अमेरिकामा बहुउद्देश्यीय व्यवसायमा व्यस्त विष्णु, भन्छिन् ‘काममा लाज मान्नुहुँदैन’

September 5, 2018

संगिनी राना मगर/मेरिल्यान्ड

 

अमेरिकाको मेरिल्यान्ड राज्यमा सन् २००५ देखि व्यवसाय गर्दै आइरहेकी छिन् विष्णु लामा । कक्षा ५ सम्म मात्र पढेकी उनी मेरिल्यान्डमा आफ्नै व्यसायमा व्यस्त छिन् ।

 

सानैदेखि व्यवसायमा लागेकाले आफू आज यस ठाउँमा आउन सफल भएको बताउने उनी नेपाल बाहिर रहेका नेपाली महिलाका लागि उदाहरणीय बनेकी छिन् । मकवानपुरमा जन्मेर सरकारी स्कुलमा कक्षा ५ सम्म मात्र पढिन् विष्णुले ।

 

१३ वर्षबाटै काठमाडौंमा सिलाई बुनाई व्यवसाय शुरु गरेकी थिइन् उनले । भनिन्, ‘गाउँघरमा छोरीलाई धेरै पढाउन हुँदैन भन्ने थियो । पढ्न नपाएपछि काठमाडौं आएँ । सिलाईबुनाईमा मन गयो । आफ्नो जीवनलाई व्यवसायबाट अगाडी बढाउने चाहना र भावनाले गर्दा टेलरिङ व्यवसाय थालें ।’

 

टेलरिङ व्यवसाय राम्रो भएको थियो । विवाहपछि अझै बढी यस क्षेत्रमा खटेर काम गरिन् । त्यसपछि अमेरिका आइपुगिन् विष्णु । अमेरिकामा पाँच सन्तानलाई हुकाईबढाई गरेर पनि उनी आफ्नो कामलाई निरन्तर अघि बढाइरहेकी छिन् ।

 

आफ्नो देशभन्दा अरू ठाउँमा भाषाकै कारण कतिपयलाई यहाँ अप्ठेरो आइलाग्छ, नयाँ ठाउँमा व्यापार व्यवसायमा सञ्चालन गर्न गाह्रो भएन त ? प्रश्नमा विष्णुले भनिन्, ‘धेरै संघर्ष र दुःख नेपालमै गरेकोले यहाँ त्यति दुःख भएजस्तो लागेन । अंग्रेजी, हिन्दी, स्पेनिस भाषा सिकेपछि सबै देशका मान्छेहरूसँग दोहोरो बोल्न सक्ने भए । यसले गर्दा ग्राहकसँग बोल्न समस्या भएन ।’

 

‘सिक्ने चाहना र काम गर्ने चाहना कसैलाई रोक्न नसक्ने रहेछ,’ उनले थपिन् । काम व्यावहारिक रूपमा गरेर देखाउनुपर्ने उनी बताउँछिन् ।

बहुउद्देश्यीय व्यापार

लामा एउटै काममा मात्र केन्द्रित छैनन् । उनले ‘लामा थ्रेडिङ’सँगै ज्वेलरी, ब्याग र अन्य सामानहरू पनि सँगै राखेकी छिन् । त्यसैले व्यापार छैन भनेर खाली बस्नु परेको छैन विष्णुलाई । उनको महिलालाई आवश्यक पर्ने सबै किसिमको सामानहरू उपलब्ध छ । ग्राहक नआएको बेला उनी ज्वेलरी डिजाइन गर्छिन् । यी बहुआयामिक व्यापार व्यवसायले गर्दा उनी यस क्षेत्रमा सफल भएकी छिन् ।

 

सामान खरिद गर्ने क्रममा नेपाल जाँदा नेपालबाट ल्याउने, न्युयोर्क शहरमा बसबाट आउने जाने गर्न मेरिदयान्डदेखि रातिको बसमा न्युयोर्क आउने सामान खरिद गरेर फेरि फर्किने जस्ता कामले उनी सँधै व्यस्त रहन्छिन् । व्यापार व्यवसायमा मेहनत र संघर्षले मात्र पुग्दैन, समय, सीप र पैसाको लगानी उत्तिकै जरुरत पर्छ । नाफा घाटा सधैँ चलिरहन्छ । उनले शुरुमा व्यापारलाई निरन्तरता दिन महिनामा दश हजार, पन्ध्र हजार फ्लायर बाँड्ने गरेको सुनाइन् ।

 

व्यवसायमा आफ्नो छोरा, छोरीलाई पनि सक्षम बनाउँदै छिन उनी । नेपालबाट ५ जना छोराछोरीहरू (४ वर्ष, ५ वर्ष, १० वर्ष, १२ वर्ष र १४ वर्ष) लिएर अमेरिका आएकी थिइन् विष्णु । अहिले उनका छोराछोरी कलेज पढ्दै छन् । आमालाई व्यापारमा र व्यवस्थापनमा सहयोग गर्छन् । आफूले पढ्न नपाए पनि आफ्ना नानीहरूलाई पढाएर व्यापार व्यवसाय गर्न सक्ने भएकोमा गर्व गर्छिन् उनी ।

 

अमेरिकाजस्तो व्यस्त शहरमा एउटा बच्चा भए मात्र पनि समय, गाइड र राम्रो शिक्षा दिन नसकेर बाबु आमाको समस्या छोराछोरीले बुझ्न नसकेर विभिन्न समस्या भोगिरहेकाका लागि पनि विष्णु उदाहरण हुन् । छोराछोरीलाई पढाएर उच्च शिक्षा दिएर आफ्नो व्यापारव्यावसाय चलाएर आफ्नो खुट्टामा उभिएर आफै गर्न सक्ने बनाएकी छिन् ।

 

आफूले राम्रोसँग पढ्न नपाएकोले अझै पनि बच्चाहरू हुर्केपछि ब्युटी कोर्स लिएर हाई स्कुल पढ्ने इच्छा रहेको बताउँछिन् उनी यसै जन्ममा ।
यसरी सफल भएकी विष्णुलाई मेरो अन्तिम प्रश्न थियो, अरू नेपाली दिदी बहिनीहरूलाई के सल्लाह दिन चाहनु हुन्छ ? ‘व्यापारमा लाज मान्नु हुँदैन । सबै काम गर्नु पर्दछ । सजिलो छैन, अरूको काम गर्दा पनि आफ्नो नानीहरूलाई पनि टायम दिएर गर्नु पर्दछ । पढेर मात्र सबै कुरा जानिँदैन । महिलाहरू अशिक्षित हुनुभएन । शिक्षित नेपाली पनि राम्रो कुरा दिनु प¥यो,’ उनको सुझाव थियो ।

सम्बन्धित समाचार