नेपाली स्वादका वृत्तचित्र धेरैले मन पराएका छन् : वसन्त थापा

June 20, 2018

नेपाली पर्वतीय फिल्महरुलाई प्रवद्र्धनका लागि उल्लेखनीय भूमिका खेल्दै आएको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव(किम्फ) यसपटक डिसेम्बर ७ देखि ११ सम्म काठमाडौंमा हुने भएको छ । २००० बाट शुरु भएको किम्फमा ७५ बढी देशबाट वृत्तचित्र र फिल्महरु आइरहेका छन् ।

१६ औं पटकको किम्फका लागि फिल्म निर्माताहरुलाई इन्ट्री खुला गरेको आयोजक हिमाल एसोसिएसनले जनाएको छ । नेपाली जनजीवनलाई मात्र हैन विदेशी चलचित्र र वृत्तचित्रलेसमेत किम्फमा स्थान पाउँदै आएको छ । यही किम्फ ट्राभलिङ किम्फका रुपमा नेपालका विभिन्न शहरहरुमा पनि प्रदर्शन हुने गर्छ । यही किम्फ नेपालबाहिर न्युयोर्क, हङकङ र मकाउमा ट्राभलिङ किम्फका रुपमा यात्रा गरिरहेको छ ।

यसपटक न्युयोर्कमा जुन ३० मा ट्राभलिङ किम्फ अन्तर्गतका फिल्म तथा वृत्तचित्रहरु प्रदर्शन हुन लागेका छन् । यसै सन्दर्भमा मुल आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक वसन्त थापासँग एभरेस्ट टाइम्सले किम्फबारे गरेको कुराकानीको सम्पादित अंशः

किम्फ यात्रामा विदेशमा नेपाली वृत्तचित्र र चलचित्रलाई विशेष स्थान दिनुहुन्छ हो ?
किम्फमा विदेशबाट आएका फिल्महरु प्रदर्शन गर्ने अधिकार पनि छ । तर, नेपालबाहेक अन्य देशमा नेपाली संस्था, नेपाली व्यक्तिकै पहलमा किम्फ आयोजना हुन्छ । नेपालमा बनेका फिल्महरु सोसल साइटहरुबाट हेर्न पनि सकिदैन । त्यसै पनि विदेशमा स्वदेशको मोह हुन्छ त्यसैले गर्दा पनि नेपाली फिल्म नै प्राथमिकतामा परेका हुन् । आयोजक नेपाली, सहभागी नेपाली भएकाले उहाँहरुले नेपाली फिल्म नेपाली स्वाद रुचाउनु भएको हो ।

नेपालमा चाहि कस्तो छ दर्शकको मोह ?
हामीसँग ३२० जति फिल्म आउँछन् एउटा फिल्म फेस्टिभलमा । यसमा नेपालको ५०–६० फिल्म आउँछन् । नेपालमा पनि प्राथमिकता नेपाली फिल्ममै भइरहेको छ । आफ्नै पन भएकाले होला नेपाली फिल्ममै झुम्मिएको देखिन्छ । भिड नेपाली फिल्म वृत्तचित्रतिरै हुन्छ । उत्कृष्ट अवार्डहरु नेपाली फिल्मले नै पाइरहेको छ ।

मुलधारमा ठाउँ नपाएकाहरुको हब बन्दै गएको छ किम्फ, फिल्ममेकरहरु कतिको उत्साही पाउनुहुन्छ ?
नयाँ फिल्ममेकरहरु निकै उत्साही देखिन्छन् । किम्फकै लागि भनेर धेरैले फिल्महरु बनाउँछन् । फिल्म इन्ट्री प्रत्येक साल बढिरहेको छ ।
तर, नयाँ फिल्ममेकरमा अनुभवको कमी छ । प्रविधिमा कम ज्ञान र तालिमको अभाव देखिएको छ । विषय छान्ने क्षमता सबै चाहिन्छ । उत्साहित भएर धेरै फिल्म आए पनि गुणस्तरमा भने वृद्धि भएको छैन ।
त्यसैले किम्फले नयाँ फिल्म मेकरका लागि ‘डकल्याप’ अर्थात पुनसम्पादन, परिमार्जन सहयोग सल्लाह गर्ने पनि गर्छौ । खिच्ने प्रविधिको वर्गीकरण गरेका छैनौ ।

इन्ट्री भएका फिल्महरु प्रदर्शनका लागि कसरी छनोट गर्नुहुन्छ ?
पहिलो जोड भनेको फिल्म राम्रो हुनुप¥यो, नेपाली होस या विदेशी । दुई वटा खण्ड छ । नेपाली पनोरामा र विदेशी फिल्म । एकसरो छानिसकेपछि फिल्म देखाउँदा लाग्ने समय पनि हिसाब हुन्छ । निश्चित समय छ फिल्म देखाउने । त्यसैले उल्लेखित विषय समेटेर फिल्म छनोट गरिन्छ । मुख्यतः अहिले वृत्तचित्र नै हो । त्यसपछि एनिमेसन फिल्म, सर्ट फिक्सन र एक्सपरीमेन्टल फिल्महरु पनि लिने गरेको छ ।

किम्फको प्रमुख उद्देश्य के हो ?
किम्फको मुख्य उद्देश्य नेपालको पर्वतीय परिचयलाई अघि बढाउने थियो । दोस्रो फिल्म अभिव्यक्तिको सशक्त माध्यम हो । यसबाट धेरै कुरा भन्न सकिन्छ । यसको प्रभाव धेरै पर्छ । फिल्म सामाजिक रुपान्तरणको औजारका रुपमा हामीले प्रयोग गरिरहेका छौ । हिमाल अरु देशमा पनि छन् । तर, यस्तो माउन्टेन सोसाइटीको जीवनशैली त फरकफरक हुन्छन् । कति समस्याहरु हुन्छन् यस्तो जीवनशैलीमा । यस्ता समस्याहरुको समाधान गर्दै उनीहरुबाट सिक्ने उनीहरुलाई सिकाउनका लागि यस्तो महोत्सव आयोजना गरेका हौं । चेतनास्तर पनि बढाउने हो । संस्कृति आदानप्रदान गर्नु पनि हो । नेपाली स्वाद दिनका लागि नेपाली जनजीवनको अपडेट पनि देखाउनका लागि ट्राभलिङ किम्फ गरेका हौ ।

किम्फमा आउने फिल्महरु वास्तविक पात्र केन्द्रित देखिन्छ, फिल्म प्रदर्शनपछि उनीहरुको जीवनमा पनि परिवर्तन हुने रहेछ नि ।
यहाँ आउने वृत्तचित्रहरु वास्तविक पात्रहरुमा आधारित हुन्छन् । महोत्सवमा आएपछि चर्चामा आएका पात्रहरु सुनाकली, मीरा राई, उर्मिला उल्लेखनीय नाम हुन् । सुनाकलीबाट सुनाकली बुढा स्पेनसम्म फुटबल खेल्न पुगेकी छन् भने उर्मिला चौधरी विभिन्न देश पुगेकी छन् । त्यसैगरी मीरा राई पनि चर्चामा छिन् । फिल्मका पात्र र निर्देशकहरुले राम्रो एक्सपोज पाइरहेका छन् ।

फिल्म निर्देशकले पनि एक्सपोज पाइरहेका छन् ?
फरक धारको फिल्म बनाउनेहरु वृत्तचित्र बनाउनेहरु किम्फबाटै उदाएका हुन् । उदाहरणका लागि केसाङ छेतन, मोहन मैनाली, भीमबहादुर भाम, दीपक रौनियर । उहाँहरुले पहिलो फिल्म किम्फमै देखाउनु भएको थियो ।

फिल्म इन्ट्रीमा कुनै शुल्क लाग्छ कि लाग्दैन ?
किम्फका लागि कुनै फि हामीले लिएका छैनौ । कतिपयले लिनुपर्छ भन्ने सुझाव दिनुहुन्छ । फिल्म मेकरका पनि आफ्नै दुःख हुन्छन् । त्यसैले हामीले फि लिने आँट गरेका छैनौ ।

त्यसो भए कसरी चलिरहेको छ किम्फ ?
यसमा काम गर्ने धेरैजसो भोलिन्टियरिङ हो । यहाँ काम गर्ने कसैले तलब पाउँदैनन् । नेपाल चलचित्र विकास बोर्ड, पर्यटन बोर्डले पनि भर्खरभर्खर सहयोग गर्न थालेको छ । २ वर्ष अघिदेखि पर्यटन बोर्डले विदेशी फिल्ममेकरलाई अतिथ्यता दिन थालेको छ । चलचित्र विकास बोर्डले पुरस्कारका लागि सहयोग गरिरहेको छ । अरुबाट आर्थिक सहयोग छैन । देशका लागि भनेर हामी खटेर काम गरिरहेका छौ । फिल्म प्रदर्शनकै दिन पनि विद्यार्थीहरु भोलन्टियरिङमा आउनुहुन्छ । सोखले लागेकोले अहिलेसम्म बाँचिरहेको छ ।

सम्बन्धित समाचार