिसन दिइन् । तर, उनलाई आपूm छानिन्छु भन्ने लागेको थिएन रे ! ‘मंगोलियन फेसको कलाकार चाहिएको रहेछ,’ उनले अडिसन सम्झिँदै भनिन्, ‘उमेश सरलाई मेरो अभिनय मनपरेछ ।’

aaisha-thakuri
६ वर्षदेखिको निरन्तर सडक नाटकको यात्राबाट आफू पर्दामा आइपुगेको उनले सुनाइन् । ‘सडकबाट पर्दासम्म आइपुग्दा खुसी लागेको छ, पर्दाका कामहरुमा अभ्यस्त हुन थालेकी छु,’ आइसाले भनिन् । वीरेन्द्र हमालको एम आर्टबाट कला यात्रा थालेको उनले सुनाइन् । स्नातकको अन्तिम तह अध्ययन गरिरहेकी यी नायिका हाल म्युजिक भिडियो, विज्ञापन र स्टेज कार्यक्रमहरुमा व्यस्त हुन थालेकी छिन् ।
पिक्चरमा उनी टिपिकल गाउँलेको भूमिकामा छिन् । फिल्म अभिनयपछि नै पर्दामा पिकअप लिन थालिएको उनी बताउँछिन् । स्टेज कार्यक्रममा उनको प्रस्तुति नाच हो । भन्छिन्, ‘म सडक नाटकबाट डान्सतिर लागेँ, अहिले स्टेज कार्यक्रमका लागि डान्स काम लागेको छ ।’
पिक्चरको कथावस्तु राम्रो भएको र यही फिल्मबाट आफ्नो भाग्य चम्किनेमा उनी विश्वस्त छन् । त्यसैले पछिल्ला समय आएका फिल्मका अफर कथा चित्त नबुझेको भन्दै छाडेकी छिन् ।
‘पिक्चर’ हालै उनकै गृहजिल्ला सिन्धुलीमा प्रदर्शन गरिएको थियो । फिल्म प्रदर्शनपछि दर्शकको प्रतिक्रियाले आफू उत्साहित भएको उनले सुनाइन् । ‘फिल्ममा आफ्नै अभिनय हेरेर भावुक भएँ,’ पहिलोपल्ट सिन्धुलीमै फिल्म हेरेकी उनले भनिन्, ‘सिन्धुलीका दर्शकहरूले एकदमै मनपराउनुभयो, उहाँहरुको प्रतिक्रियाले हौसिएकी छु,’ उनले भनिन् ।
राजधानीनजिकैको जिल्ला काभ्रेका गाउँबाट भारतसम्म पुगेर मिर्गौला बेच्नेहरुको कथा÷व्यथा पिक्चरमा प्रस्तुत गरिएको छ । पत्रपत्रिकामा यस्ता समाचार पढे पनि वास्तविक कुरा भने फिल्ममा अभिनय गरेरै थाहा पाएको नायिका आइसाले बताइन् । फिल्म हेरिसकेपछि उनी काभ्रेका मिर्गौला व्यापार हुने गाउँमा पुगिन् । त्यहाँ पिक्चरकी पात्र ‘फुलमाया’ जस्ता धेरै महिला देखिन् । उनीहरूका दुःख पनि उनले पर्दामा उतारेजस्तै थियो । ‘केही परिवारको जीवन मिर्गौला बेचेरै चलेको सुन्दा एकदमै दुःख लाग्यो,’ उनले भनिन् ।

Picture_poster
शिक्षाको कमीले नै मिर्गौला बेच्न बाध्य भएको उनको बुझाइ छ । यस्ता कार्य रोक्न र सरकारलाई घच्घच्याउन फिल्मले ठूलो काम गर्ने उनले बताइन् । ‘काभ्रेका केही ठाउँका गाउँलेलाई मिर्गौला कतिवटा हुन्छन् भन्नेसमेत थाहा रहेन,’ उनले भनिन्, ‘एउटा बेचे अर्को वर्ष फेरि फलिहाल्छ नि भनेर दलालहरूले फकाउँदा रहेछन्, दलालकै विश्वासमा मिर्गौला बेच्न राजी हुने रहेछन् ।’ मिर्गौला तस्करी निर्मूल पार्न सरकारले कडाभन्दा कडा सजायको व्यवस्था गरिदेओस् भन्ने उनको चाहना छ ।
पत्रकार उमेश चौहानको निर्देशनमा बनेको फिल्मका निर्माता प्रवीण बुढाथोकी र कपिल बुढाथोकी हुन् । फिल्ममा विक्रमादित्य शाह, चन्द्र नेपाली, आइसा ठकुरी, अभिनय, दिनेश काफ्लेलगायतको मुख्य भूमिका छ ।

प्रतिकृया दिनुहोस्