६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

‘भारतले कोशी ब्यारेज बन्द गर्दा नेपाली किसानको ९० करोड क्षति’


२२ पुस २०७५, आइतबार  

0
Shares

काठमाडौं। कोशी कटान सरोकार समाज करहिया उदयपुरका उपअध्यक्ष डा.भोगेन्द्र प्रसाद चौधरीले भारतले बर्खामास ब्यारेज बन्द गर्दा नेपाली ९० करोड बराबरको बाली नस्ट हुने बताएका छन् ।

आइतबार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबमा कोशी कटान सरोकार समाज उदयपुरले पत्रकार सम्मेलन गर्दै चौधरीले भारतले बर्खामा ब्यारेज बन्द गर्दा स्थानिय किसानहरुले भोग्दै आइरहेको पीडा पोखेका हुन् ।

उदयपुर, सप्तरी र सुनसरी गरि तीनै वटा जिल्लाका किसानहरुले लगातार पीडा सहनु परेको दाबीगर्दै भने, ‘तीन वटै जिल्लाको सिडिओहरुले गरेको माप दण्ड अनुसार बर्षमा ९० करोड बराबरको क्षति हुन्छ । अठार बर्ष भयो सरकारले कुनै किसिमको सहयोग गर्ने सान्तावन्न समेत दिएको छैन ।’

ब्यारेज थुने पस्चात आफुहरु अत्यन्तै पीडित हुदै आएको प्रष्टपार्दै चौधरीले भने, ‘बर्खामा भारतले कोशीब्यारेज थुनिदिन्छ, पाकेको बाली त नस्ट हुन्छ नै, अझ त्यसको कारण हिउँदमा सुख्खा पारिदिन्छ, त्यसको कुनै क्षतिको लेखाजोखा नहुँदा हामीहरु यहाँसम्म आउन बाध्य भएका हौं ।’

उनले मुआब्जा नपाएको तिन पुस्ता नै बित्न लागेको दु:खेसो पोख्दै भने, ‘मेरो बुबाले पाउनु भएन, मैले पाएको छैन र मेरो छोराले पनि पाउने कुनै संकेत देखिन्दैन ।’ उनले थपे ‘सरकार किन चासो गर्दैन हामी पीडितको दु:खलाई । नेपाल सरकारले अझै हाम्रो दु:ख नदेखे हामी भारत सरकार समक्ष जान्छौं ।’

कोशी कटान सरोकार समाज करहिया उदयपुरका अध्यक्ष डम्बर प्रसाद चौधरीले तत्कालिन् राष्ट्र प्रमुख स्व.राजा महेन्द्र शाह र भारतका तत्कालिन् प्रधानमन्त्री जवहरलाल नेहरुको उपस्थितिमा कोशी सम्झौता भएको बताए ।

उनले सप्तकोशी ब्यारेज निर्माणका क्रममा सुनसरीको चतरा, उदयपुरको कमलाबारीदेखि सप्तरीको रम्पुरा, मल्हनिया कुनौलीसम्मको गोवरगाडालगायतका क्षेत्रमा जग्गा डुवानमा पर्ने प्रष्ट्रपार्दै भने, ‘हामीले लगाएको मुख्य बाली धानको धेरै मात्राम क्षति हुन्छ । साथै मकै, गहुँ, तराकारी खेती एवं अन्य बाली समेत डुबानमा पर्छ ।’

कोशी कटान सरोकार समाजका सल्लाहकार सदस्य अशोक कार्कीले राजाको सरकार देखि वर्तमान संघिय सरकारले आफुहरुको पीडा नदेखेको आरोप लगाउदै भने, ‘प्रजातन्त्र आयो, गणतन्त्र आयो अनि लोकतन्त्र हुदै अहिलेको संघिय सरकारले समेत हाम्रो पीडा देखेन ।’

कार्कीले एक बर्ष दुई बर्ष मात्र हैन बर्षौंनी नै किसानले सास्ती खेप्नु परेको छ । उनले थपे, ‘बर्खामा बाह्रैमास हामीले लगाएको बाली डुबानमा पर्छ। सरकारलाई कयौं पटक क्षतिपूर्तीको माग गरेपनि वास्ता समेत गर्दैन ।’

थारु महिला समाज उदयपुरका अध्यक्ष तारा चौधरीले बाली मात्रै नभएर कतिपयको त घर नै डुबानमा पर्ने समस्याको पोका खोल्दै भनिन्, ‘ब्यारेज बन्द गरेपछि हामी किसानहरुले लागाएको बाली मात्र हैन, कतिपय हाम्रो छिमेकी दाई – दिदीहरुको त घरबार नै डुबेर सखाप भैसकेको छ । सरकारले हाम्रो पीडा बुझिदिए त हुन्थ्यो नि ।’

प्रकाशित मिति : २२ पुस २०७५, आइतबार  ७ : ४३ बजे