गुमनाम मुर्तिकार 

August 19, 2018

‍- ङिमा पाख्रिन / न्युयोर्क
 

कुनै पनि चित्ताकर्षक ठाउँमा या वस्तुसँग बसेर तस्बीर खिचाउँन नचाहने मानिस कमै हुन्छन होला ! अझ त्यो वस्तु मानव निर्मित भयो भने त झनै धेरैको ध्यान र मन त्यतै खिचिन्छन् । नेपालको प्रदेश नम्बर १ स्थित केही जिल्लाहरुमा पाईने मुर्ति र स्तम्भहरुले त्यहाँ पुग्ने प्राय सबैको ध्यान तान्ने गर्दछन् । यस्ता केहि प्रख्यात स्तम्भ तथा मुर्तिहरुको नाम लिनु पर्दा संखुवासभा जिल्लाको तामाफोकमा रहेको १४ फिट उचाईको यलम्बरको पुर्ण कदको मुर्ति, तेह्रथुम जिल्लाको वसन्तपुरमा लालीगुराँसको स्तम्भ र लसुनेमा लसुन स्तम्भ, म्याङलुङमा बिरालोको शालिक आदि पर्दछन् । तर यी प्रख्यात वास्तुकलाका सिर्जनाकारलाई कतिले चिन्दछन् त ? उहाँलाई ब्यक्तिगत रुपमा सायदै चिन्छन् होला !

ब्यक्तिगत रुपमा खासै चर्चा नपाईएका उनै प्रतिभाशाली सिर्जनाकार हुनुहुन्छ चन्द्रमान लिंखा । जसको सिर्जनाहरुले धेरैको मन तानेर प्रशंसा बटुल्न सफल भएका छन् । लगभग पाँच दशक अघि संखुवासभाको माम्लिङमा बुबा डम्बरसिंह लिंखा र अामा पृथ्वीमाया लिंखाका कान्छो सन्तान भएर जन्मनु भएका चन्द्रमान लिंखा बसाई सराईसँगै मोरङको मधुमल्लमा स्थायी बसोबास गर्न पुग्नु भयो । वहाँ आजकाल घरमा कमै मात्र बस्न समय पाउँनु हुन्छ । आफ्नो सिर्जनालाई ठाउँ ठाउँमा उतार्न वहाँ निकै ब्यस्त रहनु हुन्छ र कहिले कहाँ त कहिले कहाँ पुगी रहनु हुन्छ । यसरी नै घुम्ने क्रममा वहाँ अहिले केहि दिनका लागि न्युयोर्क आई पुग्नु भएको छ ।

पढाईमा निकै तेज रहेका लिंखाले औपचारिक शिक्षालाई चाँही धेरै अगाडि बढाउँन अवसर पाउँनु भएन । कारण थियो पारिवारिक ब्यवधान ! सानैमा बाबा गुमाउँनु परेकोले एक्ली आमाको सहयोगीको जिम्मा वहाँकै काँधमा पर्न गयो । औपचारिक अध्ययनलाई त्याग्नु परे पनि वास्तुकला तथा चित्रकारिताको आफ्नो रुचीलाई उहाँले त्याग्न सक्नु भएन । समय मिलाएर आफूभित्र रहेको प्रतिभालाई निरन्तर प्रस्फुरण गर्दै लैजानु भयो । घर वरपर भेटिएका र खेर फालिएका सामग्रीहरु जस्तै ढुंगा, बाँस, टिन, पराल ईत्यादीलाई उपयोग गरेर उहाँभित्र रहेको कलाकारितालाई बाहिर ल्याउँन थाल्नु भयो । आफूलाई रहर लागेेेको वस्तुहरु बनाएर अरुलाई देखाउँन पाउँदा उहाँलाई निकै सन्तुष्टी मिल्दथ्यो । त्यसैले उहाँ झनै दत्तचित्त दिएर कलाकारितामा तल्लिन रहन थाल्नु भयो । तर उहाँको जीवनमा फेरि अर्को बज्रपात आई लाग्यो !

मुर्तिकार चन्द्रमान लिंखा निर्मित मोरङ जिल्लाको ‘गंगाधर शिवालय’ मन्दिरमा रहेको गाईको मुर्ति । तस्बिर मुर्तिकारकै फेसबुक पेजबाट साभार गरिएको हो ।

आफूलाई माया गर्ने र आफ्नो भावना बुझ्नु हुने आमालाई गुमाउँनु परेपछि वहाँलाई नितान्तै एक्लो लाग्दै गयो । घर धान्नलाई पनि वहाँले बिवाह नगरी भएन । बालबच्चा भयो । बालबच्चा हुर्काउँन र उनीहरुको शिक्षाको लागि एउटा पिताको कर्तब्यपालन नगरी भएन । वरपर गाउँका अरु धेरै जना बैदेशिक रोजगारीमा गएको देखेर वहाँ पनि त्यही बाटो हिड्न पुग्नुभयो । केहि बर्ष विदेशमा काम गर्दा वहाँलाई भित्रभित्रै निकै उकुशमुकुश हुन थाल्यो । छोराछोरीहरु बुझ्ने उमेरका हुनसाथ वहाँ स्वदेश फर्कनुभयो र बिस्तारै फेरि कलाकरितामा लाग्न थाल्नुभयो । वहाँलाई परिवारको पनि राम्रो सहयोग मिल्दै गयो । यसले वहाँलाई झन उर्जा थपी दियो । वहाँ पेशागत रुपमै कलाकारितामा पुर्णकालिन समय बिताउँन थाल्नुभयो ।

शोखलाई पेशामा बदल्न पाउँदा वहाँ खुशी हुनुहुन्छ । अनि सन्तुष्टी पनि उत्तिकै । कमाउँनको लागि भन्द पनि आफूलाई चित्त बुझ्ने गरी वहाँ काम गर्नुहुन्छ । यसैबाट बढी सन्तुष्टी मिल्ने वहाँको अनुभव छ । सार्वजनिक महत्वका पार्क, वगैचा, चिहान, मठ-मन्दिरहरुमा वहाँले माग अनुसारका धेरै मुर्तिहरु, शालिकहरु बनाउँनु भएको छ । वहाँ यसलाई सामाजिक दायित्व वहन गरेको ठान्नु हुन्छ । कति वटा मुर्तिहरु बनाईयो भनेर वहाँले गन्ति राख्नु भएको छैन । लगभग तीन सय नाघे होलान् भन्ने वहाँको अनुमान छ । थुप्रै मुर्तिहरु अझै निर्माधीन अवस्थामै पनि छन् । आफ्नो जन्मस्थान माम्लिङमा बन्दै गरेको डोकेनी स्तम्भ र सिंधुवाको फुलकोपी स्तम्भ हाल वहाँको ठूला आयोजनाहरु मध्येका हुन् ।

मुर्तिकार चन्द्रमान लिंखाले निर्माण गर्नु भएको खुवासभाको मुढे शनिश्चरेमा अवस्थित किराँतकालका प्रथम राजा यलम्बर हाङको पुर्ण कदको शालिक । तस्बिर मुर्तिकारकै फेसबुक पेजबाट साभार गरिएको हो ।

सधै आफ्नो काममा ब्यस्त रहनु र कामबाट सन्तुष्टी बाहेक अरु खासै अपेक्षा नराख्नु मुर्तिकार लिंखाको बानी छ । वहाँलाई आफ्नो कामको प्रचार प्रसारको लोभ पनि छैन, न त चर्चाको नै । आफूसँग भएको सीप र कलालाई उपयोग गर्दा वहाँलाई आत्मसन्तुष्टी मिल्दछ । तथापी वहाँ थुप्रै पटक पुरस्कृत र सम्मानित भैसक्नु भएको छ  । थुप्रै कदरपत्रहरु वहाँको घरको भित्तामा सजिन पुगेका छन् । यसले चाँही वहाँलाई थप हौसला दिएको महसुस हुन्छ ।

चन्द्रमान लिंखा जस्तो बहुप्रतिभाशाली मुर्तिकारको सीपबाट जुनसुकै समुदाय र देशले राम्रो फाईदा लिन सकिन्छ । तर उचित सम्मान र सदुपयोग भने गर्न सक्नु पर्दछ ।

(पद्मा लिंखा मगरको सहयोगमा भएको कुराकानीमा अाधारित )

सम्बन्धित समाचार