परामर्शबिनै बाबुछिरीको शालिक हटाउने प्रयासमा सडक विभाग

June 1, 2018

काठमाडौं । काठमाडौंको तिलगंगामा स्थापित विश्वकीर्तिमानी पर्वतारोही बाबुछिरी शेर्पाको सम्झनामा स्थापित शालिक जानकारी नै नदिई हटाउन लागेकोमा पर्वातारोहीले विरोध गरेका छन् ।

हिमाल आरोहणको मौसममा पर्वतारोहीहरु हिमाल पुगेकै समयमा शालिक छेउका पर्खालहरु सडक विभागले भत्काएको पाइएको पर्वतारोही संघकी अध्यक्ष माया शेर्पाले जानकारी दिइन् ।

‘हामीलाई कुनै जानकारी नै नदिई शालिक भत्काउने कार्यमा सडक विभाग लागेको रहेछ । सडक खाली गर्न माइकिङ गर्दै पनि हिँडेको रहेछ,’ अध्यक्ष शेर्पाले भनिन्, ‘सरकारसँगकै समन्वयमा करोडौंको लगानीमा बनेको शालिक हटाउँदा हामीलाई जानकारी त दिनुपर्ने हो नि ।’

काठमाडौं महानगरपालिका, नेपाल पर्वतारोहण संघ र सगरमाथा आरोही संघको संयुक्त पहलमा करिब १२ आना जग्गामा २०६० सालमा बाबुछिरीको सालिक र संग्रहालय निर्माण गरिएको थियो । सालिकमुनि भुइँ तलामा उनले सगरमाथा आरोहणमा प्रयोग गरेका सामग्रीदेखि कीर्तिमान राख्न चुचुरोमा २१ घन्टा शिखरमा रहँदा प्रयोग गरेका टेन्ट, स्लिपिङ ब्यागदेखि डाङ्ग्रीजस्ता ऐतिहासिक सामग्री संरक्षण गरी राखिएको छ । हिउँको आकारमा बनाइएको अन्डरग्राउन्ड कोठामा ती सामग्री राखी म्युजियमका रूपमा सुरक्षित गरिएको छ ।

सडक विस्तारको आफूहरु विरोधी नभएको जनाउँदै शेर्पाले सरकारले यसका लागि उपयुक्त ठाउँको व्यवस्थापन गरिदिनुपर्ने माग राखिन् । यसबारेमा बुझ्न पटकपटक महानगरपालिका र सडक विभागमा जाँदा सम्बन्धित अधिकारीसँग भेट हुन नसकेपछि निवेदन पेश गरेको उनले जानकारी दिइन् । ‘शालिक भत्काउँदा शालिकमात्र नभई करोडौको नोक्सान हुनुकासाथै ऐतिहासिक प्रमाण पनि नष्ट हुन्छ,’ अध्यक्ष शेर्पाले भनिन् ।

बाबुछिरी शेर्पा प्रतिष्ठानलाई सगरमाथा आरोही संघले संरक्षण गर्दै आएको छ । आरोहणकै क्रममा ३६ बर्से उनको २०५८ वैशाख १६ मा मृत्यु भएको थियो । सोलुखुम्बुको टाक्सिन्दुमा जन्मिएका उनले २१ घण्टा सगरमाथा शिखरमा बसेको, एकै मौसममा २ पल्ट सगरमाथा आरोहण गरेको र सगरमाथाको १० पल्ट सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।

सम्बन्धित समाचार