न्युयोर्कमा ठुक्पाक्षेसी छ्योटुल धुछेन (धर्म चक्र) दिवस

July 18, 2018

न्युयोर्क । बौद्धधर्मावलम्बीले परापूर्वकालदेखि नै मनाउँदै आएको बुद्ध जयन्तीपछिको ठुलो धार्मिक कार्यक्रम ठुक्पाक्षेसी छ्योटुल धुछेन (धर्म चक्र ) दिवस न्युयोर्कमा विशेष कार्यक्रम भव्यताकासाथ मनाइएको छ । शेर्पा किदुगको ठुक्पाक्षेसी आयोजक समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम किदुगको गुम्बामा बिहानी पूजासँगै गुम्बा सामुन्नेमा ध्वजा टाँगेर विश्व शान्तिको कामना गर्दै शुरु भएको थियो । कार्यक्रममा किदुगको धर्म गुरु अवतारी लामा टुल्कु, खेन्पो ङवाङ साँगेलगायत लामा गुरुहरुको उपस्थिति रहेको थियो । बिहानी पूजापछि खेन्पो वागीन्द्र शीलाले उपस्थित भक्तजनहरुलाई धर्म चक्र दिवसको महत्वको बारेमा प्रवचन दिएका थिए । ‘हामी सबै मनुष्यका लागि बुद्ध भगवानले पहिलो पटक चार आर्य सत्यको ज्ञान दिनु भएको महत्वपूर्ण दिन ठुक्पा क्षेसी धर्म चक्र दिन हो,’ खेन्पो वागीन्द्र शीलाले प्रवचनको क्रममा भने, ‘बुद्ध जयन्ती बुद्धको लागि हो भने ठुक्पाक्षेसी हामी मानवका लागि भएकोले यो दिनमा राम्रो जे काम गरेपनि निकै पुण्य हुनेछ ।’


कसैले पनि पछि भनेर नहुने उल्लेख गर्दै खेन्पोले बुद्ध र धर्मको बारेमा जतिसक्यो छिटो अध्ययन सके जीवन सार्थक हुने भएकोले सबैले अध्ययन गर्नुपर्ने सुझाव दिए । प्रवचनको क्रममा खेन्पो वागीन्द्रले बुद्धको जीवनसँग सम्बन्धित तथ्यहरु र मानवको जीवनको बारेमा पनि ज्ञान दिएका थिए । ठुक्पा क्षेसीको नामले प्रचलित छ्योटुल धुछेन् (धर्मचक्र दिवस) को उपलक्ष्यमा उपस्थित धर्म गुरुहरुले पूजापाठ गरेका थिए ।

पूजा र प्रवचनलगत्तै लामा गुरुहरुले मणिमन्त्र पाठसँगै सहाभागीहरु ढोग्दै नाचेका थिए । नाच शुरु हुन अगावै अवतरी लामा टुल्कुले मणि छयोकुरको र नाचबारे व्याख्या गरेका थिए । बीचमा अवलोकेश्वरको मूर्ति राखेर गोलोकारमा ओम माने पदमेको भाकामा सबै जना नाचेर सबै खुसी भएका थिए । कार्यक्रममा उपस्थित सहााभागीबाट अर्को वर्षको आयोजक समितिको नाम पनि छनौट गरिएको छ ।

सम्बन्धित समाचार