१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अमेरिका चीनको सम्बन्धमा नयाँ आयाम


१ मंसिर २०७४, शुक्रबार  

0
Shares

बीके नेवा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १२ दिवसीय एसिया भ्रमण हरेक हिसाबले महत्वपूर्ण रह्यो । दक्षिण कोरिया र जापानको सुरक्षा चिन्ता, उत्तर कोरियाको आणविक कार्यक्रम र चीनसँगको अमेरिकी व्यापारका विषय,एसिया तथा प्रशान्त क्षेत्रमा व्यापार सन्तुलनका विषयमा सम्बन्ध नेताहरुसँग घनिभूत वार्ता गरी अविश्वासको अवस्था अन्त्य उहाँको भ्रमण सफल रहेको छ ।

जापानी प्रधानमन्त्री सिन्जो आबेसँगको वार्ता मूलतः सुरक्षाको विषयमा केन्द्रित थियो । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट जापानमाथि भएको सुरक्षामाथिको खतरा कम गर्न आवश्यक सहयोग गर्ने बचन दिनुभयो । भ्रमणका क्रममा जापानको सुरक्षाको विषयमा महत्वपूर्ण समझदारी भयो ।

त्यसैगरी दक्षिण कोरियाको भ्रमणका क्रममा उहाँले उत्तर कोरियालाई वार्तामा आएर आणविक कार्यक्रम परित्याग गर्न आग्रह गर्नुभयो । उहाँले यो आग्रहलाई कमजोरी नठान्न उत्तर कोरियालाई चेतावनी पनि दिनुभयो ।

दक्षिण कोरियापछि चीन पुग्नुभएका राष्ट्रपति ट्रम्पलाई चीनले ऐतिहासिक महत्वका साथ उच्च सम्मान दियो । चिनियाँ राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति ट्रम्पबीच सौहार्दपूर्ण वार्ता भयो । दुवै नेता व्यापार सन्तुलन गर्ने विषयमा सहमत हुनुभयो । दुवै देशबीच २ खर्ब ५४ अर्ब डलरको ब्यापार सम्झौता भयो ।

लेखक

चीनपछि भियतनाम पुग्नुभएका राष्ट्रपति ट्रम्पले एसिया प्रशान्त आर्थिक सहयोग मञ्च (एपेक)को सम्मेलनलाई सम्बोधन गर्दै ब्यापार सन्तुलनलागि आह्वान गर्नुभयो । त्यहाँ उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्नुभयो ।

यता चीनले समाजवादभित्र प्रजातन्त्रको अभ्यास गर्ने भएको छ । हालै राजधानी बेइजिङमा सम्पन्न सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)को १९ औँ राष्ट्रिय महाधिवेसनले यो विचारलाई अनुमोदन गरेपछि यसबारे नयाँ बहस सुरु भएको छ । महाधिवेसनबाट दोस्रो कार्यकालका लागि पुनः निर्वाचित राष्ट्रपति एवं पार्टी महासचिव सी जिनपिङले यो विचारलाई अनुमोदन गराउनुभएको हो । महाधिवेसनले ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सी जिनपिङको विचारधारा’ पारित गरेको छ ।

महाधिवेशनले चीनलाई २१ औँ शताब्दीको मध्यसम्ममा महान् आधुनिक समाजवादी राष्ट्र बनाउने प्रतिबद्धता जाहेर गरेको छ । बेइजिङको ग्रेट हल अफ दि पिपुलमा पार्टीको १९ औँ महाधिवेसनको उद्घाटन समारोहमा राष्ट्रपति सीले चीनलाई आर्थिक तथा राजनीतिक हिसाबले दुई चरणमा नयाँ रुप दिने बताउनुभयो । उहाँले चिनियाँ विशेषतासहितको समाजवादको विकासनिम्ति रणनीतिक दृष्टिकोणको आह्वान गर्नुभयो । जस अनुसार सन् २०२० देखि २०३५ सम्म पहिलो चरण र सन् २०३५ देखि २०५० सम्म दोस्रो चरणको विकास कार्यक्रम तय गरिएको छ । सन् २०२० देखि २०३५ सम्म समाजवादी आधुनिकीकरणका लागि जग निर्माण गरिने छ भने बाँकी समयमा आधुनिक समाजवादी राष्ट्र नै घोषणा गरिने छ । त्यसमा समुन्नत, बलियो, प्रजातान्त्रिक, सुन्दर चीन निर्माण हुनेछ । राष्ट्रपति सीले सन् २०५० सम्ममा राष्ट्रहरुको समुदायको एक गर्व गर्न लायक र सक्रिय सदस्य हुने बताउँदै चीनलाई विश्वकै नमूना राष्ट्र बनाउने उद्घोष गर्नुभयो । देशभरबाट चुनिएका दुई हजारभन्दा बढी महाधिवेसन प्रतिनिधिहरुलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले प्रस्तुत गर्नुभएको यो मार्गचित्रलाई संशोधनसहित महाधिवेसनले अनुमोदन गरेको हो । प्रत्येक पाँच÷पाँच वर्षमा हुने महाधिवेसनले सीलाई नै पुनः पाँच बर्षका लागि महासचिव चयन गरेको छ । महासचिव नै मुलुकको राष्ट्रपति बन्ने नियम अनुसार उहाँ पुनः पाँच वर्षका लागि राष्ट्रपति निर्वाचित हुनुभएको छ । पार्टी,जनता,सरकार र सेना सबैमा लोकप्रिय नियन्त्रण र समर्थन पाउनु भएका सी तत्कालीन नेताहरु माओत्सेतुङ र देङ सिआओपिङजस्तै शक्तिशाली बन्ने अवसर पाउनुभएको छ । उहाँले अगाडि सार्नुभएको राजनीतिक र आर्थिक विकासको नयाँ मोडेले चीन समृद्धि, शान्ति र प्रजातन्त्रसहितको आधुनिक समाजवादी राष्ट्र बन्नेछ । यो विश्वकै लागि नमूना राष्ट्र बनाउने सीको सपनाले मूर्त रुप लिनेछ ।

 

सन् २०१२ मा चीनको नेतृत्व सम्हाल्नु भएका सी दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएसँगै उहाँले अगाडि सार्नुभएको एसिया,युरोप र अफ्रिकालाई जोड्ने महत्वाकांक्षी आर्थिक मार्गचित्र वान वेल्ट वान रोड( ओबोर) परियोजनाको कार्यान्वयनले पनि नयाँ गति लिने भएको छ । सन् १९४९ को समाजवादी क्रान्तिसँगै चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा यो अवधिमा चीनले विश्वमै गर्व गर्न लायक सन्तुलिन आर्थिक तथा राजनीतिक विकास गर्दै मुलुकलाई अग्रगति दिएको छ । आर्थिक विकाससँगसँगै राजनीतिक उदारीकरणतर्फ अग्रसर चीनले समाजवादभित्र क्रमशः प्रजातान्त्रिक अभ्यास गराउँदै चिनियाँ जनतालाई पूर्णरुपले राजनीतिक र आर्थिक अधिकार सम्पन्न गराउँदै खर्चिलो बन्दै गएको विश्व राजनीतिक व्यवस्थालाई नै मार्गप्रसस्त गर्ने योजना बनाएको छ ।

महाधिवेसनमार्फत् नै चीन विश्वमै शक्तिशाली भएको उद्घोष गर्दै सिनजियाङ,तिब्बत र हङकङलगायत समग्र चीनमा पृथकतावादी कुनै पनि गतिविधि हुन नदिने र पछिडिएको क्षेत्रलाई अग्रगामी विकासको मूलधारमा ल्याउने प्रतिबद्धता जाहेरसमेत गरेको छ । राष्ट्रपति सीले विश्वका लागि चीनको ढोका बन्द नगर्ने, थप आर्थिक सुधार र वैदेशिक लगानीलाई सहज बनाउने,पार्टीभित्रका भाइरस निर्मूल पार्ने, भ्रष्टाचारविरोधी अभियान जारी राख्ने साथै राष्ट्रिय सुरक्षा र एकतालाई थप बलियो बनाउने दावी गर्नुभयो । हुन पनि चीनले पछिल्ला दिनहरुमा भ्रष्टाचारविरोध अभियानमा निकै ठूलो सफलता प्राप्त गरेको छ भने करोडौँ रोजगारीका अवसर सिर्जना गरी करोडौँ मानिसलाई गरिबीबाट मुक्त गरेको छ । चीनले प्राप्त गरेको यो सफलता विश्वका अन्य मुुलुकहरुका लागि प्रेरणाको स्रोत बनेको छ ।

अत ः चीनले आन्तरिक राजनीतिमा सुधार गर्दै मानव अधिकारको अवस्था राम्रो बनाउने प्रयास गर्ने भएको छ । विश्व दुई शक्ति राष्ट्र अमेरिका र चीनबीच नयाँ ढंगले सम्बन्ध सुधार हुनु विश्वकै लागि सुखद पक्ष हो ।

प्रकाशित मिति : १ मंसिर २०७४, शुक्रबार  १० : १२ बजे