१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बोलिभियाको पछिल्लो प्रदर्शनमा ८ जनाको मृत्यु, १ सय ३२ घाइते



ला पाज– दक्षिण अमेरिकी देश बोलिभियामा शुक्रबार सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रदर्शनका क्रममा ८ जना मारिनुका साथै १ सय ३२ जना घाइते भएका सरकारी स्रोतले पुष्टि गरेको छ । घाइतेमध्ये अधिकांशलाई गोली लागेको बताइएको छ ।

प्रदर्शनकारीहरु राष्ट्रपति इभो मोरालेसका समर्थकहरु रहेको जनाइएको छ । मोरालेसले भने राजीनामा गरिसकेका छन् । बोलिभियामा गत अक्टोबर २० मा भएको निर्वाचनबाट पुनः चौथो पटक राष्ट्रपतिमा चयन भएका मोरालेसका विरुद्धमा तीन हप्तादेखि शृंखलाबद्ध विरोध प्रदर्शन भइरहेको थियो ।

तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा गरेका थिए । सेनाले समर्थन नगर्ने घोषणापछि मोरालेसले नोभेम्बर १० मा राजीनामाको घोषणा गरेर मेक्सिकोतर्फ लागेको र मेक्सिकोले उनलाई राजनीतिक शरण दिने प्रस्ताव गरेको बताइएको छ ।

राष्ट्रपति मोरालेसको राजीनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । मोरालेसका समर्थकहरू मंगलबारदेखि बोलिभियाका विभिन्न क्षेत्रहरुमा भेला भएका थिए ।

विपक्षीले समर्थन गरेको अन्तरिम सरकारका नेता जेनिन अनेजको राजीनामा, मोरालेसको फिर्तीको माग गर्दै समर्थकहरु विरोध प्रदर्शन जारी राखेका थिए ।

त्यही चुनावमा पराजित भएका पूर्व राष्ट्रपति एवं मुख्य विपक्षी दलका नेता कार्लोस मेसाले बोलिभियाली जनताले विश्वलाई नै नयाँ सन्देश दिएको बताए । उनले बोलिभियालाई नयाँ र समृद्ध देशमा रुपान्तरण गर्न पछिल्लो कदमले मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।

मोरालेसले बोलिभियाको राष्ट्रपतिका रुपमा करिब १४ वर्ष शासन सञ्चालन गरेको थिए । यसै वर्षको अक्टोबर २० मा सम्पन्न चुनावमा भने उनी झिनो मतान्तरले चौथो कार्यकालका लागि विजयी भएका थिए । जसलाई मोरालेसले धाँधली गरेर चुनाव जितेको भन्दै विपक्षीहरुले चुनावी परिणाम अस्वीकार गरेका थिए ।

मोरालेसको विजयलाई अस्वीकार गर्दै भएको तीन सातादेखिको प्रदर्शनमा तीन जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १ : १३ बजे