छन्द हाम्रो संस्कृति हो, अर्गानिक सिर्जना हो-साहित्यकार सापकोटा

July 24, 2017

कवि एवं बाल साहित्यकार शान्ति सापकोटाले हालै छन्द कविताङ्ग्रह ‘सिसृक्षा’ सार्वजनिक गरेकी छन् । बालसाहित्यमा कलम चलाउँदै आएकी सापकोटाले हालै उक्त कृति सार्वजनिक गरेकी हुन् ।

६८ कविता रहेको किताब कोकगोष्ठी परिवारले प्रकाशन गरेको हो । स्वछन्द कविताले बजार लिइरहेको बेला छन्दबद्ध कविता ल्याएर प्रौढ साहित्यमा उदाएकी छन् । उनै सर्जक सापकोटासँग यही पुस्तकबारे गरिएको कुराकानीः

कवितासङ्ग्रह सिसृक्षाको बारेमा प्रस्ट पारिदिनुहोस न ।

यो छन्द कविता संग्रह हो । यसमा ६८ छन्दबद्ध कविता छन् । सिसृक्षा भनेको चाहि सिर्जना गर्ने इच्छा हो । सिर्जना गर्ने इच्छा मनमा आएपछि यी कविताहरुको सिर्जना भयो । छन्दका कविता लेख्ने सुर जाँगर चलेदेखि लेख्न सिक्ने क्रममा रचेका उत्कृष्ट कविताहरु संग्रहमा राखेकी छु ।

बजारमा स्वछन्द कविताहरु बिकिरहेकोबेला छन्दको कविता लेख्ने जाँगर कसरी आयो ?

हाम्रा आधुनिक आँशुकवि रमेश खकुरेल बा हुनुहुन्छ । उहाँको प्रेरणा पाएर नै मलाई छन्द कविता लेख्ने जाँगर आयो । पहिले स्वछन्द कविता लेख्थे । ती कविता छाप्नै नपाएर कता पुगे कता । अहिले बालसाहित्यमा लाग्दा लाग्दा लयात्मक र नियमबद्ध कविता लेख्ने मन लाग्यो । साहित्यिक गुरुहरुको संगतले गर्दा छन्दको कविता लेख्न सिके । लेख्दालेख्दै किताबको आकार लियो ।

अचेलका कविहरु छन्दमा कविता किन लेख्दैनन् जस्तो लाग्छ ?

छन्दमा सबै भावना अट्दैनन् । अटाउन साधनाको जरुरत पर्छ । अचेल धेरै सर्जकलाई साधना गर्ने समय छैन । त्यसैले पनि यसमा धेरैले रुचि देखाउँदैनन् । अर्को कुरा यो गाह्रो पनि छ । लघु र गुरुको ज्ञान हुनपर्छ । यी दुईमा ख्याल गरिएन भने मुश्किल पर्छ । नेपाली भाषामा दक्खल हुनुपर्ने अर्को कारण हो । र, यो पुरानो विधा पनि हो । धेरैले यो पुरानो विधा भएकाले किन कलम चलाएको भनेर मलाई नै प्रश्न सोध्न थालिसके ।

तर, छन्दमा पनि नियमपुराउन शब्दहरुमा आकार, उकारहरु हटाउने वा राख्ने छुट हुन्छ नि, यसले त सजिलै हुन्छ नि हैन ?

हिजो थियो, केही साथीहरुले यसलाई पनि मान्नुहुन्छ । तर, नेपाली भाषाको मानकलाई मान्ने हो भने यस्तो छुट दिनुहुदैन र लिनुहुदैन । रामायणमा लेख्यो भन्दैमा हामीले लेख्नुपर्छ भन्ने छैन । भाषालाई बलियो बनाउन यस्ता छुटले मद्दत गर्दैन ।

छन्द कविताले भाषालाई कसरी बलियो बनाउँछ ?
भाषालाई संरक्षण गर्ने हो भने कविताहरु छन्दमा लेखिनुपर्छ । पुरानो भनेर छन्दलाई वेवास्ता गरिनुहुदैन । मानिसहरु आफ्ना संस्कृतिको संरक्षणतिर लागेका छन् । छन्द पनि संस्कृति हो । अर्गानिक चिज हो । छन्द जान्न नेपाली भाषाका व्याकरण पूर्ण रुपमा आउनुपर्छ । केही स्कुलले अहिले छन्दको पढाई नै सुरु गरिसकेको छ । त्यसैले नेपाली भाषालाई बलियो बनाउन छन्दमा कविता आउनुपर्छ ।

तपाइँका अबका कविताहरु पनि छन्दमै ल्याउनुहुन्छ ?
अवश्य । छन्दका कविता सुनाउन पनि बेग्लै मजा आउँछ । यसको लय पनि बेग्लाबेग्लै हुन्छन् । हरेक कविताका लय फरक हुन्छन् । त्यसैले यसको स्वाद पनि फरक हुन्छ । सम्झिरहेन खालको हुन्छ । यसैले अबका दिनमा छन्द कविता लेख्ने मात्र होइन सुनाउने काममा पनि लाग्नेछु ।

 

सम्बन्धित समाचार