७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

प्रवासी स्टेजबाट निम्तो आउनु संगीत क्षेत्रकै लागि सुखद विषय : विशाल काल्तान[वार्ता]


५ माघ २०७५, शनिबार  

0
Shares

विशाल काल्तान २०५८ देखि संगीतमा सक्रिय छन् । यस अवधिमा उनले पाँच वटा तामाङ एल्बम श्रोतामाझ ल्याइसकेका छन् भने ३० तामाङ चलचित्रका गीत गाइसकेका छन् । यस अवधिमा दुई सय बढी तामाङ, सेलो र नेपाली गीत गाइसकेको छन् । गायनमात्र हैन, गीत लेखन, संगीतमा पनि विशाल उत्तिकै पोख्त छन् । पछिल्लो समय त उनी मोडलिङमासमेत छाएका छन् । उसो त उनी नेपाल तामाङ कलाकारको सचिव पनि हुन् ।

बुवा मानबहादुर तामाङ, आमा चिनिमाया तामाङ । काभ्रे रोशी गाउँपालिकाको वडा ९ स्थित मंगलटारका विशालले मंगल जन विजय उमाविबाट एसएलसी पुरा गरेपछि रत्नराज्य लक्ष्मी कलेजबाट संगीतमा प्रवीणतम प्रमाणपत्र तह पुरा गरे । होइ अस्याङ, होइ आनी, डम्फु जोला पिङ चरा, मादलै बज्यो झ्याउरेको धुन, सुखै गङसाल लल माया, नक्कली कान्छीला सक्कली सेम, तिङ मि ढुकढुक ए ङामरी खामाजस्ता गीतबाट चर्चामा छन् उनी । उनै गायक विशाल काल्तानसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानी।

ल्होछार नजिकिँदै छ, अब त कार्यक्रममा भ्याइनभ्याइ हुन्छ होला ?
धेरै जसो जनजातिहरुको नयाँ वर्ष यही याममा पर्ने रहेछ । तामाङ समूदायको ल्होछार पनि नजिकिएको छ । त्यसैले होला, स्टेज कार्यक्रमका लागि निम्तोहरु आइरहेका छन् ।

स्टेज कार्यक्रमका लागि देशभित्र बाहिर कुन ठाउँबाट बढी निम्तो आइरहेका छन् ?
विभिन्न देशबाट निम्तो आइपुगेका छन् । देशभित्र पनि धेरै कार्यक्रमका लागि समय माग्नुभएके छ । तर समय जुध्दा कुनमा एउटामामात्र जानुपर्ने बाध्यता हुन्छ । त्यसैले विदेशतिर पनि कुरा हुँदाहुँदै भिसा नआएसम्म बोल्न पनि मिलेन । बहराइन जाने चाहि पक्कापक्की होला कि यसपटक । देशभित्र त तामाङ समूदाय भएको मिल्ने ठाउँसम्म पुग्छु नै ।

यसअघि स्टेज कार्यक्रमका लागि कहाँ कहाँ पुग्नुभयो ?
स्टेज कार्यक्रमकै लागि दार्जिलिङ, जापान, दुबई, साउथ कोरिया, इजरायल पुगिसकें । नेपालमा तामाङ समूदाय रहेको जिल्लामा पुगेको छु ।

यसरी यात्रा गर्न पाउँदा कतिको खुसी लाग्छ ?
अहिले हाम्रो समूदायका मानिसहरु विश्वभर छरिएर रहनुभएको छ । उहाँहरुले कलाकारलाई पनि सम्झनुहुन्छ र हामीलाई स्टेज कार्यक्रमका लागि निम्ता आउँछ । जसले गर्दा नै गीत संगीतलाई क्षेत्र पनि उर्बर हुँदै आएको छ । यो कलाकारका लागि सुखद कुरा हो ।


तपाईं गीत पनि लेख्नुहुन्छ, कस्ता कुराहरुले गीत लेख्न प्रेरित गर्छ ?
पछिल्लो पटक म बढीजस्तो चलचित्रका गीत लेख्छु । चलचत्रिले मागेको कथाअनुसारको गीत बनाउनुपर्ने हुन्छ । कथामा ट्वीस्ट आउँछ । कथाकारले फिल्ममेकरले यो यो टाइममा गीत हुनुप¥यो भने पछि मैले त्यहीअनुसारको गीत बनाउनुपर्छ । अलि मुश्किलै छ । संगीत त्यसै गाह्रो हुन्छ । अझ कथाअनुसारको गीत तयार पार्न त जटिलै हुनेरहेछ ।

आफूले लेखेको गीत आफै संगीत भर्नुहुन्छ, आफै स्वर दिनुहुन्छ, कतिको अप्ठेरो हुन्छ ?
म प्रायः आफूले गाउने गीत आफैले लेख्छु । आफैले लेखेको गीत गाउने सीप मनमा बसिसकेको हुन्छ । संगीत आफैले दिँदा झनै राम्रो हुन्छ । त्यसैले अप्ठेरो भन्दा पनि आफूले चाहेको, श्रोताले खोजेजस्तो गीत बन्छ जस्तो लाग्छ ।

मोडलिङमा पनि देखिनुहुन्छ, अब यसमा पनि निरन्तरता दिनु हुन्छ कि ?
केही गीतहरुमा । म काभ्रे स्पेसलको आँगन कार्यक्रममा काभ्रे फस्ट भएको थिएँ । ६० सालमा । २०६६ सालसम्म नाचमा सक्रिय रहे । काभ्रेका केही विद्यालयमा नाच पनि सिकाएँ । म्युजिक भिडियोहरुमा साइड डान्स गरें । रिमिक्स कलकत्ते काँइयोमा पनि साइड डान्सरमा थिए । त्यसपछि मैले डान्स लाइन छाडे । विशुद्ध गायनमा लागेको छु । केही गीतहरुमा मोडलिङमा देखिएको हुँ । तर, म विशुद्ध गायनमै छु ।

तपाईंको संगीतको श्रेय को हुनुहुन्छ, कसरी यहाँसम्म आइपुग्नुभयो ?
सानोमा रेडियोमा लोकगीतहरु सुन्थे । २०५८ सालबाट यही क्षेत्रमा आउने मन भयो । मलाई यो क्षेत्रमा आउन आकार्षित गराउने सबैले मनपराउनुहुने गायक चन्द्रकुमार दोङ हुनुहुन्छ । उहाँ नै मेरो गुरु, प्रेरक हुनुहुन्छ । चार वर्ष उहाँसँग संगीत सिके । उहाँले लेख्नु भएको गीत र उहाँले नै संगीत दिनुभएको ‘गादे जेबा छमे कदे छार्जिम होई’ गीतले नै मलाई चिनायो । २०६५ मा आएको पहिलो सोलो एल्बम ‘मेलवन’ मै यो गीत थियो । ह्युलला माया चलचित्रबाट संगीत शुरु गरेको । फोकस अन सेलो एल्बम पनि गरे ।

तामाङ गीतसंगीत र नेपालीमा कुन प्राथमिकतामा पर्छ तपाईको ?
मेरो समूदाय तामाङ हो । मसँग २०–२५ हजार भएमा म लोकदोहोरी गीत पनि रेकर्ड गर्न सक्छु । यसबाट अझ बढी श्रोत÷दर्शक पाउन सक्छु । तर मेरो प्राथमिकता तामाङ गीत नै हुनेगर्छ । तामाङ गीतसंगीतलाई प्रमोट गर्नुपर्छ भन्ने मान्यता हो । तामाङ कलाकार पनि व्यवसायिक हुनुपर्छ । के काम गर्छौ भन्दा ‘गीत गाउने काम गर्छु’ भन्ने स्थिति होस ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार  ८ : ५६ बजे