झरीले रोकेन बोस्टनको साकेला सिलीलाई

May 23, 2018

सुरेश चाम्लिङ/बोस्टन

युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरको आयोजनामा मे १९,२०१८ का दिन बोस्टन शहरको आर्सनल पार्कमा किरात राईहरुको साकेला चाड मनाइयो ।

किरातीहरु जहाँ रहे पनि आफ्नो सँस्कृति बचाई राख्न र भावी पुस्तामा हस्तान्तरण गर्न बिदेशमा पनि साकेला (भुमि पुजा ) गरिएको प्रमुख अतिथिको अर्गनाइजेसनका केन्द्रीय सभापति बिष्णु राइले बताए। कार्यक्रममा उनले नेपालमा हाल राईहरुको प्रतिनिधिमुलक सस्था किरात राई यायोखाद्वारा अगाडी सारिएको किरात प्रदेशको माग जायज भएको बताए।

बिशेष अतिथि बोर्डका सल्लाहकार तथा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष शिबकुमार राइले साकेलाको अर्थ र महत्वमाथि प्रकाश पारे । नेपाली र अमेरिकाको रास्ट्रिय गीतसंगै भुमि पूजाबाट शुरु भएको उक्त कार्यक्रम दुइ समुहबाट सिली प्रस्तुत गरिएको थियो । एक समूहले साकेला धुनमा र अर्को समूहले ढोल झ्याम्टाको तालमा शिली प्रस्तुत गरेका थिए ।

गुन्यू चोली, ढाकाको सल, सिरबन्दी, चेप्टे सुन ढुङ्ग्री बुलाकी र दौरा सुरूवाल लगायतका किरांत राई पहिरनमा सजिएका युवा युवतीको सिली प्रस्तुत गर्ने जोशलाई न दर्के पानीले छेक्न सक्यो न चिसो सिरेटोले नै । ढोल झ्याम्टाको तालमय धुन र सिली प्रस्तोताहरूको शै शै ला हो शै शै ला गीत गुन्जनले दर्शकहरु मन्त्रमुग्ध भएका थिए भने उनीहरूले त्यो क्षण अमेरिकी भूमिमा नभएर नेपालको मां किरांतमा रहेको महशुस गरेको प्रतिकृया ब्यक्त गरेका थिए ।

पहिलो समुहको कार्यक्रमको संयोजन धौलबीर राइले गरेका थिए । कार्यक्रमको मध्यान्तरमा शिरैमा सिरबन्दि बोलको गीतमा न्युयोर्कबाट आइपुगेका कलाकारहरु सजना राई र श्यारोन राईले जोडदार नृत्य गरेका थिए ।

कार्यक्रमको अर्को प्रमुख आकर्षण रहेको थियो साकेला धून । किरांत राईहरुको मौलिक बाजा बिनायो मुर्चुङ्गा बासुरी,ढोल, झ्याम्टा र आधुनिक बाजा की बोर्ड समेतलाई समायोजन गरी तैयार गरिएको साकेला धूनले किरांत राईहरूको मौलिक संगीतलाई जिवन्तता प्रदान गरेको थियो ।

धुनको परिकल्पनाकार हाल कनेक्टिकट निबासी जय राई थिए भने उनी आफैले बांसुरी र मुर्चुङ्गा बजाएका थिए । त्यस्तै बिनायो संगीता राई , झ्याम्टा सुनिता राई र संगिता राई , ढोल ज्योज्योलुङ राई र किबोर्ड जेनिथ राईले बजाएका थिए ।

त्यस्तै धन घ्यासुंग घलेद्वारा प्रस्तुत जितेन राईको ‘उड्दै आयो हवाई जहाज’ बोलको गीतले सबैलाई मोहित बनाएको थियो । न्यु इंग्ल्याण्ड च्याप्टर सह सचिव चन्द्र राईले थुन्सेको भारि बिसाउदै गीत प्रस्तुत गरे । कार्यक्रममा कलाकारलाई सम्मानस्वरुपम प्रमाण पत्र वितरण गरिएको थियो ।

युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु ईङ्ग्लैण्ड लोकल च्याप्टरको अध्यक्ष मुक्ति नारायण राईको सभापतित्वमा भएको उक्त कार्यक्रमको समापन गर्दै पानी झरीकोबिचमा पनि कार्यक्रमलाई सफल बनाउने सम्पुर्णलाई धन्यवाद दिए । कार्यक्रमको सयुक्त संचालन शेखर राई र सबिना चामलिङले गरेका थिए ।

न्यु इङल्यान्ड लोकल च्याप्टरका उपाध्यक्ष अनिता राइले स्वागत गरेको उक्त कार्यक्रममा एन आर एन न्यु हेम्प्शायरका सभापति डम्बर कडरिया,आदिवासी जनजाती महासंघ न्यु हेम्प्शायरको सभापति सुन्दरी गुरुङ,अन्तररास्ट्रिय नेपाली साहित्य समाज न्युहेम्प्शायरका अध्यक्ष कृष्ण गिरी, अन्तररास्ट्रिय नेपाली साहित्य समाज न्युहेम्प्शायरका प्रधान सम्पादक इश्वरी भट्ट,न्यु हेम्प्शायर नेपाली समाजका अध्यक्ष सोम गुरुङ, बोस्टन तमु समाजका पूर्व अध्यक्ष सम्झना गुरुङ,बोस्टन मगर समाजका अध्यक्ष सुर्य थापा, पशुपति बौध्द फाउण्डेशनका चियरपर्सन मिलन गुरूङ, एभरेस्ट लायन्स क्लब न्यु हेम्प्शायरका अध्यक्ष उमेश कोइराला, बुद्ध समाज न्यु हेम्प्शायरका अध्यक्ष पेमा तामाङ, जनसम्पर्क समितिका केन्द्रिय सदस्य लोक लामा, जि.बि.एन.सी.तथा पशुपति बुद्ध फ़ाउण्डेशनका अध्यक्ष बिष्णु मणी आचार्य,एन आर एन ए मासच्युसेट्स अध्यक्ष बिष्णु कार्की र बोष्टन तामाङ समाजका अध्यक्ष मणिक लामासमेतको उपस्थिति थियो । अतिथिहरुलाई खादा लगाएर स्वागत गरिएको थियो ।

सम्बन्धित समाचार