भेनेजुएलामा अन्तरिम राष्ट्रपति, अमेरिकाको समर्थन

February 7, 2019

बीके नेवा-

भेनेजुयलाको संसद्का विपक्षी नेता जुवान गुएइदोले राष्ट्रपति निकोलस मदुरोलाई विस्थापित गरी आफूलाई मुलुकको ‘अन्तरिम राष्ट्रपति’ घोषणा गर्नुभएको छ । गुएइदोले जनबरी २४ मा उक्त घोषणा गरेसँगै राजधानी काराकासका सडकमा दशौँ हजारले विपक्षी नेताको समर्थनमा खुसी मनाउँदै जुलुस निकाले । गुएइदोलाई अमेरिका ,युरोपेली सङ्घ, भेनेजुएलाका छिमेकी देशहरु ब्राजिल, कोलम्बिया, चिली, अर्जेन्टिना समेतले समर्थन गरेका छन् । अर्कोतर्फ रुस,चीन टर्की आदिले मदुरोलाई नै समर्थन गरेका छन् ।

 

लेखक

उता राष्ट्रपति निकोलास मदुरोले विपक्षी नेता गुएइदोको समर्थन गरेको भन्दै अमेरिकी कूटनीतिज्ञलाई भेनेजुएला छाड्न आदेश दिनुभयो । तर उहाँको आदेश अर्थहीन बनेको छ । पछिल्लो घटनाक्रम अनुसार भेनेजुएलाको संसद्, सेना र अदालत सबै विभाजित छन् । राजधानी काराकास समेत देशका सबै प्रमुख शहरमा राष्ट्रपति मदुरोको विपक्षमा नारा जुलुस भए । नारा जुलुसकै क्रममा भएको झडपमा २६ जना प्रदर्शनकारीको मृत्यु भयो भने सयौँ घाइते भए ।

देशभित्र फैलिएको अराजक स्थितिका कारण कतिपय स्थानमा लुटपाटका घटना भएका छन् । भेनेजुएलाको अर्थतन्त्र धरापमा परेसँगै राष्ट्रपति मदुरोको शासन सङ्कटमा परेको हो । चौतर्फी आलोचना खेपिरहेको मदुरो शासनविरुद्धमा लगातार विरोध प्रदर्शन भइरहेका थिए । गत वर्ष अमेरिका र भेनेजुएलाका छिमेकी मुलुकहरुले राष्ट्रपति मदुरोको पुनः निर्वाचनलाई अबैध घोषणा गरेका थिए ।

प्रदर्शनकारीलाई सम्बोधन गर्दै विपक्षी नेता गुएइदोले भन्नुभयो, ‘हामीलाई थाहा छ, यसले निश्चित परिणाम दिनेछ । हामीले पूर्ण लोकतन्त्र प्राप्त नगर्दासम्म प्रदर्शन जारी रहन्छ । हामी जनताको आशा र अभियानलाई खेर जान दिने छैनौं ।’

केही महिनाअघि राजधानी काराकासमा सैन्य कार्यक्रममा राष्ट्रपति निकोलस मडुरोको हत्या गर्ने उद्देश्यले ड्रोन आक्रमण भयो । ड्रोन आक्रमणबाट राष्ट्रपति बच्न सफल हुनु भए पनि उहाँका निकट सात सैनिक घाइते भए ।

भेनेजुयलाको छिमेकी कोलम्बिया र अमेरिकासित विवाद जारी छ । पछिल्लो समय अमेरिकाको चाहनाविपरीत भेनेजुयलाले संविधान सभाको चुनाव गरी संविधान संशोधन गरेर राष्ट्रपतिलाई थप अधिकारको बाटो खुलाएपछि दुई मुलुकबीच विवाद चर्केको हो । अमेरिकाले भेनेजुयलामाथि थप नाकाबन्दी लगाएको छ ।

पछिल्ला घटनाक्रमले ल्याटिन अमेरिकी मुलुक भेनेजुयलामा राजनीतिक र आर्थिक सङ्कट गहिरिएको छ । संविधान संशोधनमार्फत् शक्तिशाली बन्नुभएका राष्ट्रपति मडुरोले सङ्कट समाधान गर्न नयाँ प्रयास सुरु गरे पनि सफल हुनु भएन । १४० अर्ब डलरभन्दा बढी विदेशी क्रृणले थिचिएको भेनेजुयलामा आर्थिक पुनःसंरचना गर्नैपर्ने भएको छ ।

भेनेजुयलामा संविधान संशोधन गर्न गएको सन् २०१८ को जुलाई ३० संविधानसभाको चुनाव भयो । राष्ट्रपति निकोलस मडुरोले त्यहाँका विपक्षी दलहरु र अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै संविधानसभाको चुनाव गराउनुभयो । राष्ट्रपति मडुरोविरुद्ध हिंसात्मक आन्दोलन गरिरहेका विपक्षीहरुलाई अमेरिकाको सहयोग र समर्थन छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संविधानसभाको चुनाव गराए थप कडा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिनुभयो । तर मडुरोले भने अमेरिकी चेतावनीलाई बेवास्ता गरी संविधानसभाको चुनाव गराउनुभयो । राष्ट्रपति मडुरोविरुद्ध अमेरिकाले थप नाकाबन्दीको घोषणा गर्यो । यसले गर्दा अर्थतन्त्र झन् नराम्ररी प्रभावित बनेको छ ।

राष्ट्रपति मडुरोलाई सत्ताबाट हटाउन विपक्षी गठबन्धनले हिंसात्मक आन्दोलन गरे । आन्दोलनका क्रममा एक सयभन्दा बढीको ज्यान गयो भने हजारौँ घाइते भए । सरकारलाई चुनौती दिँदै विपक्षीहरुले समानान्तर सत्ताको अभ्यास समेत गरे । यसले गर्दा सरकार र विपक्षीबीच थप अविश्वास बढ्यो । राष्ट्रपतिको आग्रहलाई बेवास्ता गर्दै विपक्षीहरुले अनौपचारिक जनमत सङ्ग्रह गराउनुका साथै नयाँ समानान्तर सरकार गठनदेखि नयाँ न्यायाधीश नियुक्तिसमेत गरी सरकारलाई चुनौती दिए । तर मडुरो सरकार चुनौतीको सामना गर्दै संविधान संशोधनका लागि संविधानसभाको चुनाव गराएरै छाड्यो ।

राजनीतिक खिचातानीका कारण विश्वकै ठूलो तेलको भण्डार रहेको यो मुलुक चरम आर्थिक तथा राजनीतिक सङ्कटमा फसेको छ । डेढ दशक पहिले पनि यो मुलुकले विपन्नता र चरम असमानता भोग्यो । पछि तत्कालीन राष्ट्रपति ह्युगो चाभेजको नेतृत्वले एकाएक चर्चामा आयो । तत्कालीन राष्ट्रपति चाभेजको सत्तामा उपराष्ट्रपति रहनुभएका मदुरोले उहाँको निधनपछि उत्तराधिकारीका रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुभयो । लगत्तै भएको राष्ट्रपतीय निर्वाचनमा अत्यन्तै झिनो मतले प्रतिद्वन्द्वी हेनरिक केप्रिलेसलाई पराजित गरी निर्वाचित हुनुभएका उहाँले जनअपेक्षा अनुसार काम गर्न भने सक्नुभएन । मुद्राफ्रीति १०० प्रतिशत नाघ्यो भने बेरोजगारीदर ६५ प्रतिशतभन्दा माथि पुगेको छ । मुलुकको समस्या समाधान गर्ने भनी उहाँले आर्थिक सङ्कटकाल घोषणा गर्नुभयो तर समस्या समाधान हुने लक्षण अझै देखिएन ।

आठ लाख ८१ हजार वर्ग किमि क्षेत्रफलमा फैलिएको, तीन करोड १० लाख जनसङ्ख्या रहेको जैविक विविधताले भरिपूर्ण सुन्दर यो मुलुक लामो समयसम्म स्पेनको अधीनमा रहन वाध्य भयो । सन् १५२२ मा स्पेनले अधीनमा लिएको यो मुलुक लामो सङ्घर्षपछि सन् १८११ मा आंशिक स्वतन्त्र हुँदै सन् १८३० मा पूर्ण स्वतन्त्र भएको हो । त्यसपछि थुप्रै राजनीति उतारचढाव, तानाशाही सत्ता,सैनिक सत्ता, प्रजातान्त्रिक सत्ता, समाजवादी सत्ता भोगिसकेको यो मुलुकलाई अहिले सबैलाई मिलाउनसक्ने भरपर्दो नेतृत्व आवश्यक देखिएको छ । मुलुकमा सुरक्षा चुनौती थपिएसँग अब राजनीतिले कस्तो मोड लिने हो, प्रतीक्षाको विषय बनेको छ ।

सम्बन्धित समाचार