अमेरिकामा सफलताको सिँढी चढ्दै बिक्की पुलामी

August 2, 2017

ङिमा पाख्रिन/न्युजर्सी

रङ्गमञ्चको दुनियाँमा नेपालमा राम्रो चर्चा कमाई सकेका खडग बहादुर पुलामी (बिक्की पुलामी) अमेरिकामा पनि सफल्ताको सिँढी उक्लँदै छन् । सात बर्ष अघि म्युजिक भिडियोमा अभिनय गरेर रङ्गमञ्चको दुनियाँमा प्रवेश गरेको पुलामीले दुई दर्जन बढी म्युजिक भिडियोमा शसक्त अभिनय गरेका छन् । अमेरिका आए यता उनले आधा दर्जन म्युजिक भिडियोमा काम गरी सकेका छन् । अमेरिकाको बिभिन्न स्थानमा छायाङ्कन गरिएको ’सम्बन्ध हाम्रो’, ‘डाक्यो डाक्यो’, ‘भुल्यौ कि भुलेकी छैनौ’, ‘चुमचुम’, ‘नसोच तिमी’, ‘अचेल’ लगायत बोलको गीतको भिडियोमा उनको अभिनय हेर्न पाईन्छ । अभिनय यात्राकै क्रममा ‘जीन्दगी रक्स’ नामको चलचित्रमा समेत मुख्य भुमिकामा अभिनय गरेर चर्चा कमाएका पुलामीले करिब आधा दर्जन म्युजिक भिडियोमा निर्देशनको काम समेत गरेका छन् । पुलामीको उदघोषण कला र आकर्षक नृत्यका कारण अमेरिकामा नेपाली समुदायमाझ हुने बिभिन्न साँस्कृतिक कार्यक्रममा उनको माग निकै बढ्दो रुपमा छ । आफ्नो रङ्गमञ्चिय कला यात्रालाई नितन्तरता दिँदै ब्यवसायिक बनाउँन नेपाली कला सँस्कृतीलाई अमेरिकामा प्रवर्धन गर्दै जाने सोच भएको उनले बताए ।


गायक कमल खत्रीको स्वर रहेको चर्चित गीत ‘तिमीलाई चाही सके’ मा पहिलो पटक अभिनय गर्दाको सम्झना गर्दै पुलामी भन्छन्, ‘रहरै रहरमा लागिएको हो । यति अगाडी गईएला भन्ने लागेकै थिएन । गर्दै जाँदा रमाईलो लाग्दै गयो र दर्शकले पनि मन पराई दिए । उत्साह थपिदै गएको छ ।’ अभिसेक तामाङ र मनिष पोख्रेलको ‘ट्याटु खोपेर’ बोलको गितमा मोडलिङ गरे पछि उनलाई बजारमा थप चर्चित बनायो । त्यस पश्चात उनले अभिनय गरेका म्युजिक भिडियोहरु थपिदै गएका छन् चाहे उनी नेपाल होउन् या अमेरिका ।

अभिनय कलामा पुलामीको लागि यो बर्ष थप उत्साहजनक भएको छ । उनले मोडलिङ गरेका अमेरिकामा निर्मित दुई म्युजिक भिडियोहरु ‘ओएस नेपाल म्युजिक अवार्ड २०१७’ मा मनोनयनमा परेका छन् । विश्वभर निर्माण गरेका नेपाली म्युजिक भिडियोहरु मध्येबाट ४३ बिधामा अवार्ड दिने गरी ओएस नेपालले पहिलो पटक आयोजना गरेको कार्यक्रमका लागि २१५ म्युजिक भिडियोहरु मनोनयनमा भएका छन् । जस मध्ये पुलामीले मोडलिङ गरेका ‘नसोच तिमी’ (बेस्ट पप गीत मोडेल पुरुष तर्फ) र ‘भुल्यौ कि भुलेकी छैनौ’ (बेस्ट म्युजिक भिडियो डाईरेक्सन पप गीत) बिधामा परेका छन् ।

१२ कक्षासम्मको औपचारिक अध्ययन सकाए पछि जन्मथलो सर्लाहीबाट राजधनी काठमाडौ पसेका बिक्की पुलामी शुरुमा मार्सल आर्ट तिर लागेका थिए । मार्शल आर्ट बिधामा पनि उनी अब्बल रहे । आफ्ना दाजु शितारियो कराँते प्रशिक्षक चित्र बहादुर पुलामीको प्रेरणा र प्रशिक्षणमा उनले डबल ब्लाक बेल्ट लिन सफल भएका थिए । रँगिन दुनियाँमा मात्र हैन, सामाजिक सेवामा पनि अत्यन्तै रुची राख्ने पुलामीले बिभिन्न सँघ सँस्थामा आवध्द भएर थुप्रै काम गरे । दर्जनौ युवा नेतृत्व विकास तालिममा सहभागी भए । काठमाडौमा बाग्मती सरसफाई अभियानको लागि स्वयं सेवा परिचालन देखि सर्लाहीको गाउँवस्तीमा पुस्तकालय स्थापनाको लागि उनले अग्रणी भूमिका निर्वाह गरे । समय मिल्दा अहिले पनि सामाजिक सेवामा खटी हाल्ने उनको बानी छ । डाक्टर बिष्णु माया परियारका अनुसार हाल पुलामी बसोबास गर्ने जर्सी सिटीमा नेपाली समुदायको साझा सँगठन ’जर्सी सिटी नेपाली कम्युनिटी’ स्थापना गर्न उनको ठुलो सहयोग रहेको थियो ।

सम्बन्धित समाचार