प्लस टु सकिनसाथ अमेरिकामा पढ्न नपठाएकै राम्रो, आत्महत्याको कारण यो पनि देखियो : बिकु लामा

October 4, 2018

लेखक तथा पुस्तकालय अभियन्ता हुन् बिकु लामा । लामाको संयोजनमा काभ्रे जिल्लामा करिब तीन सय सामूदायिक विद्यालयमा पुस्तकालय स्थापना गरिसकेका छन्। यसै वर्ष डडेलधुराको पुइलेकमा रहेको बालकल्याण माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने तयारीमा छन् लामा ।

सोइनम नियात्रा संग्रह, मृत्यु बिर्सनेहरु कवितासंग्रह र सपनाको ट्रान्जिटमा कवितासंग्रह लामाका कृति हुन् । पुस्तकालय स्थापना अभियानमा निरन्तर खट्दै आएका लामा हालै अमेरिका पुगेका थिए । उनै लेखक/समाजसेवी लामासँग एभरेस्ट टाइम्सले गरेको कुराकानी:

यसपटक त लामो समय रहनुभयो अमेरिकामा ।

यो मेरो तेस्रो भ्रमण हो। झन्डै पाँच महिना बसेछु । यसपटक ६ वटा स्टेट पुगे। लस एन्जलस, सान फ्रान्सिस्को, न्युयोर्क र डाल्लसमा बढी समय बित्यो ।

भ्रमणको उद्देश्य चाहि के थियो ?

मुलत व्यक्तिगत काम नै हो। अर्को चाहि साहित्यिक काम पनि भयो। सामाजिक अभियानमा लाग्ने मान्छे भएकोले यी दुबै काम सँगसँगै लगेर घुम्न पुगेको थिएँ।

त्यसो भए साहित्य र पुस्तकालयका सन्दर्भमा पनि कुराकानी भयो ?

टेक्सासको डाल्लासमा ४० हजार नेपाली बस्ने रहेछन्। यहाँ साहित्यप्रेमीहरुको उपस्थिति राम्रो रहेछ । स्रष्ट समाज, अन्तराष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टर जस्ता साहित्यिक संस्था रहेछन् । च्याप्टरको कार्यक्रममा त म तीनपटक कविता भन्न नै पुगें । त्यसैगरी अमेरिकी साहित्यकारहरुको संस्थामा पनि पुगें । डिएफडब्लु राइटर एसोसिएसन नामक नेटिभ अमेरिकनहरुको संस्थाको कार्यक्रममा तीनपटक  पुगें । राइटर्स गेरेजमा ४ पटक एटेन्ड गरे ।

अमेरिकी साहित्यकारहरुको संस्थामा जाँदाका उपलब्धि के पाउनुभयो ?

यहाँ त हामी खोज्दै जाने हो । नेपाली साहित्यको बजार सानो छ । हामीले आफ्नो बजारलाई फैलाउन अमेरिकी साहित्यकारहरुसँग एक्सेस खोज्दै जाने हो । त्यसैले म पनि पुगेको । विश्वबजार अमेरिकाको कब्जामा छ । उहाँहरुसँग एफिलिएटेड हुँदै जाने हो। कम्पिटीसन गर्ने भन्ने त कुरा हुँदैन । तर आफ्नो साहित्यको वृहत पाठक खोज्न त्यहाँ जाने हो । म अमेरिकन पोइट्स एकेडेमीको मेम्बर पनि हो। यो अमेरिकाभर फैलेको संस्था हो । त्यसैले फाइदा नहुने त कुरै भएन ।

नेपाली साहित्यलाई अंग्रेजीमा अनुवाद गरेर विश्व बजारमा पठाउन पनि प्रेरित गर्छ उनीहरुसँगको भेटले । मैले सपनाको ट्रान्जिटमालाई अंग्रेजीमा ल्याउने तयारी गरिरहेको छु । यही भेटले मलाई सिकायो । यसो गर्दा नेपाली संस्कृति र नेपालका पर्यटकीय क्षेत्रको पनि प्रचार हुन्छ । विश्वबजारमा नेपाली साहित्यलाई पनि चिनाउँदै लानेछ ।

अमेरिकामा पुगेका नेपालीमा के के प्रगति देख्नुभयो ?

अमेरिकामा हरेक नेपाली नेपाल बोकेर हिँडेको देखें । देशप्रति चिन्तित हुनुहुन्छ। यहाँ दुख गरेपनि देशकै लागि दुख गरिरहेका छन्। पूजीवादी देशमा बसेर राम्रो शिक्षा लिइरहेका छन्। ती दक्ष जनशक्तिलाई नेपालमा भित्र्याउन सकेमा त धेरै राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।

समस्याहरु पनि निकै छन् भनिन्छन् नि ?

सबैभन्दा पहिले त सकारात्मक पक्षलाई नै जोड दिने हो। त्यहाँ ८ घन्टा काम ८ घन्टा मनोरञ्जन र ८ घन्टा सुत्ने अमेरिकी मान्यता नै हो । कतिको सेड्युल नमिले पनि सबै व्यस्त छन् । हरेक मान्छे सीप दक्षताको आधारमा काम गरिरहेका छन्। दक्षले राम्रो काम पाइरहेकै छन् ।

नेपाली विद्यार्थीहरुलाई भने अप्ठेरोमा परेका कुराहरु आइरहेको सुनिन्छ नि ?

नेपालबाट प्लस टु गरेर गएकाहरुमा अलि समस्या देखें । उनीहरु ब्याच्लर गर्न अन्तर्रारष्ट्रिय विद्यार्थीको लिस्टमा पुग्नेरहेछन् । त्यो लिस्टमा नभए भिसा नै पाउँदैनन् । राम्रो युनिभर्सिटीमा एप्लाइ गरेर जाँदा ६ महिनामा पहिलो सेमेस्टर सकिन्छ । ६ देखि ९ महिनामा १२ देखि १५ लाख खर्च हुन्छ । यो सामान्य नेपालीका लागि ठुलो पैसा हो । दोस्रो सेमेस्टरमा पनि पैसा तिर्नुपर्छ । फि तिर्न नसके स्टाटस मेन्टेन्ट हुदैन । जसले गर्दा बाध्य भएर पढाइ छाड्नुपर्ने रहेछ । इन्टरनेसनल स्टुडेन्डको स्टाटसमा भएकाले काम गर्न पाउँदैनन् । त्यसपछि इलेगल रुपमा १२ देखि १५ घन्टा काम गर्नुपर्न रहेछ ।

यसैले नेपाल सरकारले नै इन्टरनेसनल स्टुडेन्डको स्टाटसमा पठाउन रोक्नुपर्छ भन्ने पक्षमा म छु ।

यसले के समस्या आउँला र पैसा कमाएपछि पढ्दैनन् र ?

पढ्नै सक्दैनन्। भर्खरका बच्चाहरुमा फ्रस्ट्रेसन आउँछ। प्लस टु गरेर गएका बच्चाहरु १८ देखि २१ वर्षका हुन्छन्। उनीहरु बाआमाको काखमा बसेर पढेका हुन्छन्। एक्कासि अर्काको देशमा गएर काम गर्दै पढ्नु पर्दा सक्दैनन् । । पढ्न एकदम च्यालेन्ज छ । यही कारणले गर्दा नै बसेको ५ महिनामा ३ जनाले सुइसाइड गरे । तीनै जना इन्टरनेसनल स्टुडेन्डको स्टाटसमा गएकाहरु थिए । उनीहरुले समस्यासँग मुकाबिला गर्न सकेनन् । मुकाबिला पार गर्नेहरु भने निकै राम्रो नागरिक र क्षमतावान बन्छन् ।

त्यसो भए अभिभावकको पनि कमजोरी भयो हैन यो त ?

इलेगल भएपछि वकिलसँग ती बच्चाहरुले बाआमालाई नभन्नु भनेर आग्रह गर्दा रहेछन् । नेपालबाटै पठाउँदा मिस काउन्सिलिङ भइरहेको देखियो । अरु स्टेटको तुलानामा इलेगल मान्छेले डाल्लासमा काम पाउने भएकोले धेरैजसो त्यही भागेर आउने रहेछन्। मेनटेन गर्न धेरै गाह्रो छ ।

अभिभावकले के सोच्छन भने काम गरेर पढ्नेमात्र हैन पैसा पनि कमाएर पठाउँछ भनेर सोच्ने रहेछ । अभिभावकले कलेजको इन्टरनेसनल स्टुडेन्डको फि स्ट्राक्चर हेर्नुपर्छ । इन्टरनेसनल स्टुडेन्डको स्टाटसमा गएकाहरुले काम नै गर्न पाउँदैन । जसले गर्छ लुकेर काम गर्ने हो । हाम्रो राज्यले पनि बुझ्नुपर्‍यो १२ देखि १५ हजार डलर नेपालबाट पैसा बाहिरियो । त्यो पैसाले त फस्ट सेमेस्टरमात्र पढ्ने हो । नेपालमै राम्रो शिक्षा छ । युवालाई अमेरिकामा पठाएर सुइसाइड गर्नबाट रोकौ ।

सम्बन्धित समाचार