रिट परेपछि दशरथ चन्दका नगर प्रमुखलाई अदालतद्वारा काम गर्न रोक

July 5, 2017

बैतडी । दशरथ चन्द नगरपालिका बैतडीका प्रमुख नरेन्द्रसिंह थापालाई उच्च अदालत दिपायलले प्रमुखको रुपमा कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

बुधबार उच्च अदालतका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको एकल इजलासले यस्तो आदेश दिएको हो ।

मतगणना परिणाम बदर गरी फेरि मतगणना गराउन माग गर्दै राप्रपाका प्रमुख पदका उम्मेदवार पुष्करराज जोशीले रिट दायर गरेपछि उच्च अदालत नियमावली २०७३ को नियम ६१ बमोजिम अन्तरकालीन आदेश माग गरेकाले निवेदनको व्यहोरा र बहस जिकिर सुन्ने र दुवैपक्षलाई रोहबरमा राखी छलफल गराउन उचित हुने निष्कर्षसहित छलफलका लागि असार २९ गतेको पेशी समेत तोकिएको छ ।

असार २९ गते दुवै पक्षसँगको छलफल गरी अदालतले फैसला सुनाउने भएको छ । काँग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मतअन्तरले पराजित जोशीले गणनामा धाँधली भएको दाबी गर्दै अाएका छन् । थापा तीन हजार ७६२ मत ल्याएर विजयी भएको हो भने जोशीले तीन हजार ७०० मत प्राप्त गरेका थिए ।

सम्बन्धित समाचार