बुद्धको सम्मानमा सरकारको कन्ज्युस्याँई

May 22, 2019

सम्पादकीय

विभिन्न देशले आयोजना गर्दै आएको ‘अन्तरर्राष्ट्रिय वेशाक डे’ अर्कोपटक नेपालले मनाउने भएको छ । यसपटक भियतनाममा आयोजित वेशाक डेमा सहभागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मनाउने घोषणा गरेका हुन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले यस कार्यक्रम तय गरेका हुन् । भियतनाम र कम्बोडिया भ्रमणका क्रममा ओलीले विश्व समूदायलाई बुद्ध जन्मभूमि नेपाल भ्रमणमा आउन निम्तोसमेत दिए ।

नेपालले हरेक वैशाख पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउँदै आएको छ । तर वेशाक डे भने मनाएको छैन ।

सन् १९९० मा बुद्धको जन्म, बोधिज्ञान प्राप्त तथा महापरिनिर्वाणको दिवसको दिनलाई वैशाख डेका रुपमा मनाउने संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको थियो । अहिले संयुक्त राष्ट्रसंघसँगै युनेस्कोले मनाउँदै आएको छ । सन् २००० मा पहिलो वेशाक डे न्युयोर्कस्थित संयुक्त राष्ट्र संघमा मनाइएको थियो । जसमा ३४ देशले सहभागिता जनाएको थियो । त्यसयता थाइल्यान्ड, भियातनाम र श्रीलंकाले यो दिवस मनाएको छ । विगतका वर्षहरुमा एसियन समिटमा मनाइदै आएको यो दिवस धेरै पटक त थाइल्यान्डले आयोजना गरेको छ । २००४ यता थाइल्यान्डले १२ पटक वेशाक डे आयोजना गरिसकेको छ । बुद्धभूमि नेपालमा भने पहिलोपटक वेशाख डे आयोजनाको आँट गरिएको छ ।

 

नेपाललाई चिनाउने बुद्धभूमिमा सरकारको लगानी न्युन छ । अर्कोपटक नेपाल भ्रमण वर्ष सफल पार्नका लागि यो कार्यक्रम सरकारले ल्याएको हो । नभए सरकारले यस विषयमा खासै चासो राखिएको देखिदैन । पर्यटनलाई आम्दानीको स्रोत मान्ने सरकारले लुम्बिनीदेखि बुद्धसँग सम्बन्धित सम्पूर्ण क्षेत्रमा पूर्वाधार तयार गर्ने जमर्को अहिलेबाट नै गर्नुपर्दछ ।

त्यसका लागि यातायात र हवाई क्षेत्र सुधार सबैभन्दा पहिलो प्राथमिकतामा राख्नुपर्छ । पछिल्लोपटक पर्यटन वर्षलाई सफल बनाउने भनेर लागेपनि नेपाली आकाश र सडकमा दुर्घटनाहरु बढिरहेका छन् । यसलाई सरकारले बेलैमा ध्यान दिएर सुरक्षका पूर्वतयारीहरुको व्यवस्था गर्नुपर्दछ ।

विश्वलाई नेपाल चिनाएर शान्तिको सन्देश फैलाउने गौतम बुद्धको सम्मानमा विश्वका बौद्धमार्गी अधिकांश मुलुकले साताव्यापी कार्यक्रमसमेत आयोजना गर्दछ । तर, हाम्रो नेपालमा भने सरकारले लुम्बिनीमामात्र हतारोलतारोमा एकै दिनमात्र बुद्धलाई सम्मान सम्झन्छ । साँच्चै पर्यटक भित्र्याउने र बुद्धलाई सम्मान गर्ने हो भने आगामी दिनबाट हप्ताभर नेपालभर बुद्ध जयन्ती मनाइयोस् ।