Everest Times

तैरिने स्कुल, डुंगामै पढाई

विद्यालय अध्ययन गर्ने बालबालिकाहरुको पढाई विभिन्न कारण अवरुद्ध हुने गर्दछ । विशेषगरी विकासोन्मुख मुलुकमा हड्ताल, आन्दोलन, बाढी, पहिरो, वर्षा र हिमपातजस्ता प्राकृतिक एवं मानव सिर्जित घटनाले पढाई अवरुद्ध हुन्छ । प्राकृतिक प्रकोपका कारण कैयान्ले विस्थापित जीवन गुजारा गर्नुपर्ने हुन्छ । यसले पनि बालबालिकाको पढाई अवरुद्ध हुन्छ । जसले गर्दा कतिपय पढाई छाड्न बाध्य हुन्छन् ।
यस्तै घटना बंगलादेशमा पनि भइरहन्छ । बंगलादेशको मुख्य समस्या भनेको अविरल बर्षाबाट हुने बाढी हो । यहाँ बाढीकै कारण वर्षेनी १० प्रतिशत बालबालिकाहरु प्राथमिक तहमै स्कुल छाड्न बाध्य हुन्छन् ।
तर बाढीका कारण स्कुल छाड्न बाध्य बालबालिकाका लागि नयाँ विकल्प पनि तयार भइसकेको छ, तैरिने स्कुल । पानी माथि नै तैरिने खालका डुंगा स्कुलको सुरुवात आर्किटेक्ट मोहम्मद रिजवानले गरेका हुन् । उनले बाढी प्रभावित विद्यार्थीहरुका लागि तैरिने स्कुल सुरु गरेका छन् । डुंगामा रहने त्यस्ता स्कुलहरुमा बालबालिकाहरुलाई पर्यावरण, जलप्रदुषण तथ जैविक विविधता संरक्षण जस्ता विविध विषयमा विशेष रुपमा पढाउने गरिन्छ ।

boat-school2
बाढीका कारण आफुले पनि राम्रोसँग पढाइ पूरा गर्न नपाएको पीडा भोगेका रिजवानले सन् २००२ मै बंगलादेशमा पहिलो तैरने स्कुलको निर्माण गरेका थिए । आफुलाई छात्रवृत्तिबाट प्राप्त भएको ५ सय डलर तथा आफुसँग भएको केही रकम थप गरी उनले तैरने स्कुलको सुरुवात गरेका थिए । नदी किनाराको एक ठाउँमा डुंगा राखेर त्यसको आसपासका विद्यार्थीहरुलाई जम्मा गरेर बाह्रै महिना पढाइन्छ ।

1671401-slide-dsc0213
अहिलेसम्म बंगलादेशमा २२ वटा तैरने डुंगा स्कुल संचालनमा आइसकेका छन् । यसका लागि ४८ डुंगा चालक रहेको र ६१ जना शिक्षक रहेको बताइएको छ । जहाँ २ हजार भन्दा बढी बालबालिकाहरुले प्राथमिक शिक्षा पढ्दछन् । यी तैरिने स्कुलमा कम्प्युटर, इन्टरनेट, पुस्तकालयको सुविधा पनि छ । डुंगा स्कुलको छतमा राखिएका सोलार प्यानलबाट सौर्यशक्तिबाट कम्प्युटर चल्दछन् । रिजवनले पाँच वर्षभित्रमा एकसय डुंगा थप्ने योजना बनाएका छन् ।

boat-school2
वर्षाकै कारण सन् २००७ मा बंगलादेमा ४ हजारभन्दा बढी विद्यालयहरु बन्द भएका थिए । अहिले रिजवनले सुरु गरेको यो अभियानलाई अमेरिकी धनाढ्य बिल र मेलिन्डा गेट्सकोसमेत सहयोग गर्दै आएको छ । तैरिने स्कुलमात्र हैन, तैरिने स्वास्थ्य चौकी, तालिम केन्द्रहरु पनि सञ्चालन हुदै आएको छ । अहिले यस अभियानबाट ९७ हजार भन्दा बढी बालबालिका लभान्वित हुदैं आएको बंगलादेशका सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले यस्तो विद्यालय विश्वका बाढी प्रभावित क्षेत्रहरुले अनुशरण गर्दै बन्न थालेको छ । (एजेन्सीको सहयोगमा)

प्रतिकृया दिनुहोस्