बुद्धको मूर्ति तोडफोड घटनाप्रति बौद्धमार्गीको आपत्ति, कांग्रेसले भन्यो : दोषीलाई कारबाही गर

July 19, 2019

काठमाडौं । बुटवलको बेलहिया सडक खण्डको बीच भागमा राखिएका बुद्ध मूर्ति तोडफोड भएको विषयमा बौद्ध संघसंस्थाले विरोध जनाएको छ ।

नेपाल बौद्ध महासंघले कडा कारबाही गर्न माग गरेको छ । आचार्य कर्मा रिन्छेन शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्व शान्तिको प्रतीक बुद्धको मूर्ति तोडपोड गरी मुलुकमा अशान्ति निम्त्याउने धार्मिक सद्भाव खल्बलाउने कुकार्यले कसैको हित नहुने भएको हुँदा यस प्रकारको निन्दनीय कार्य गर्ने गराउनेहरुलाई अबिलम्ब पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछु ।’

यसैगरी तामाङ बौद्ध महसंघले पनि विज्ञप्ति जारी गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । अध्यक्ष खेन रन्पोक्षे गेशे ङिमा तामाङले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा रहेका एतिहासिक तथा पुरातात्विक सम्पदाहरु गुम्बा विहार चैत्य स्तुपा र प्रतिमा लगायत धर्मस्थलहरुमा अक्षूण र जीवन्त राखने हामी आम नेपाली एवं नेपाल सरकार अझ बढी जिम्मेवार रहेको अवस्थामा केही विनाशकारी काम गर्ने सार्वजनिक स्थलमा रहेका बुद्ध मूर्तिरुमा तोडफोड गरी सिंगो बौद्ध धर्मावलम्बीहरुमाथि सामाजिक सद्भाव विगारेर साम्प्रदायिक दंग भड्काउने र धार्मिक सहिष्णुता खल्बलाउन खोजेको प्रष्ट हुन्छ । यस्ता कार्य गर्ने व्यक्ति अर्थात समूहप्रति हामी बौद्ध धर्मावलम्बीहरु चिन्ताजनक एवं आपत्तिजनक रहेको जानकारी गराउँदै नेपाल सरकारको सम्बन्धित निकाय मन्त्रालय अन्तर्गत तत्काल कडा कारबाही गर्न तामाङ बौद्ध महासंघ नेपाल र सम्पूर्ण बौद्धमार्गीहरु नेपाल सरकारसँग जोडदार माग गर्दछौ ।’

कांग्रेसले जनायो आपत्ति, चाँडो कारबाहीको माग

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका गौतम बुद्धका मूर्तिहरु तोडफोड गर्नेलाई यथाशीघ्र कानूनी कारबाहीको माग गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान् गौतम बुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको उल्लेख गर्दै सो निन्दनीय एवं आपत्तिजनक कार्य गर्ने दोषीलाई करबाही गर्न माग गरेका छन् ।

 

छानबिन हुन्छ : प्रवक्ता बास्कोटा

बुटवलको बेलहिया सडक खण्डको बीच भागमा राखिएका पाँच वटा बुद्ध मूर्ति तोडफोड भएको विषयमा सरकारले छानबिन गर्ने भएको छ । बिहिबार नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले बुद्धमूर्ति तोडफोडको विषयमा जिज्ञासा राखेपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले यस विषयमा छानबिन गर्ने बताएका हुन् ।

मन्त्री बास्कोटाले भने, ‘गौतम बुद्धको मूर्ति तोडेको कसले भन्ने विषयमाथि छानबिन हुन्छ । छानबिन अघि नै धार्मिक सहिष्णुतामा खलल पार्न खोजिएको भन्ने बुझ्न हुँदैन । अपराध कसले किन गर्‍यो भन्ने बिस्तारै खुल्दै जाने छ ।’

पाँच मूर्तिमा तोडफोड

बुटवलको बेलहिया सडक खण्डको ६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका बुद्धमूर्ति तोडफोड भएका हुन् ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बिहीबार बिहान तोडफोड भएको अवस्थामा भेटिएको बताए । मूर्तिहरु कसले र किन फुटायो भन्ने अहिलेसम्म खुल्न नसकेको उनको भनाई छ ।

‘विकास विरोधी वा अन्य कुत्सित उद्देश्यसहित योजनाबद्ध ढंगले गाडीसहित समूहमा आएर तोडफोड गरिएको देखिन्छ,’ घिमिरेले भने, ‘शान्ति सुरक्षासँग पनि जोडिएको विषय भएकाले सुरक्षा निकायले गम्भीरतापूर्वक अनुसन्धान गरेर दोषीलाई कानूनी कारवाही गरोस् ।’

प्रदेश सरकारले अहिले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा यो घटनाले नकारात्मक प्रभाव पार्न सक्ने लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ताले जानकारी दिए ।

घटनास्थल पुगेर प्रहरी टोलीले अध्ययन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बुद्धमूर्ति अनावरण गरेका थिए । बुद्ध मूर्ति स्थापनाका लागि नगरपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्टाएको थियो ।

सम्बन्धित समाचार