‘भस्मासुरको देश’ लिएर आए वाक्सेली थापा

August 20, 2017

काठमाडौं । कवि वाक्सेली थापा ‘भस्मासुरको देश’ कवितासङ्ग्रह लिएर साहित्यिक बजारमा उदाएका छन् । राजनीतिक चिन्तक प्रदीप गिरी, वरिष्ठ कवि तोया गुरुङ्ग र कवि तथा संचारकर्मी डा. नवराज लम्सालद्वारा विमोचन गरिएको हो । राजधानीको भृकुटीमण्डप स्थित २१ औं अन्तर्रा्ष्ट्रिय पुस्तक प्रदर्शनी हलमा आयोजित एक समारोहका बिच कवि वाक्सेली थापाको पहिलो कवितासङ्ग्रहको विमोचन भएको हो ।

समारोहमा प्रमुख अतिथि प्रदिप गिरीले कवि वाक्सेलीको कवितामार्फत राज्य र सरकारको असली अनुहार चित्रण गरेको चर्चा गर्दै सङ्ग्रहका ‘ढोका’, ‘आफैसँग प्रश्न’, ‘हतियारको हरक’, लगायतका कविताहरूले नविन दृष्टिकोण प्रस्तुत गरेको बताए । गिरीले वाक्सेली थापाको कवितासङ्ग्रहमा समेटिएका सबै कविताहरु विचारका दृष्टिकोणले सुन्दर भएको बताए । उक्त कार्यक्रममा बोल्दै वरिष्ठ कवि तोया गुरुङ्गले ‘भस्मासुरको देश’ सङ्ग्रहका कविताहरु वर्तमान समयको प्रतिनिधित्व गरेको बताइन ।

श्रष्टाहरुले यान्त्रिक पक्षलाई भन्दा भावनात्मक पक्षलाई जोड दिनुपर्ने सुझाउदै गुरुङ्गले नेपाली समाजलाई भस्मासुर प्रवृतिले सताइरहेको विचार व्यक्त गरिन् । भस्मासुर प्रवृत्तिलाई सिर्जनात्मक क्षमताले परास्त गर्नुपर्ने उनको सुझाव थियो । विमोचित कविता संग्रहमाथि समीक्षात्मक टिप्पणी गर्दै कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले विचार सुन्दर भए मात्र कविता पनि सुन्दर हुने विचार राख्दै आफ्नो इतिहास र संस्कृतिमा टेकेर मौलिक साहित्य सिर्जना गर्न स्रष्टाहरुलाई आग्रह गरे ।

लम्सालले उक्त कृतिमाथि समिक्षा गर्दै कवि वाक्सेलीले कवितामा लोकप्रियताको लागि मात्र कविता नलेखी समसामयिक विकृति, घटनाक्रम, दर्शन, जीवन, प्रेम लगायतका विषयमा राम्रा कविता सिर्जना गरी साहित्यिक क्षेत्रमा उदाएको दावी गरे । ५१ वटा कविता रहेको उक्त भस्मासुरको देश संग्रह बालाजी पब्लिकेशनले प्रकाशन गरेको हो ।

सम्बन्धित समाचार