छायाँसँग टाढा हुँदा

May 18, 2017

घरमुनि सुस्तरी बगेको मांगमाया खोलाको आवाज अनि बल्कनीमा बास बसेको गौथलीको चिउचिउ आवाज । समय यही थियो मौसम पनि यस्तै थियो जब उनी अर्थात् ‘सनम’ मेरो गाउँमा प्रथम पटक प्रवेश गरेकी थिइन् । दिनभरको झरीले दिएको तनाबलाइ पर सार्दै सहरसम्म छाताको भरमा घुमेका थियौ । बाँकी थुप्रै थुप्रै ठाउँहरु घुम्ने हाम्रो योजनाहरु असफल नै थियो किनकी उनको छोटो समयको यात्रा अनि खराब मौसम । पारी पट्टिको काइला दमाई टुप्लुक्कै हाम्रो घरमा आइपुगेछ जाड खानको लागि । उनि खटियामा बसेर पारी वनको जंगल र डाँडाको अवलोकन गर्दै थिइन् । त्यो यात्रा उनको पहिलो थियो जहाँ उनले पहिलेपटक पाइला राखेकी थिइन् । त्यही समयमा साइला दमाई प्याकका बोल्छ, ‘ल बधाई छ है भाईलाई मैले त थाहा नै नपाएको हजुरको शुभकार्यको ।’ त्यो कुरो सुने पछि उनी रातोपिरो हुँदै मलाई पुलुक्कै हेरिन् । म पनि क भन्ने भन्ने द्विविधामा वाक्क परेर बसे ।

सायद मैले नै जवाफ देला भन्ने सबैको आसय थियो । सबै जना चुप भए तर म अकमक भएको देखेर मेरो आमा हतारमा बोल्नु भो, ‘ए साइला मुख सम्हालेर बोल त, उनी कहाँ मेरी बुहारी भएर आकी हुन् त, यी नानी र मेरो छोरा सहरमा संगै पढ्छन, काम विशेषसले गाउँ आउदा यहाँ निस्केकी हुन् ।’ आमाको जवाफ सुनेपछि साइला दमाइ माफी माग्छ । उनी पनि अलि सहज महसुस गर्छिन अनि फेरी पारीपट्टी नियालेर बसिन् । त्यो दिन उनी मेरो घरमा आएकै दिन थियो । छोटो समयको अवधिमा पनि केहि आफन्त, अनि हामीले खाने पानीको धारा, लेकबेसी गर्ने ठाउँ टाढैबाट देखाई दिए । दिनभरिको दर्के झरी अनि आकाशमा फैलिएको बादलको कारण टाढाको दृश्य पनि मुस्किल थियो त्यो दिन । समयले धोका दिएको उनको गुनासो थियो मैले फेरि पनि आउन अनुरोध गरेर उनलाई बिदाइ गरेको थिए ।
‘एक्सकिउच मि, म यो सिटमा बस्न सक्छु ?’ काठमाडौं एभरेस्ट कलेजको पहिलो दिन एक महिला मेरो नजिकको खाली सिट देखाउदै मलाई अनुरोध गर्दै थिइन् ।’ एस सियोर’ भन्दै उनको लागि खाली ठाउँ बनाएर अलि पर सरेको थिए । कलेजको पहिलो दिन । हेर्दा सहरिया जस्तै देखिन्थे उनी । लामो कपाल, लाम्चो आकारको अनुहार, जिन्स पाइन्टमा सेतो सट अनि गुलाबी रंगको औटर वेअरले उनको रुप झर्लाक्कै बलेको थियो । पहिलो दिन भएकोले समयमा प्रोफेसर आएनन् । परिचयको लागि मैले नै हात बढाएँ, ‘म सबिन’ हात दिंदै भने उनी पनि हात बढाएर भनिन् ‘म सनम धरानबाट, अनि तिमी ?’ । मैले भन्नै बिर्सेछु, ‘म ताप्लेजुङबाट ।’
प्रोफेसरको प्रवेशले थप कुरा हुन पाएन । हाम्रो त्यो दिन सम्पूर्ण साथीसँग परिचय भयो । आगामी दिनको पढाइको योजना र कलेजको नियमसम्बन्धी छलफलमै दिन सकियो । त्यस पछिका दिनमा पनि सनम र मेरो बसाई प्रायजस्तो एउटै बेन्चमा हुन्थ्यो । किनकी उनी पनि काठमाडौं पहिलेपल्ट आएकी रहिछिन । म पनि गाउँबाट पहिलोपटक काठमाडौं छिरेको । त्यसो त हामी दुवै जनाको अन्य साथीसँग पनि चिनजान भयो । यद्यपि मेरो घर जाने बाटो र सनमको डेरा जाने बाटो एउटै भएकोले क्लास सकेपछि पनि हामी संगै निस्कने गथ्र्यौ । समय चलिरह्यो हरेक गृहकार्य र प्रोजेक्ट गर्दा एक अर्कालाई सहयोग गर्ने आदत नै बसेको थियो । त्यसैले हामी नजिकको साथि बनेछौ । हाम्रो ग्रुपमा अन्य साथीहरु पनि थपिएपछि भने हाम्रो नौ जनाको एउटा टोली नै बन्यो । कहिले काही छुट्टीको समयमा एक अर्काकोमा गएर सँगै खाने, कहिले सँगै मुभी हेर्न जाने त कहिले भ्यालीबाहिर घुम्न जान्थ्यौ ।
साथीहरु विभिन्न परिवेशका थिए, यद्यपि हाम्रो सहयात्रा एकदमै रमाइलो । कहिलेकाही साथीहरु एकअर्काको नाम जोडेर जिस्कने गर्थे । एक दिन हामी धुलिखेलमा थियौ, सनमलाइ मेरो नामसँग जोडेर साथीहरु जिस्काउदै थिए । प्रविनाले सनमलै भन्यो, ‘तलाई त ढुक्कै छ हगि, साथी भने पनि बोयफ्रेन्ड भने पनि सबिन छदै छ ।’ रिसाएर रातोपिरो हुँदै उनको जवाफ थियो, ‘मुख सम्हालेर बोल है उ मेरो साथी मात्र हो, जीवनमा कुनै केटा पाएन भने लास्ट अप्सन हुन् सक्छ । तर अहिले नै सबिन मेरो बोयफ्रेन्ड हुन् सक्दैन बुझिस ।’ उनको कुरोले मुटु कटक्क दुख्यो । यद्यपि हाँसो बाहिर निकाले । म हासेको देखेर अन्य साथीहरु पनि हाँसे । उनको बोली चाली, रुप देखेर म प्रभावित भएको थिएँ । तर मैले उनलाई कहिले भन्न सकिनँ । एक त आफु गाउँको थिएँ, उनी सहरिया । गाउँ लागे पनि गाउँमा बस्न सक्छिन जस्तो लागेन । यद्यपि उनको बोलाई अनि व्यबहारबाट मलाई पनि आभास थियो उनको मनमा म प्रति सकरात्मक सोचाई थियो । घरिघरि तिमी कति मेहनत गर्छौ हगि भन्ने बोलीले मा घायल हुन्थें । तर त्यो मेरो घायलपन मनभित्रै सीमित थियो । एकदिन क्लासमै सनमले भनी, ‘तिम्रो गाउँ जान मन लागेको छ, कहिले बोलाउने ।’
‘हो र आउ म गाउँमा भएको समयमा जहिले पनि । ’
‘कहिले हुन्छौ त गाउँमा ?’
‘म खबर गरुँला ।’ यस्तै सम्झौता भएको थियो ।

उनीबाट जति नै प्रभावित भए पनि मैले उनलाई केही भन्न सकिनँ । तर एउटा अठोट थियो एकदिन जब राम्रो जागिर मिल्छ त्यो दिन मेरो लागि जीवनमा खुसीको दिन हुनेछ । किन कि त्यही दिन म मेरो भावना सनमलाई भन्न सक्नेछु अनि उनलाई संधैको लागि आफ्नो बनाउने छु । यहि इरादामा हरेक प्रहर बितिरहेको थियो । समय बितेको पत्तै भएन । हाम्रो कलेज जीवनको अन्तिम दिन पनि आइपुगेछ । मलाई गाउँ जानु मन थिएन किनकी काठमाडौंमै जागिर खोज्नु थियो । उनि अन्तिम दिनमा निक्कै खुसी तर मलिन अनुहारको साथमा देखा परेकी थिइन् । उनि खुसी हुनुको रहस्य लाग्थ्यो घर परिवारसंगको भेट, मलिन थिइन् किनकी साथीहरुँसगको अन्तिम दिन । फेरि त्यसरी जम्काभेट जीवनमा कहिले हुने हो कुनै निश्चित थिएन । बिदाइको अन्तिम हात हल्लाउँदा उनि भन्दै थिइन्, ‘सबिन तिमीलाई कल गर्छु नि म, तिमीसँग मेरो घरको नम्बर छ होइन ?’ ‘छ, म नि गर्छु,’ मेरो पनि जवाफ थियो ।
यति भने पछि उनि टेम्पो चढिन् । ‘तिमि घर कहिले जादैछौ म भेट्न आउछु,’ भन्न लागेको मेरो मुखबीच बाटोमै अड्कियो, म अलमलमा परे । यतिकैमा उनी ओझेल परिन् । मेरो सपना थियो, एउटा यक्ष प्रश्न जीवनको त्यसैमा लागिरहे निरन्तर । सपना थियो उनलाई फोन गर्ने जब एउटा राम्रो जागिर हात परोस । यहि प्रतिक्षमा आहोरात्र खटीराखेकै थिएँ । तर, त्यो समय जहिले पनि म बाट टाढाटाढा भागिरहेको थियो । अन्तिम बर्खे बिदामा उनी मेरो गाउँ संजोगले आइन् । सनम धरानमा रहेर स्थानीय पत्रिका, रेडियो तथा विकास परियोजनामा थोरै समयको लागि काम गर्न थालिछिन् । म भने अझ बेरोजगार नै थिए । यद्यपि उनलाई मेरो गाउँमा स्वागत गर्न पाउनु मेरो लागि अहोभाग्य थियो । म गर्मी बिदापछि फेरी काठमाडौँ फर्किए । अनि कम्प्युटर क्लास गर्दै जागिरको खोजीमा भौतारिदैं थिए ।

एकाबिहानै सनमको फोन आयो, ‘हेल्लो के छ तिम्रो खबर ? ठिकै छौ ?’
‘हेल्लो सनम, ठिकै छु ।’
‘एउटा खबर सुनाउन फोन गरेको’
‘भन न के छ तिम्रो नयाँ खबर ?’
‘त्यहि सुनौ भनेर त फोन गरेको नि ? मेरो बाबा आमाले मेरो बिहे एकजना ब्रिटिस आर्मीसँग गर्ने तयारी गर्दै हुनुहुन्छ, तिमी पनि आउ है ?’
‘ओहो यो त राम्रो कुरो हो, बधाई छ तिमीलाई ।’
‘तर म त्यसपछि त युके जाँदैछु नि सायद त्यसपछि हाम्रो भेट नि हुन्न होला, खुसी छौ त्यसमा पनि ?’
म द्विविधामा पर्दै थिए, मेरो मुटु जोड जोडले चल्दै थियो । आफ्नो खुसी अरुको भएको आफ्नो आँखा अघि स्विकार्नु पर्ने मेरो बाध्यताले मलाई पिरोली रहेको थियो । तैपनि मैले उनको सामु नक्कली हाँसो दिन बाहेक कुनै उपाय नै थिएन । आफुलाई जोडले सम्हाल्दै भने, ‘तिम्रो खुसीको लागि, तिम्रो भविष्यको लागि जे राम्रो हुन्छ म त कामना गर्छु , एउटा असल साथीको नाताले, भेट त सायद जुरेको रहेछ भने कुनै दिन होला ।’
‘ल त ल त्यसो भए नोभेम्बर ११ तारिख भेटुम,’ यति भनेर फोन राखिन् ।
भूकम्प आए झैँ कम्पन भयो, चिट्चिट् पसिनाले टाउको भिजायो । सपना या बिपना छुट्टाउनु मुश्किल भयो । उनी मेरो मनको छाया थिइन्, कल्पना अनि बढ्दै गरेको पाइलाको सपना । बास्तबमा मैले कसैलाई पनि भनिन, उनलाई माया गर्छु, मन पराउछु अनि एकदिन आफ्नो बनाउन चाहन्छु भनेर । त्यो मलाई मात्र थाहा थियो । सन्जोगले त्यही दिन एकजना साथीको दिदीको बिहेको पार्टी परेको थियो । पहिले रमाइलो गर्ने निहुँमा त, पछि सनमको यादमा डुबुल्की मार्दै पिउन थालेछु । अन्त्यमा थाहा भयो म त बेहोसीमा आफ्नो भाग्यलाई पुकार्दै गरेको अवस्थामा साथीहरुले ट्याक्सीमा मेरो घरसम्म ल्याएर छाडेछन् । भोलि पल्ट बिहानै रबि मेरो रूममा टुप्लुक्क देखा प¥यो । ‘अरे यार यो कुरो तैले पहिले भनेको भए केही त हुन्थ्यो होला नि किन लुकाइस ?’ म अनभिज्ञ थिए अनि सोधेस ‘के कुरा के भयो र ?’ ‘धेरै नलुका सबिन सनम तेरो छाया थिएछ, तेरो माया रहेछ, हिजै तैले ओकलिस, छायासँग छुटिदाँको पीडा , अबो जे भयो भैसक्यो आफुलाई समाल यार ।’ मलाइ लाज र हिनताबोधले सताई रहेको थियो । तर अर्को अर्थमा मेरो मनमा सजाएको आफ्नो आत्मा मेरो छाया बनेर भागिरहेको मेरो मनको कुरो सही थियो जो मैले नशाको भरमा ओकलेछु । ‘सरी यार तेस्तै भो, जीवन हो भोग्नु पर्दो रहेछ ’, मैले भने ।
सनमको पार्टीमा एउटा साथीको नाताले आफ्नो औपचारिकता पु¥याउनै पथ्र्यो । त्यसैले आफ्नो मुटुमाथि डुंगा राखेर आफुलाई सम्हालेर उपस्थित भएँ । बिहेको केही महिनापछि सनम लन्डन गईन । मेरो भाग्यमा लेखेको रहेन रहेछ उनी त्यसैले मैले उनलाई माया गर्छु भन्ने सम्म हिम्मत गरिन । कसैलाई माया गर्नु मेरो पाप थिएन होला तर मैले बिना अर्थ सजाय भोग्नु प¥यो । नियतिको खेल सम्झेर आफ्नो पढाईलाई अघि बढाए अनि जागिर खोज्ने कार्य पनि अघि नै बढी रह्यो । स्ट्यान्टर्ड चार्टर बैंकबाट कल आयो । अघिल्लो दिनमात्र दिएको अन्तर्वार्तामा म छानिएछु । तर यो खुसीले मलाई खास कुनै प्रभाब पारेन । किनकी मेरो खुसी भागिसकेको थियो । तैपनि एकप्रकारले खुसी भएँ सँधै अर्काको भरमा बाच्नुपर्ने मेरो दिन हटेकोमा । जागिर सुरु गरेको लगभग दुई वर्षपछि मेरो भेट भयो मेरै जात मिल्ने सहयात्री मिमिसासँग भयो । लगभग एक वर्षको चिनजानपछि हाम्रो प्रेम बस्यो । त्यहि भएर बिहेको लागि अस्तिको दिन मात्र हामी दुवै गाउँमा आएका छौ र आज मेरो विहेको दिन ।

अस्तिको दिन गाउँ आउने बेला अचानकसनमको फोन आयो । एक मनमा उत्साह त अर्को मनमा हार थियो यद्यपि जे भएको थियो त्यो भईसकेको थियो । उनि केही समयको लागि बिदामा नेपाल आउदै रहिछिन । मैले पनि आफ्नो बिबाह हुन लागेको कुरो सुनाए, बधाई दिईन् । जीवनको यो रमाइलो मोडमा आइपुगेको छु । यद्यपि मलाई मेरो हिजोले सताएको छ । जीवनमा कसैलाई प्रथमपटक मनमा राखे, सपनामा अनि कल्पनामा सजाए तर यथार्थबाट टाढा भाग्यो । मेरो भोगाई र सोचाइले मलाई आफै छायाबाट टाढा बनाइदियो । मेरो विवशतामाथि खिल्ली उडायो तर सबै सहनुबाहेक मेरो कुनै विकल्प थिएन । हाम्रो सुहागरातको समय थियो आज तर म भने अतितमा डुबेर पो बसेछु । मुटु चसक्क दुखेको छ, मन भारी भएको छ । धत् बितेको कुरो त टाढा भैसक्यो ‘मिमिसा’ मेरो प्रतिक्षामा बसिरहेकी होलिन् । यति सोचेर म झट्ट उठ्छु, उनी बसेको ढोका खोल्छु । उनी लजाउदै थिइन्, त्यो सुहागराताको ओछ्यानमा ।

सम्बन्धित समाचार