डालासमा ‘बुम्बा’को प्रदर्शनी; अप्रिल २१ मा न्युयोर्कमा पनि

April 17, 2018

एभरेष्ट टाईम्स प्रतिनिधी / डालास

अमेरिकाको डालासमा तामाङ चलचित्र ‘बुम्बा’को प्रदर्शनी भयो । तामाङ समाज उत्तर अमेरिका र तामाङ समाज डालासको संयुक्त आयोजनामा उक्त चलचित्र प्रदर्शन गरिएको तामाङ समाज उत्तर अमेरिकाले जनाएको छ । डालास स्थित पशुपति फाउन्डेशनको हलमा प्रदर्शन गरिएको चलचित्र हेरेका दर्शकहरु मध्ये केहिले प्रतिक्रिया एवं सुझाव दिएका छन् । स्थानीय आयोजक संस्थाका अध्यक्ष छिरिङ लामाले चलचित्रमा बिषयवस्तुको उठान राम्रो गरेको बताए । चलचित्र निर्माताहरुले नयाँ नयाँ विषयवस्तुमा चलचित्र निर्माण गर्दा राम्रो हुने उनले सुझाएका छन् । पहिलो पटक तामाङ चलचित्र हेरेका महासचिव शंकर घिसिङले चलचित्र राम्रो लागेको बताउँदै अगामी दिनमा प्रविधिक त्रुटीहरुमा अझै सुधार हुने आशा ब्यक्त गरे । डालासमा तामाङ चलचित्र हेर्न पाउँदा खुशी लागेको बताउँदै कोषाध्यक्ष माया योन्जनले ताम्बा गीत निकै मन परेको खुलाईन् । नेपालमा हुँदा ‘मायुङ बुरीङ’ लगायतका थुप्रै तामाङ चलचित्रमा अभिनय गरेका कलाकार जेबी दोङले ‘बुम्बा’को साँस्कृतिक पक्षको चर्चा गर्दै अगामी दिनमा अझै परिस्कृत चलचित्रहरु बन्नु पर्दछ भन्ने विचार राखे । युवा सूर्य मोक्तानले चलचित्रले समाजलाई गतीशील बनाउँन सहयोग पुराउँने बताउँदै समसामायिक विषयवस्तु समेटेर चलचित्र बनाउँदा अझै राम्रो हुने बताए । त्यस्तै, युवा ईन्दु पाख्रिनले बुम्बामा गाउँघर र शहरलाई बुझ्न सक्ने गरी गरिएको प्रस्तुतीले मन छोएको बताउँदै चलचित्रले चेलीबेटी बेचबिखनको समस्या तामाङहरुमा मात्रै जोडिएको हो कि कौतुहल ब्यक्त गरिन् । अज्ञानता र गरिबीको कारणले तामाङ चेलीहरु बेचिन्छन् र यसको फाईदा अरुले नै उठाउँने यथार्थ चलचित्रले बोक्नु पर्दथ्यो भन्ने आशय उनको थियो । ‘बुम्बा’ युवापिढीका लागि ज्ञानबर्धक चलचित्र रहेको बिचार राजाराम लामाले राखे भने संग्राम तामाङले चलचित्र शिक्षामुखी पाएको बताए ।

गोपीलाल तामाङको लेखन र निर्देशन रहेको चलचित्र बुम्बामा नायिका शुष्मा थिङ तामाङ र नायक ऋतुराज पाख्रिन तामाङको प्रमुख भूमिका रहेका छन् । चलचित्रमा समावेश गीतहरुमा चन्द्र कुमार दोङ, ईन्दिरा गोले लगायत साथीहरुको स्वर रहेका छन् । चलचित्रमा तामाङको विवाह सँस्कारसँग जोडिएको सेलो गीतलाई दर्शकले निकै रुचाईएको छ ।

तामाङ भाषा, रीतिरिवाज, सँस्कार-संस्कृति तथा मूल्य मान्यतालाई संरक्षण र प्रवर्धन गर्ने गरी बनेका चलचित्रलाई हरेक बर्ष अमेरिकाका बिभिन्न शहरमा तामाङ समाज उत्तर अमेरिकाले आफ्ना च्याप्टरहरुको सहयोगमा प्रदर्शन गर्ने अध्यक्ष लक्यान लामाले जानकारी दिएका छन् । न्युयोर्कको ज्याक्सन हाईटमा यहि अप्रिल २१ तारिक शनिबार २ बजे प्रदर्शनीको लागि ब्यवस्था गरिएको अध्यक्ष लामाले बताए ।

सम्बन्धित समाचार