आमाको पर्खाइमा टड्पिएको एउटा बालक

May 18, 2017

बैशाखको टन्टलापुर घाम, साँझपख गर्मी छल्न म हरेक दिन छोरीलाई लिएर घर नजिकै रहेको चिल्ड्रेन पार्कमा जान्छु । पार्कमा खेल्दै गरेका ससाना केटाकेटीहरुसँगै मेरी चारवर्षीया छोरी पनि खेल्न थाल्छे । म भने मोबाइलमा फेसबुक हेर्दै र्सिरर बग्ने शितल हावामा रम्छु । यो फेसबुके नशाले यतिसारो गाँजीसक्यो कि म एकछिन पनि यसबाट टाढा हुन सक्दिन । कतिपटक त मैंले मोबाइलबाट फेसबुक र म्यासेन्जर हटाइसकें तर लत लागिसकेपछि नसकिने रहेछ । फेरी डाउनलोड गर्‍यो त्यसैमा भुल्यो । हुनपनि अहिले संचारको सबैभन्दा सजिलो माध्यम नै फेसबुक भइसकेको छ ।
‘दिदी तयार हुनुभयो ? साँढे सात बजे होइन भेट्ने ?’ म्यासेन्जरमा रिनाको म्यासेजले पो झसंग भएँ । समय हेरें छ बजेर ४० मिनेट गइसकेछ । ‘ए, हो त मैंले त झण्डै बिर्सेछु पो । छोरीसँग पार्कमा आ‘को अब घर गएर तयार हुन्छु ।’ मैंले रिप्लाइ पठाएँ । ‘ए लल छिटो आउनुस् है हामी पनि तयार हुन लागेको,’ रिनाले फेरी म्यासेज गरि । मैंले ‘ओके’ भन्दै छोरीलाई लिएर घरतिर लागें ।

हामी रेष्टुरेष्ट पुग्दा सबै आइसकेका रहेछन् । हाम्रो अघिल्तिर एकजना मोटो बालक बसेर आइसक्रिम खाँदै थियो । हामी पुग्नसाथ उसले पनि अभिवादन गर्‍यो ।

छेउमा बस्ने उसको बाबु रहेछ । मैंले यी बाबुछोरालाई पहिलो पटक हो भेटेको । परदेशको ठाउँमा नेपाली दिदीबहिनीहरुसँग भेट भएपनि रिनाको परिवार जुन मेरो नजिकको नातेदार बहिनी हुन् अनि पश्चिमतिरकी दिदी छिन् सुनैना मगर । हामी तीन परिवार बेलाबेलामा बाहिर खाना खान जान्छौं तर यो पटक सुनैना दिदीका श्रीमान बाहिर काममा गएको र दिदी पनि बेलुकी काम गर्ने भएकोले हामी दुई परिवार मात्र भेट्ने भएका थियौं । तर बहिनीको श्रीमान सँगै काम गर्ने एकजना व्यक्ति पनि आज हाम्रो पाहुना बनेर मिसिएका थिए हामीसँगै ।

कोरियन रक्सी(सोजु) र बंगुरको पोलेको मासु (साम्गेबसाल) खाँदै गफिरहेको आफ्नो बाबुको छेउमा बसेर मजाले भात खाइरहेको त्यो मोटे बालक मेरो आकर्षणको केन्द्र बनेको थियो त्यो दिन ।

हामी रेस्टुरेन्टभित्र छिर्नसाथ मेरी छोरीलाई देखेर नाम र उमेर पनि सोधीहाल्यो । ‘ओहो, कस्तो बोलक्कड बच्चा,’ मनमनै भनें । बहिनीको छोरा र मेरो छोरीलाई देखाउदै भन्यो, ‘दाई छ वर्ष, म पाँच वर्ष ऊ चाँही चार वर्ष हेहेहे…’ ओठको कालो कोठी तन्काउदै हाँस्दा झनै माया लाग्दो देखिन्थ्यो उसको अनुहार । त्यो बेला उसको बालसुलभ हाँसो यति मिठो थियो कि, अरुले वास्ता गरे गरेनन् तर मलाई भने उसको हाँसोले मनै आनन्दित बनायो धेरै बेरसम्म ।
बहिनीले पहिलादेखि नै कुरा गथ्र्यो त्यो बच्चाको बारेमा । त्यसैले पनि त्यो दिन मेरो ध्यान खानामा भन्दा त्यहि बालकमाथि परिरहेको थियो । हाम्रा नानीहरु जस्तो चकचके प्रविधि उसमा पटक्कै थिएन । ज्ञानी भएर बस्ने अनि ठुलाले जस्तै कुरा गरेको देखेर म नै चकित परें । साथीहरुको आमा देखेर होला सायद उसलाई पनि आमाको याद आयो कि ? हामीलाई एकछिन हे¥यो अनि उता फर्केर बाबुको कानमा मुख पु¥याएर साउती मार्न थाल्यो । बाबुले केही नभनी गोजीबाट मोबाइल निकालेर फोन डायल ग¥यो अनि छोरालाई दियो । ‘आमा, तपाई कता हो ?’ ‘आमा’ शब्दले मलाई अझ चनाखो बनायो । बालक फोनमा आमासँग गफिरह्यो निकैबेरसम्म । आज नयाँ साथी भेटेको कुरा पनि फोनमा आमालाई सुनाउन भ्याइसकेको थियो । ऊ आमासँग फोनमा बोले पनि घरिघरि उसको नजर हामीमा दौडाउथ्यो । शायद, हामीलाई प्रमाणित गर्न खोजेको होला मेरो पनि आमा साथमै छ है भनेर । मनमनमा गुन्दै होला, ‘देख्यौ ? मेरो पनि त तिमीहरुको जस्तै माया गर्ने आमा छिन् नि । साथमा नभएर के भो त फोनमा हामी कुरा गरिहाल्छौं क्यारे ।’

वास्तवमै फोनमा आमासँग कुरा गर्दा उसको अनुहारमा खुशीका रेसाहरु प्रस्टै देखिन्थे । उताबाट आमाले के के भन्यो थाहा छैन तर छोरा भने खुशी हुँदै तोतेबोलीमा आमासँग लाडिरहेको निकै चाख लिएर हेरिरहेको थिएँ ।

मन भक्कानिएर आयो । आफैंलाई सम्हाल्ने प्रयास गर्दागर्दै पनि कतिबेलादेखि मेरो आँखाबाट आँसुका बलिन्द्र धारा बगिरहेका रहेछन् पत्तै पाइनँ । छेउमा बसेकी बहिनीले पो झस्काइ, ‘के भयो दिदी ? किन रुनुभएको ?’ म लाजले रातोपिरो हुँदै हतारहतार आँसु पुछ्दै भने, ‘केही होइन, यो बच्चालाई देखेर माया लागेर आयो ।’
‘कस्ती आमा होली ? कति निस्ठूरी ? कसरी छाडेर जान सकेकी यति राम्रो छोरालाई,’ खुइयाँ सुस्केरा हाल्दै बहिनीसँग मनको बह पोखेें । ‘हो नि दिदी, कस्ता कस्ता हुन्छन् आइमाइहरु पनि । आफ्नो मुटुको टुक्रालाई कसरी छाड्न सकेका होलान् । बरु साथमै लगेर जानु नि ।’ उसले फेरी थपि, ‘हेर्दै नक्कली थिई, हाम्रै टोलको भएर चिनेको ।’

पाँच वर्ष अघि भियतनामबाट कोरियनसँग बिहे गरेर आएकी रहेछिन् ती बालककी आमा । भर्खर २४ टेकेकी युवती, ४० कटेका श्रीमानसँग छ महिना अघि मात्र छोडपत्र गरेकी रहेछिन् । इन्टेरियरको काम गर्ने बालकका बाबु भने दिनभरी काम गरेर बेलुकी प्रायः छोरालाई लिएर रेस्टुराँमै खाना खान जाँदा रहेछन् घरका बुढा बाबुआमालाई के दुःख दिनु भनेर होला ।

छोराले कुरा गरिसकेपछि बाबु पनि केही बेर बोलेर फोन राख्यो अनि हामीसित कुरा गर्न थाल्यो । ‘यसको आमा पनि विदेशी नै हो तर अहिले हामी सँगै बस्दैनौं । छोराले कहिलेकाही आमा खोज्छ, साह्रै न्यास्रो मान्छ, फोनमा बोल्न लगाउँंछु अनि महिनामा एक पटक भेटाइदिन्छु ।’ ‘अनि छोरालाई थाहा छ त आमाबाबु छुटेको ?’ मैले बिचमै प्वाक्क सोधें । हुन त पाँच वर्षको बालकलाई के थाहा हुन्थ्यो र ‘छोडपत्र’को अर्थ तैपनि उत्सुकताले मन भरियो । ‘यसलाई था’ छैन अर्को घरमा बस्न ग’को छ पछि आउँछ भनिदिन्छु,’ बालकका बाबुले मन भारी पार्दै भने । मैले बच्चालाई हेरें ऊ, बहिनीको छोरा र मेरो छोरीसँग मोबाइलमा गेम खेलिरहेको थियो ।
खाना खाइसकेर हामी बाहिरियौंं । रक्सीको नसाले झुम्झुमाएका ती बालकका बाबुले छोरालाई सकीनसकी काँधमा बोकेर लम्किए खुट्टा लर्बराउदै । छोरा भने बाबुको काँधमाथिबाटै हामीलाई बिदाइको हात हल्लाइरह्यो । म भने बिच बाटैमा टक्क अडिएर ती बाबुछोरालाई हेरिरहे आँखाबाट ओझेल नपरुन्जेलसम्म ।

सम्बन्धित समाचार