नेकपामा विवाद कायमै, चिनियाँ राजदूतको दौडधुपले तरंग

July 7, 2020

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न प्रयास अझै जारी छ । मंगलबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भयो ।

नेकपामा आन्तरिक विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक स्थगन गरी असार २१ गतेका लागि तोकेकामा पुनः स्थगन भई यही असार २४ गतेका लागि तोकिएको छ । अध्यक्षद्वयबीच असार १९ गते अन्य केही नेतासहित भएको छलफलमा सहमति नभएपछि दैनिकजसो भेटवार्ता चलिरहेको छ ।

यही असार १० गतेदेखि चालु स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेता भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि ओली र दाहाल–नेपाल पक्षबीच विवाद चुलिएको हो । दाहाल–नेपाल पक्षका स्थायी समितिका सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिन माग गर्दै आएका छन् ।

यी नयाँ विषयले पूर्वानिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन् । साथै यही असार १८ गते सरकारले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएको विषय पनि नेकपामा विवादित बनेको छ । संसद् नभएको स्थितिमा राजनीनितक दलसम्बन्धी खारेज भएको अध्यादेश पुनः ब्यूँतने संशय पैदा हुँदा हाल त्यस्तो योजना नरहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ । अध्यक्ष दाहालले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शबिना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आउनुभएको छ ।

यही असार १४ गते मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेबापत सरकार हटाउन भारतीय पक्ष र देशभित्रैबाट पहल भएपनि नक्सा छापेबापत सरकार परिवर्तन हुने नेपालको राष्ट्रियता त्यति कमजोर नभएको अभिव्यक्ति दिनुभएको थियो । स्थायी कमिटीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसीलगायत कार्यसूची छन् ।

चिनियाँ राजदूतको तरंग

सत्तारुढ दल नेकपाबीच विवाद चर्किरहेकै बेला चिनियाँ राजदूतले नेताहरुसँग भेटघाट बढाए पनि काठमाडौंको राजनीतिक बृत्त तरंगित भएको छ ।
नेकपाभित्रको विवाद मिलाउनका लागि चिनियाँ राजदूत होउ यान्छीले दवाव बढाएको बताइन थालिएको छ । यान्छीले सोमबार नेकपाका नेता माधवकुमार नेपाललाई र मंगलबार नेता झलनाथ खनाललाई भेट गरेकी छन् । दुवै जना नेताहरु दाहालसँग मिलेर प्रधानमन्त्री ओलीलाई सत्ता र पार्टीको नेतृत्वबाट हटाउन सक्रिय छन् ।
कतिपयले यसलाई नेपालको आन्तरिक राजनीतिमा चिनियाँ हस्ताक्षेपको रुपमा अर्थ्याएका छन् । यसअघि पनि नेकपामा विवाद चुलिएको बेला राजदूत यान्छीदे दाहाललगायतका नेताहरुसँग भेटेकी थिइन्, त्यसपछि विवाद साम्य भएको थियो ।

सम्बन्धित समाचार