क्यानडामा नेपाली आदिवासीले यसरी मनाए २५ औं आदिवासी दिवस(फोटोफिचर)

August 27, 2019

रामकाजी मोक्तान/टोरन्टो

२५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा क्यानडामा नेपालीज जनजाति एसोसिएसन अफ क्यानडाले मिसीसागा शहरको मेडोभेल कन्जरभेसन पार्कमा एक कार्यक्रम आयोजना ग¥यो । पहिलोपल्ट आयोजना गरिएको कार्यक्रममा ह्योल्मो समाज क्यानडा, क्यानेडियन नेवा गुठी, मगर संघ क्यानडा, शेर्पा किदुग क्यानडा, तामाङ सोसाइटी अफ क्यानडा, तमु धि क्यानडा र किरात कम्युनिटी क्यानडाको तर्फबाट विभिन्न झाँकीहरु, नाच र गीत परम्परागत भेषभुषामा प्रस्तुत गरिएको थियो ।

आदिवासी दिवसका संयोजक रश्मि थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन गोबा राई, गिरी बुढाथोकी र ऐश्वर्य राईले गरेका थिए । उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथिलाई एनजेएसीका सभापति विरकाजी गुरुङले स्वागत गरे । एनआएनए क्यानडाका सभापति चिरन्जीवी घिमिरेले कार्यक्रम सफलताको लागि कामना गर्दै भविष्यमा एनजेएसीलगायत क्यानडा भरका सम्पूर्ण संस्थाहरुसँग नेपालीको हितका लागि एनआरएनए कार्य गर्न तत्परता रहेका बताए । करिब चार सय जनाको उपस्थिति रहेको कार्यक्रममा जनक चेम्जोङ, सुरेन्द्र लावती, नवराज गुरुङ, चन्द्र राई, डा हरि गुरुङले आदिवासी जनजातिको विषयमा टिप्पणी गरे ।

कार्यक्रममा प्रमुख अतिथि फस्ट नेसन लिडर केथ म्याकक्रेडीले क्यानेडियन आदिवासी र नेपाली आदिवासीहरु भविष्यमा समान उद्देश्यका लागि सहकार्य गर्दै जाने बताए । एनजेएसीको निमण्त्रणालाई स्विकार गरेर अमेरिकाको मिचिगन युनिभर्सिटी, राजनीतिक विभागका प्रोफेसर डा महेन्द्र लावती विशेष अतिथिको रुपमा आइपुगेका थिए । उनले नेपालमा जनजाति आन्दोलन, आदिवासीहरुप्रति नेपाल सरकारले गर्दै आएको विभेद र अब नयाँ परिस्थितिमा जनजातिहरुले खेल्नुपर्ने भूमिकालगायत विषयमा प्रष्ट पारे ।

कार्यक्रमको दोस्रो चरणमा जनजाति आआफ्नो भेषभुषामा सजिएरसंस्कृति झल्किने सांस्कृतिक र्‍याली प्रदर्शन गरेका थिए । उनीहरुले आआफ्नो भाषामा गीत र नृत्य पनि प्रस्तुत गरे । कार्यक्रममा सबै समुदायले परम्परागत नेपाली खानासमेत पस्केका थिए ।

सम्बन्धित समाचार