निबन्धमै पोखे बालबालिकाले आफ्ना पीडा, अतिथिहरु भावुक

February 9, 2019

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठानको सहयोगमा संचालन गर्दै आएको निशुल्क अनौपचारिक बाल स्कुलका विद्यार्थीहरुको निबन्ध सुनेर अतिथि, शिक्षक र अभिभावक भावुक भएका छन् ।

देशका विभिन्न नौ जिल्लामा संचालित स्कुलका उत्कृष्ट एक एक जनाले आ-आफ्नो जिल्ला र स्कुलको प्रतिनिधित्व गर्दै मेरो समाज, मेरो सपना, मेरो भविष्य योजना, मेरो परिवार र मेरो सपना समाज सेवा शीर्षकमा निबन्ध प्रस्तुत गरे ।

विद्यार्थीहरुले निबन्धमै समेटेर आफ्ना समस्याको बेलीविस्तार गरेका थिए । आर्थिक स्थिति कमजोर, अझै छुवाछूत कायम रहेको, बुबाले दोस्रो बिहे गरी घरमा सहयोग नगरेको, आमा हामीहरुको पालनपोषण गर्न विदेशिएको र त्यहाँ पनि दु:ख पाइरहेको सुनाए ।

उपस्थित सबै त्यति भावुक बने जति बेला कास्कीका समीर नेपालीले आफ्नो निबन्ध मेरो भविष्य योजनामा “गरिबीको पीडा कस्तो हुन्छ भन्ने कुरा हाम्रो परिवारलाई राम्रोसँग थाहा छ । त्यसैले मेरो पढाई सकेपछि सडक बालबालिका र आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नपाएका श्रमिकका बालबालिकाका लागि एउटा स्कुल खोल्छु ।” समेत भने ।

यसैगरी कैलाली मनेहरा शिविरकी आरजु चौधरीले गरिब परिवारमा जन्मेकै कारण पढ्न पाईरहेको थिइनन् । ट्रेड युनियन कांग्रेस र जिलाफले गर्दा पढ्न पाएको उनले सुनाईन् ।

उनले भनिन्, ‘यस स्कुलमा पढेर गरिब असहायहरुलाई सहयोग गर्नु पर्ने रहेछ भन्ने चेतना पाएँ र भविष्यमा मेरो उदेश्य नै समाज सेवा हुने छ ।”

निबन्ध सुन्न जिलाफका अध्यक्ष हिरोयुकी नागुमो,  ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, जिलाफका महासचिव रियो साइतो,  ट्रेड युनियन कांग्रेसका उपमहाचिव गणेश के.सि, के.स. बलदेव तामाङ , सरस्वती ढुंगाना ,लक्ष्मी के.सि.,नौ वटा जिल्ला अध्यक्षहरु, शिक्षक , अभिभावक र शिक्षा विभागका उपसचिव दिनेश घिमिरे लगायत उपस्थित थिए ।

ट्रेड युनियन कांग्रेसले विगत दशौ वर्षदेखी संचालन गर्दै आइरहेको तीन वार्षीय अनौपचारिक स्कुलमा उद्दार गरिएका बाल श्रमिक र कमजोर आर्थिक अवस्था भएका अनौपचारिक क्षेत्रका श्रमिकका बालबालिकाहरुलाई पुस्तक ,कपि कलम र सम्पुर्ण ड्रेस निशुल्क दिदै आइरहेको छ ।

यहाँको तीन वर्षे अध्ययन पुरा पछि सरकारी स्कुलमा छ कक्षामा भर्ना हुने गरेको महासचिव योगेन्द्र कुवारले जानकारी दिए ।

सम्बन्धित समाचार