न्युयोर्कको त्यो कठिन कवि सम्मेलन

March 21, 2019

-व्याकुल पाठक

नेपाली साहित्यको विकास र विस्तारका खातिर स्वदेशमा होस् अथवा विदेशमा, राष्ट्रिय रूपको होस् अथवा अन्तर्राष्ट्रिय स्वरूपको विभिन्न संघसंस्थाको गठन भएका छन् । ती साहित्यिक संघसंस्थामध्ये कोही अनौपचारिक रूपमा क्रियाशील छन् भने कोही औपचारिक रूपमै सरकारीस्तरमा दर्ता भएरै सम्पूर्ण मान्य सिद्धान्त र नीति–नियम अन्तर्गत रही काम गरिरहेका छन् । नेपाली साहित्यको विकास र राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा विस्तारका लागि ती संस्थाले गर्दै आएका क्रियाकलाप अवश्य नै महत्वपूर्ण रहेका छन् । संस्थागत रूपमा यस्ता संस्थाले गरेका क्रियाकलाप इतिहासमा लिपिबद्ध हुन्छ र वर्तमान र भविष्यमा पनि यिनको काम जनसमक्ष आउँछ अनि साहित्यको इतिहासमा उनीहरूको योगदान अनुसार यथोचित सम्झना गरिन्छ । यो भइरहेको छ र भविष्यमा पनि भइरहनेछ भन्ने आशा गर्न सकिन्छ । तर कतिपय अवस्थामा व्यक्तिले पनि संस्थाले भन्दा बढी महत्वपूर्ण काम गरिरहेको हुँदो रहेछ साहित्यको विकास र विस्तारका लागि !

 

लेखक

केही यस्ता साहित्यसेवी छन्, जसले वर्षौंदेखि व्यक्तिगत तवरबाट साहित्यका लागि निरन्तर काम गरिरहेका छन् विना कुनै समूह अथवा संस्थामा आबद्ध भई । नेपालको साहित्य संगठकको नाम लिनु पर्दा युवाकवि मोतीराम भट्टसम्म पुग्न सकिन्छ र यसको निरन्तरता अघोषित रूपमा वर्तमान युगसम्म पनि कसै न कसैबाट भइरहेको छ । यसरी साहित्यमा व्यक्तिगत तवरबाट खटिरहने, साहित्यकारहरूलाई संगठित हुन, उनीहरूको प्रतिभा उजागर गर्न तन, मन र धनले लागिरहने कैयौं साहित्यसेवीहरूलाई म नजिकबाट चिन्दछु । तीमध्ये धेरैजसो आफै पनि साहित्यकार, संस्कृतिविद् छन् भने केही साहित्यानुरागी ।

मेरा दुई दशकदेखिका मित्र किशन सिंह धामी मैले चिनेका त्यस्तै केही साहित्यकारमा पर्दछन्, जो साहित्यविना बाँच्नै सक्दैनन् । माछा बरु पानीविना एकछिन् छटपट छटपट गर्दै भए पनि जीवित रहन सक्ला, किशन साहित्यबाट अलग हुनै सक्दैनन् । आफ्नो मौलिक लेखन त छँदै छ, नेपाली साहित्य, कला, संस्कृतिलाई विविध तवरले अगाडि बढाउने काममा उनी सधैं लागिरहेका छन् । समय परिस्थितिले संसारको जुनसुकै क्षेत्रमा पुगुन्, नेपाली साहित्यको सेवामा उनको लगनशीलता घट्दैन बरु बढ्दै गइरहेको अनुभव गरेको छु ।

मैले नेपाल रहँदा साहित्य, कला, संस्कृति क्षेत्रमा व्यक्तिगत तवरबाट किशनले पु¥याउँदै आएका योगदान नजिकबाट देखेको थिएँ । केही वर्षदेखि अमेरिकामा बसोवास गरिरहेका उनका कृतिबाट उनको साहित्य सक्रियताबारे थाहा पाए पनि साहित्यिक गतिविधिबारे भने अनभिज्ञ थिएँ । विगत डेढ वर्षदेखि म पनि अमेरिकामा रहेकोले उनीसँगको सामीप्यले फेरि निरन्तरता पाएको छ र उनको साहित्यिक लगनशीलताबारे पनि थाहा हुँदै गएको छ । पाँच वर्षको अमेरिका बसाइका क्रममा उनले दुई वटा गहकिला साहित्यिक कृति प्रकाशनमा ल्याइसकेका छन् भने कैयौं फुटकर रचना सिर्जना गरेर सञ्चार माध्यम मार्फत जनसमक्ष पु¥याएका छन् ।

यस बीचमा उनले साहित्यिक संगठकका रूपमा गरेको योगदान भौगोलिक दूरताका कारण र मिडिया मार्फत सार्वजनिक हुन कठिनाइ परेको कारण मैले थाहा पाउन सकेको थिइन । फेरि नामको लागि भन्दा स्वान्तः सुखाय अथवा स्वभावगत विशेषताबस उनी योगदान दिइरहने हुँदा नजिक नभई उनले पु¥याएको योगदान थाहा नहुने । यता आएपछि हाम्रो पुरानो निकट सम्बन्धले पुनः निरन्तरता पाएपछि उनको योगदान पनि नियाल्न पाइरहेको छु ।

कुनै साहित्यकार÷पत्रकार, अथवा भनौं समग्र अक्षरकर्मीलाई व्यक्तिगत रूपमा सहयोग गर्न उनी तत्पर भइहाल्छन् । त्यसका लागि आफ्ना तमाम काम छाड्न उनी किञ्चित हच्कदैनन् । न्युयोर्कजस्तो संसारकै महानगरमा एक घण्टा कामबाट अलग रहँदा हप्ताबारी बजेटमा ठूलो समस्या उत्पन्न हुन सक्छ । तर जब साहित्यसम्बन्धी काम कुरा आउँछ, उनी कुनै कुराको परवाह गर्दैनन् । सारा काम छाडेर उनी त्यता कुँदिहाल्छन् । न्युयोर्कमा मात्र हैन अन्य स्टेटमा हुने साहित्यिक कार्यक्रममा पनि उनी काम छाडेरै कुँदिहाल्ने गरेको कैयौं दृष्टान्त छन् ।
सोचेको थिएँ जटिल सामाजिक÷आर्थिक परिस्थिति रहेको अमेरिकामा नेपालमा जस्तो निस्फिक्री भएर साहित्यमा संलग्न हुन सकिंदैन । तर इच्छा भएपछि उपाय जताबाट पनि निस्किहाल्दो रहेछ । त्यसको जिउँदो जाग्दो उदाहरण पनि किशनलाई लिंदा उपयुक्त हुने रहेछ । यो डेढ वर्षको अवधिमा मैले उनले जस्तो सक्रियता लामो इतिहास बोकेका संघसंस्थाले पनि देखाउन सकेको पाइनँ । आखिर संस्था भन्नु पनि व्यक्तिहरूकै सामूहिक प्रयास नै हो । संस्थामा आबद्ध व्यक्तिहरूले समय र सक्रियता देखाउन नसकेसम्म निर्जीव संस्थाले कुनै काम गर्न सक्ने अवश्य होइन ।

किशनले नेपाल रहँदा गरेका साहित्य÷कला÷संस्कृति सम्बन्धी कार्यक्रममा सुदूर पश्चिम साहित्य कला सम्मेलन र विश्वका साहित्यकारका फोटो प्रदर्शनी विशेष उल्लेखनीय रहेका थिए । ती काम नेपाली साहित्यका क्षेत्रमा दीर्घकालीन महत्वका थिए र भविष्यसम्म सम्झनलायक पनि भएका थिए । त्यस किसिमका काम संभवतः पहिलो पटक भएकाले पनि ती विशेष उल्लेखनीय भएका हुन् । ठूला संस्थाले महिनौं तयारी र ठूलो लगानीपछि मात्र यस किसिमका कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न सकिन्छ तर उनले व्यक्तिगत रूपमै फत्ते गरेर देखाएका थिए । यसबाट काम गर्नका लागि संस्थाको ब्यानर अथवा ठूलो पद नै चाहिन्छ भन्ने मानसिकता गलत भएको पुष्टि उनले व्यवहारबाटै प्रमाणित गराइसकेका थिए ।

अमेरिकामा किशनले गरेका अनेक काममध्ये पछिसम्म सम्झना भइरहने एउटा कार्यक्रमको बारेमा म अहिले चर्चा गर्न गइरहेको छु । त्यो कार्यक्रम हो– फर्मल ड्रेसमा कविता वाचन ।

साहित्यको क्षेत्रमा केही नयाँ गरौं भनेर प्रत्येक भेटमा उनले मसँग सुझाव सल्लाह मागिरहन्थे । न्युयोर्कजस्तो व्यस्त र जटिलताले घेरिएको शहरमा बसेर के चाहिँ नयाँ गर्न सकिएला भनेर मैले कुनै रचनात्मक सल्लाह दिन सकिरहेको थिइन । मेरो दिमागमा नयाँ सोच नआएका होइन तर प्रवासी नेपाली साहित्यकारहरूको बाध्यता र व्यस्तता देखिसकेकोले कुनै विचार आए पनि त्यसको कार्यान्वयनमा जटिलता आउने भएकोले उनलाई सुझाउन सकिरहेको थिइन ।

एक दिनको चिया गफमा उनले एक्कासि सुनाए– न्युयोर्कमा रहेका नेपाली कविहरूलाई भेला पारेर फर्मल ड्रेसमा कविता वाचन कार्यक्रम राखे कसो होला ?

कार्यक्रमको सोच नराम्रो होइन तर पाँच दिन काममा दौडधूप अनि दुई दिन किनमेल, लौन्ड्री, हप्ता दिनभरिको थकाइ मार्नु पर्ने बाध्यता रहेका साहित्यकारहरूलाई कसरी भेला पार्न सकिएला भन्ने प्रश्न मेरो थियो । त्यसमा पनि उनको जटिल सर्त थियो । कवि मात्र हैन कविको जीवनसाथी पनि अनिवार्य रूपमा औपचारिक पोशाकमा उपस्थित हुनु पर्ने बाध्यात्मक व्यवस्था गर्ने प्रस्ताव गरेका थिए ।

पुगिसरी आएका साहित्यकारहरू, जो फुर्सदिला पनि छन्, त्यस परिवेशमा यस्तो कार्यक्रम गर्नु गाह्रो नहुँदो हो तर नेपाली समाज त्यसमा पनि परदेशको व्यस्ततामा गाह्रो हुने मेरो तर्क थियो । उनलाई धेरै गाह्रो नपारी कवि सम्मेलन सम्पन्न गर्न सघाउने दृष्टिले मैले संशोधन प्रस्ताव ल्याएर केही सरल गर्ने हो कि भनेको थिएँ । खासगरी पोशाकको मामिलामा अलि उदार हुन उनलाई सुझाएको थिएँ ।

आफूले गर्न खोजेको काममा कम्मर कसेर लाग्ने, रात दिन केही नभन्ने, समय, श्रम र धन पनि खर्च गर्न पछि नपर्ने उनको पुरानो प्रवृत्ति पृथ्वीको विपरीत ध्रुवमा आइपुग्दा पनि कायमै रहेछ । उनले पोशाकलाई महत्व दिएर गर्न लागेको कवि सम्मेलनको तयारीलाई अगाडि बढाइरहे ।

मैले सुझाव दिन छाडिन– कविहरू स्वभावैले उदात्त किसिमका हुन्छन् । उनीहरू पोशाकलाई महत्व नदिने खालका हुन्छन् । प्रायः अनौपचारिक पोशाकमा हिंड्न रुचाउँछन् । त्यसैले औपचारिक पोशाकको बन्धनबाट मुक्ति दिनोस् । त्यसो गर्नु भयो भने उनीहरू र आयोजक दुवैलाई सहज हुनेछ ।

उनको तर्क हुन्थ्यो– हो, कविहरूप्रति बनेको त्यस्तै विम्ब म हटाउन चाहन्छु । कवि हुँदैमा औपचारिक हुन नहुने भन्ने के छ ? कविहरू पनि सम्पन्न, सभ्य र औपचारिक हुन्छन् भन्ने सन्देश पनि हामीले दिनु पर्छ । त्यसैले यस किसिमका कार्यक्रम गर्नु पर्छ ।

करिब तीन महिनाको तयारीका क्रममा उनले विभिन्न कविबाट विभिन्न प्रतिक्रिया पाएछन् । खासगरी पोशाकका सन्दर्भमा जिज्ञासा, भ्रम र जटिलता उनले भोग्नु प¥यो । औपचारिक त औपचारिक नेपाली कि अमेरिकी भन्ने प्रश्न पनि उत्पन्न भएछ । अमेरिकी औपचारिक पोशाक पुरुषका लागि त सुटटाई भन्ने ज्ञात छ, महिलाका लागि के हुने ? यस्ता विविध प्रश्नहरू उत्पन्न भएपछि उनले निम्ता कार्डमै ड्रेस कोड उल्लेख गरेका थिए ।

अमेरिका आएपछि कल्पनाले पाइन्ट लगाउन थाले पनि स्कर्ट लगाउन धक मानिरहेकी थिइन् । उनले कोट पनि पहिलो पटक लगाउँदै थिइन् । उनका लागि ड्रेसको चाँजोपाँजो मिलाउनै हाम्रो दुई हप्ता बितेको थियो ।

पतिले कविता वाचन गर्ने कार्यक्रममा जान कल्पना उत्सुक देखिए पनि अमेरिकी औपचारिक पोशाकमा बाँधिन उनको मन मानिरहेको थिएन । कविका पति वा पत्नीको उपस्थिति औपचारिक पोशाकमै अनिवार्य भएकोले त्यसलाई पालना नगरी जानुको कुनै अर्थ हुने थिएन । उनलाई अमेरिकी औपचारिक पोशाक लगाउन मनाउन अनि ड्रेसको व्यवस्था गर्न मुश्किलै परेको थियो । कतै साइज नमिल्ने, कतै रंग नमिल्ने । नेपालमा जस्तो सुचीकारलाई नापेर सिलाउन दिउँ भने त्यो व्यवस्था यहाँ रहेनछ ।

कार्यक्रममा गएपछि थाहा भयो हामी दम्पतीले भोगेको समस्या सामूहिक रहेछ । औपचारिक कार्यक्रम शुरू हुनुअघि आगन्तुकहरू एक आपसमा ड्रेस व्यवस्था र छनौट गर्दाको सास्ती सुनाइरहेका थिए ।

सेप्टेम्बर १५, २०१८ को साँझ वास्तवमा ऐतिहासिक नै सिद्ध भयो । नेपाली डायस्पोरिक साहित्यमा त यो ऐतिहासिक हुँदै हो, समग्र नेपाली साहित्यकै इतिहासमा यो दिनको कवि सम्मेलनले महत्व राख्ने राख्ने छ ।

न्युयोर्कमा रहेका करिब तीन दर्जन कवि र उनीहरूको जीवनसाथीलाई अमेरिकी औपचारिक पोशाकमा उपस्थित गराएर पश्चिमी शैलीमा कविता वाचन गराउन किशन सफल भएरै छाडे । यस काममा उनलाई उनकी जीवनसंगिनी ताराले पूर्ण रूपमा सहयोग गरिरहेको मैले देखेको थिएँ । तारा भाउजूसँग मेरो चिनजान अमेरिकामै भएको हो र उनमा पनि साहित्यप्रतिको लगाव अनि साहित्यकारप्रतिको श्रद्धा पनि यहीं आएपछि थाहा पाएको थिएँ । वास्तवमा परिवारबाट यति सहयोग नमिलेको भए किशन यसरी निस्फिक्री भएर साहित्यसेवामा लाग्न सक्ने थिएनन् । सहज श्रीमती पाउनु साहित्यकारका लागि अहोभाग्य नै हो । यो भाग्य किशनले पाएका छन् ।

कवि सम्मेलन सम्पन्न भएपश्चात पनि किशनले थकाइ मारेनन् । त्यो ऐतिहासिक कवि सम्मेलनमा वाचित कविताहरूलाई पुस्तकाकार रूप दिन उनी भोलिपल्टबाटै जुटिहाले । हुन त उनले कविहरूलाई कविता हार्ड कपीमा ल्याउन र त्यसको प्रति बुझाउन पूर्वसूचना नै दिएका थिए तर सबैबाट त्यो सूचनाको पालना भएन । केही कविले डिजिटल साधनबाट कविता वाचन गरे भने केहीले खेस्रा रूपमा कविता वाचन गरे अनि केहीले आफ्ना पुराना संग्रहबाट सुनाए । त्यसो हुनाले ती कविताहरूलाई जुटाउन हम्मे पर्नु स्वाभाविक नै हो ।

जे होस् अमेरिकी औपचारिक पोशाकमा स्पाउस (पति वा पत्नी) सहित कविता वाचनको मूल कार्यक्रम विनाविघ्नबाधा सम्पन्न भएपछि संग्रह प्रकाशनको काम तुलनात्मक रूपमा त्यति जटिल थिएन । त्यसमा पनि उनी जुटिरहे ।

कविताहरू बटुलेर सम्पादन गर्ने अनि प्रकाशकलाई छाप्न दिने । बाहिरबाट हेर्दा पुस्तक निकाल्ने काम सजिलो छ । तर यसभित्र पनि अनेक जटिलता छन् । कविता जुटाउने र सम्पादन गर्ने काम सोचे जति सरल छैन र आर्थिक बजार नभएकोले कविताले प्रकाशक पाउन त्यत्तिकै गाह्रो छ । त्यसैले प्रकाशकलाई मनाउन अनि उसको मातहतबाट कविता किताब प्रकाशन गराउन अनेक प्रक्रिया र तरिका अपनाउनु पर्ने बाध्यता कवि, संयोजक तथा सम्पादकले बेहोर्नु परिरहेको छ । यो खुला रहस्य नेपाली साहित्यकारहरूमा जगजाहेर छ । अब त साहित्यभन्दा बाहिरका मानिसले पनि बुझिसकेका हुनु पर्छ ।

यतिका जटिलता चिर्दै प्रकाशित हुन लागेको ‘न्युयोर्कका नेपाली कवि र कविता’ पुस्तक अवश्य नेपाली साहित्य फाँटमा एउटा कोसेढुंगा सावित हुने विश्वास छ । हुन त देशबाहिरबाट भएको प्रयास हुनाले यसलाई ‘डायस्पोरिक साहित्य’ उप शीर्षक अन्तर्गत राखिन सक्छ तर म यसमा सहमत हुन सक्दिन । नेपाली साहित्यमा प्रचलनमा आएका ‘डायस्पोरा’ र ‘मोफसल’ शब्दप्रति नै मेरो वितृष्णा छ । साहित्यकार कुन ठाउँमा बसेर लेख्छ, त्यस आधारमा त्यसको गुणवत्ता र महत्व मापन गर्नु हुँदैन । नेपालको राजधानी काठमाडौंमा बसेर लेख्दा मूल प्रवाहको साहित्य हुने, जिल्लामा बसेर लेख्दा मोफसल र देशबाहिर बसेर लेख्दा डायस्पोरा ! यो परिभाषा गलत छ । साहित्यकार स्थान र समयभन्दा हमेसा माथि हुन्छ । कुन समयमा कुन स्थानमा बसेर लेख्यो भन्ने विषयले उसको लेखनमा प्रभाव पर्दैन । त्यसैले राजधानीमा बसेर लेख्दा मूल प्रवाह र अन्यत्र बसेर लेख्दा किनारामा राखिने चलन ठीक छैन ।

यही फर्मल ड्रेसमा कविता वाचन कार्यक्रमलाई नै लिउँ न । राजधानी काठमाडौंमा गरिएको भए मूल प्रवाहको हुने अनि न्युयोर्कमा गर्दा डायस्पोरा हुने हुँदैन । विश्वकै महानगरमा गरिएको यस कार्यक्रम र प्रकाशोन्मूख पुस्तकको महत्व काठमाडांैमा गरिएको भन्दा पनि बढी छ किनकि यसले नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण भएको छ । उक्त कार्यक्रममा वाचित कविता गुणवत्ताका दृष्टिले पनि उम्दा किसिमका छन् । केहीलाई छाडेर अधिकांश कवितालाई नेपाली साहित्यको मूल प्रवाहमा राखेर हेर्दा उच्चकोटिका छन् भन्दा भेदभाव गरेको मानिदैन । कविहरूका नामकै दृष्टिकोणले मूल्यांकन गर्दा पनि आधाभन्दा बढी कविहरू स्वनामधन्यको कोटिमा परिसकेका छन् ।

न्युयोर्कजस्तो व्यस्त महानगरमा समुद्रबाट अनमोल मोती खोजेर ल्याएजस्तै यतिका कविलाई जुटाएर औपचारिक पोशाकमा स्पाउसलाई साक्षी राखी कविता वाचन गराई संग्रह नै निकाल्न सक्षम हुनु किशनको साहित्यप्रतिको निःस्वार्थ पूर्ण लगावकै उपज हो ।

सम्बन्धित समाचार