मातृभाषामा गाउनु समाज सेवा पनि हो–विश्व दोङ, गायक/संगीतकार

May 18, 2017

विश्व दोङ तामाङ साँगीतिक फाँटमा सशक्त रुपमा उपस्थित गायक/संगीतकार हुन् । काभ्रेको मेच्छे गाविसस्थित भोर्ज्याङका यी गायक तामाङ मेला, सांगीतिक कार्यक्रमहरुमा सबैभन्दा बढी खोजिने र रोजिने गायक हुन् । तामाङहरुको सोनाम ल्होछार नजिकिदै गर्दा ‘स्टेज कार्यक्रम’ का लागि उनलाई निम्तो आउने क्रम जारी छ ।

विसं. २०५६ बाट तामाङ सांगीतिक क्षेत्रमा निरन्तर रुपमा लागिरहेका दोङले अहिलेसम्म पाँचसयको हाराहारीमा तामाङ गीतहरु कम्पोज गरेका छन् भने यही संख्यामा गीतमा स्वर भरेका छन् । उनी गीत पनि लेख्छन् । दुईवटा तामाङ सेलो एल्बम बजारमा ल्याएका छन् । त्यसो त उनले १६ वटा तामाङ फिल्महरुमा संगीतकारको भूमिकासमेत निभाएका छन् । मातृभाषाको कला क्षेत्रमा धेरैजसो कलाकार टिकिरहन नसकेका उदाहरणहरु छन् ।
तर, विश्वले भने कहिल्यै हार खाएनन् । निरन्तर यही क्षेत्रमा लागिरहेका छन् । डम्फु बजाइरहेका छन् । तामाङ गीत गाइरहेका छन् । सेलो गाइरहेका छन् । डोरेमी म्युजिकका इश्वार अमात्य र संगीत साधना प्रालिका कैलाश राईलाई संगीतको गुरु मान्छन् उनी । सांगीतिक क्षेत्रमा १६ वर्ष बिताउँदै गर्दा उनले कतार, ओमन, दक्षिण कोरिया, जापान, हङकङ, मलेसिया, सिंगापुरसम्म प्रस्तुति दिन पुगिसकेका छन् । उनै गायक÷संगीतकार विश्व दोङसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः

ल्होछार आउँदैछ, व्यस्तता बढ्ने दिन आयो ?
निम्तो आउन थालेको छ । गाउँगाउँबाट, विदेशबाट पनि निम्तो आउन थालेको छ । एकैदिनको कार्यक्रम सबैले एकैदिन सम्झन्छन् । त्यसैले कहाँ जाने भनेर अहिलेसम्म फिक्स्ड भएको गर्न सकेको छैन ।
तपाईं आफै ल्होछार कसरी मनाउनुहुन्छ ?
वर्षमा एकचोटि आउने पर्व । तामाङ समुदायसँगै रमाउँदै मनाउने बानी परेको छ । कार्यक्रममा पुगेर ल्होछारलाई उल्लासमय बनाउने काममा खटेरै मनाउँछु ।
स्टेजमा तामाङ गीत र सेलो, कुनलाई प्राथमिकता दिनुहुन्छ ?
मेरो बेस नै तामाङ गीत हो । तीनचार जना तामाङ दर्शक देखेपनि म तामाङ गीत गाउँछु ।
कतिपय तामाङ नेपाली गीत गाएरै हिट भइरहेका छन्, तपाईंलाई यस्तो गर्न मन लाग्दैन ?
चर्चा नै सबै कुरा होइन होला । संसारमा जति चर्चा भएपनि बचाउने भनेको आफ्नै समुदायले हो । मैले जानीनजानी तामाङ गीत नै गाएँ । नेपाली मात्र होइन अरु भाषाका गीत पनि गाउन मन लाग्छ । तर, सक्दैन कि जस्तो पनि लाग्छ । त्यसैले मलाई यही ठिक लागेको छ । तामाङ समुदायको माया पाएको छु । सेलो मन पराउनेहरुको माया पाएको छु । यसैमा खुसी छु ।
झन्डै १७ वर्षे यो यात्रामा सम्मान र पुरस्कार कतिको पाउनु भएको छ ?
दोस्रो तामाङ चलचित्र अवार्डमा उत्कृष्ट गायक÷संगीतकार पाएँ । यति हो सम्मान भने पनि पुरस्कार भने पनि । अरु भनेको दर्शकश्रोताको माया हो । मातृभाषाका गीत÷संगीत, चलचित्रमा अवार्ड आयोजना नै हुदैन । नेपाली भाषामा विभिन्न अवार्ड कार्यक्रमहरु हुन्छ । यस्ता कार्यक्रमलाई सरकारको पनि सहयोग हुने रहेछ । तर, मातृभाषालाई यस्तो सहयोग अहिलेसम्म पाएको छैन । कुनै अवार्ड आयोजना गर्न दाता खोज्दै हिड्नुपर्छ ।
त्यसो भए यो क्षेत्रमा कमााई पनि छैन ?
मातृभाषामा गीत गाउनु एक प्रकारको सामाजिक सेवा पनि हो । समुदायमा चिनिएको छ । जसले जे भने पनि वैकल्पिक पेसा नसमाइकन कलाकार बाँच्न सकिदैन । त्यसैले गीत गाएरै दाम कमाउन भने सकेको छैन ।
भनेपछि तपाईं पनि वैकल्पिक पेसा गर्नुहुन्छ ?
म काठमाडौं पसेदेखि नै थाङ्का आर्ट गर्थे । यो क्षेत्रमा पनि निकै मेहेनत गरेको छु । यसैको सहयोगमा संगीत सिकें । एल्बम निकाले र अहिले पनि म यो पेसामा संलग्न छु । यो मेरो वैकल्पिक मात्र होइन बाँच्ने मुख्य आधार नै हो ।
तपाईंको सांगीतिक यात्रा चाँहि कसरी सुरू भयो ?
सानैदेखि नै गीतसंगीतमा रुचि थियो । पढ्न काठमाडौं आएपछि कलेजका कार्यक्रमहरुमा गाउन थाले । साथीहरुबाट सुझाव पाएँ–गीत गाऊ राम्रो हुन्छ भनेर । संगीतमा पहिलो गुरु डोरेमी म्युजिकका इश्वार अमात्य हुनुहुन्छ । उहाँसँग सिके । त्यसपछि संगीत साधना प्रालिका कैलाश राईसँग सिके । अनि गीतमा निरन्तरता दिएँ ।
नेपालीमै सिक्नुभयो होला संगीत, मातृभाषामै गीत गाउनुपर्छ भनेर चाँहि कसरी लाग्यो ?
बाटो देखाउनेमा पनि भर पर्छ । मलाई चन्द्रकुमार मोक्तानको गीतले पनि मातृभाषामा गीत गाउनुपर्छ भन्ने भावना पलायो । संगीतकार दाजु कुबेरसिंह दोङको पनि यसमा मार्गदर्शन छ । नेपाल विभिन्न भाषाले प्रचुर धानी देश हो । सबैले नेपाली गीत नै गाउनुपर्छ भन्ने छैन । कोहीकोहीले त मातृभाषाको गीत पनि गाउनुप¥यो नि ।

सम्बन्धित समाचार