प्रदेश १ र ७ मा वाम गठबन्धनका उम्मेदवार विजयी

February 7, 2018

काठमाडौं । प्रदेश १– बाट राष्ट्रियसभाको निर्वाचनमा अपाङ्गता भएका वा अल्पसङ्ख्यकबाट अगमप्रसाद बान्तवा राई र दलितबाट खेम नेपाली निर्वाचित भएका छन्। विजयी राई र नेपाली दुबै नेकपा एमालेका उम्मेदवार हुन्।

निर्वाचन कार्यालयका अनुसार बान्तवाले ६ हजार १ सय ३८ मत र उनका स्पर्धी नेपाली कांग्रेसका महेश जाजूले २ हजार ८ सय ९८ मत प्राप्त गरेका छन्।

त्यस्तै दलिततर्फका नेपालीले ६ हजार २ सय ७० र उनका स्पर्धी कांग्रेसका बिन विश्वकर्माले २ हजार ८ सय ३२ मत प्राप्त गरेका थिए।

यसअघि महिला र खुलातर्फको निर्वाचनमा ३÷३ जना निर्विरोध निर्वाचित भएका थिए।

महिलातर्फ कृषि विकास राज्य मन्त्रीसमेत रहेकी काङ्ग्रेसका सरिता प्रसाईं, एमालेका नैनकला ओझा र माओवादी केन्द्रका बिना पोखरेल तथा खुलातर्फबाट काङ्ग्रेसका रमेशजङ्ग रायमाझी तथा एमालेका हरिचरण शिवाकोटी र परशु मेघी गुरुङ निर्वाचित भएका थिए।

यसैगरी प्रदेश ७ मा दुई राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन भएको प्रदेश नम्बर ७ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन। एक दलित र एक अपाङ्गता भएका वा अल्पसंख्यक समूह सदस्यहरुको लागि निर्वाचन भएको थियो।

दलित सदस्यमा एमालेका चक्रप्रसाद स्नेही बिजयी भएका छन भने अपाङ्गता भएका वा अल्पसंख्यक समूह सदस्यमा नेकपा माओबादी केन्द्रका महेश कुमार महरा निर्वाचित भएका छन।

दलित सदस्यमा बिजयी स्नेहीले ३ हजार ७ सय ८ मत प्राप्त गरे भने उनका प्रस्तिप्रधी नेपाली कांग्रेसका शेरीराम पार्कीले १ हजार आठ सय ९० मत पाए।

अल्पसंख्यक सदस्यमा बिजयी महराले ३ हजार सात सय ८ मत पाए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका छत्रराज जोशीले १ हजार ९ सय ८ मत ल्याए।

यस प्रदेशमा ३ महिला सदस्य र ३ खुल्ला गरी ६ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन।

बद्री पाण्डे कांग्रेस, शेरबहादुर कुँवर एमाले, हरिराम चौधरी माओवादी, तारादेवी भट्ट कांग्रेस, इन्दु कडरिया एमाले र कमलाकुमारी ओली एमाले यसअघि निर्विरोध निर्वाचित भइसकेका छन्।

सम्बन्धित समाचार