आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन ‘विश्व सञ्जाल’ : सुवेदी

August 3, 2018

न्युयोर्क । नेपाली कांग्रेसका प्रवासी संस्था नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’ तदर्थ समितिका अध्यक्ष विष्णु सुवेदीले आगामी निर्वाचनमा कांग्रेसलाई आवश्यक बहुमत जुटाउन सहयोग गर्ने उद्देश्यका साथ विश्व सञ्जाल गठन गरिएको बताएका छन् ।
आज पत्रकार सम्मेलन गरी विश्व सञ्जाल गठनको आवश्यकता र औचित्यबारे जानकारी दिँदै सञ्जालका अध्यक्ष सुवेदीले उक्त भनाई राखेका हुन् । कार्यक्रममा अध्यक्ष सुवेदीले भने, ‘पार्टीलाई सांगठनिक रुपमा थप उर्जा प्राप्त होस भन्ने हेतुले भविष्यमा हुने राष्ट्रिय, प्रान्तीय र स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको बहुमतीय सरकार बनाउन आवश्यक सहयोग गर्ने मुख्य उद्देश्यका साथ नेपाली जनसम्पर्क समन्वय समिति विश्व सञ्जाल गठन गरिएको प्रस्ट पार्न चाहन्छु ।’

नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भइसकेकाहरु अहिले प्रवासमा निस्क्रिय रहेकाले उनीहरुलाई सक्रिया बनाउन पनि यस्तो संगठन यसअघि नै आवश्यक भइसकेको कोषाध्यक्ष सुवाष घिमिरेले बताए । ‘पार्टीमा विभिन्न पद सम्हालिसकेका र प्रजातान्त्रिक आन्दोलनमा अनवरण संघर्ष गरेकाहरु ठूलो संख्यामा देशबाहिर हुनुहुन्छ । यस्ता कार्यकर्ता र नेताहरु निस्क्रिया रहदाँ पार्टीलाई ठुलै घाटा भएकोले सञ्जाल गठन भएको हो ।’

जुलाई २७ मा नेपाल बाहिर विभिन्न देशमा रहेका नेपाली कांग्रेसका प्रवासी संगठनहरु एकजुट गराउने उद्देश्यकासाथ नेपाली जनसम्पर्क अन्तराष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’ गठन भएको हो ।

विश्वका ३२ देशहरुमा रहेको कांग्रेसको जनसम्पर्क समितिलाई एकै छाता मुनि ल्याउने उद्देश्य राखेर अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’ गठन गरिएको थियो ।

जनसम्पर्क समितिका अध्यक्ष र पदाधिकारीहरुको युरोपमा भएको भेलाले विश्व सञ्जाल गठन गरेको हो । सञ्जालको अध्यक्षमा अमेरिकाका विष्णु सुवेदी रहेका छन । उपसभापतिहरु यूएईका चित्र केसी, कञ्चन पोखरेल र नवराज शिवाकोटी रहेका छन् । त्यसैगरी महामन्त्रीमा चिन्तामणि सापकोटा, कोषाध्यक्षमा अमेरिकाकै घिमिरे, सहमहामन्त्रीमा भूपि गोविन्द श्रेष्ठ र नविन आचार्य रहेका छन् ।

सदस्यहरुमा पूर्ण तिम्सिना, कुलबहादुर गुरुङ, विराट श्रेष्ठ, विष्णु सापकोटा, डिपी कंडेल, हेमराज पाण्डे, राजेन्द्र जमरकट्टेल, ताराप्रसाद बंजाड, उत्तम कडेँल, टिकाराम सापकोटा, दीपक रेग्मी, कुश बस्नेत, उषा भूषाल, वेदनिधि आचार्य, नवराज लामिछाने, राजेन्द्र विरही, अंविर जोशी, भवानी शंक तिवारी, र ज्ञानेन्द्र खत्री रहेका छन् ।

सम्बन्धित समाचार